मोरङ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आइतबार ८ जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई अहिले केही बेरमा प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त भएका छन् ।
यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकिकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका झलनाथ खनाल निकट खिनु लङ्वा लिम्बु र सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नाता सम्बन्धका उपेन्द्र घिमिरे नियुक्त भएका हुन् ।
कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा ओमप्रकाश सरावगी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम नियुक्त भएका छन् । कांग्रेसबाट नियुक्त भएका तीन जनामध्ये थापा र हाङ्गाम सभापति शेरबहादुर देउवा निकट र सरावगी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् । मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका शेखर कोइराला समूहलाई वाइपास गरिएकाले असन्तुष्ट छन् ।कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुुर्याउने निर्णय गरेको थियो । तर, अहिले अझै एउटा मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पुर्याएको हो ।
यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् ।
कांग्रेस संसदीय दलका नेता कोइराला असन्तुष्टि
मुख्यमन्त्री राईले कांग्रेसको संसदीय दललाई पाखा लगाएर सभापति शेरबहादुर देउवासँगै बसेर मन्त्रालय बाँडफाड र मन्त्रीको नाम छनोट गरेकाले शेखर कोइराला निकट कांग्रेस संसदीय दलका नेता कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् । शेखर कोइराला निकट आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले राजीनामा दिने तयारी गरेका छन् ।
प्रदेश १ संसदीय दलमा कोइराला निकट प्रदेश सांसदहरुको बहुमत रहेको छ । मुख्यमन्त्री राईले देउवा निकट हाङ्गाम, थापा र सरावगीलाई मन्त्री नियुक्त गरेकाले कोइराला पक्ष असन्तुष्ट छन् । संसदीय दलका नेता राजिवले मन्त्रिपरिषद्का सदस्य तथा बहालवाला मन्त्रीलाई समेत जानकारी नदिइ मन्त्रालय फुटाउने र संसदीय दललाई वाइपास गरेर मन्त्री छान्नु भनेको दादागिरी भएको भन्दै असन्तुष्टि जनाए । उनले आपत्ति जनाएकाले शपथ ग्रहणमा २ घन्टा ढिला भएकाे थियाे ।