दिपक बोहोरा( पाँचथर) पुस १० गते देखि पुस १५ गते सम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चाल भएको तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगितामा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबले उत्कृष्ट प्रर्दशन गर्दै फाइनल सम्मको यात्रा तय गर्यो । तर, फाइनलमा सडन डेथमा अभागी साबित हुदै धरानलाई उपाधि सुम्पनु पर्यो । उपबिजेता बनेको पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।
उसो त धरानको फुटबल पाँचथर भन्दा निकै माथि छ । महिला फुटबल पनि पाँचथर भन्दा निकै माथि छ । नियमित प्रशिक्षण गर्ने धराने टोलीसंग रहरले फुटबल खेल्ने बनाएको पाँचथरको टिम सडन डेथमा मात्र हार्नु पाँचथरे टोलीको उत्कृष्ट प्रर्दशननै मान्नु पर्छ ।कुनै बेला गर्विलो इतिहास बोकेको पाँचथरको महिला फुटबल पछिल्लो समय ओरालो यात्रामा थियो । पाँचथरको महिला टिम कुनै बेला बलियो मानिन्थ्यो । २०५३ सालबाट बिभिन्न प्रतियोगितामा भाग लिन थालेको पाँचथर २०६२ सालमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा दोश्रो भएको थियो ।
२०६३ सालमा पाँचथर अन्तर विद्यालय महिला फुटबलमा उपाधि जित्न सफल भएको थियो । २०६५ मा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा पनि पाँचथरको टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । तर, २०७४ सालमा भएको महिला लिगमा पाँचथरको प्रर्दशन बिर्सनलायक थियो । त्यो बेला स्याङ्जामा रौतहटसँग पहिलो खेल १५-० ले गुमाएको पाँचथरले दोस्रो खेलमा धनकुटासँग १-० को हार बेहोरेको थियो । तर, लिग चरणको अन्तिम खेलमा टोली पुनः घरेलु टोली स्याङ्जासँग १६-० को भारी अन्तरले निराश भएको थियो ।
पछिल्लो समय पाँचथरको महिला फुटबल सहभागितामा सिमित बनि रहेको बेला तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगितामा फाइनल पुगेको पाँचथरको महिला फुटबल टिमले पुनः एक पटक पुरानो लयमा फर्कन लागेको संकेत मिलेको छ ।
तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगितामा बाइ पाएकोसेमिफाइन खेलको पाँचथरको महिला फुटबल टिमले सेमिफाइनलमा मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २-० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । पूर्वमा फुटबलको पावरहाउसको रुपमा चिनिने झापा,मोरङ र सुनसरी जस्ता टिमहरुलाई हराउनु पहाडी जिल्लाको लागी निकै ठुलो कुरा हो ।
फाइनलमा खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडन डेथमा जानु परेको थियो । धरानले सडन डेथमा २-१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको हो ।
प्रतियोगितामा उपबिजेता बनेको पाँचथरले ब्यतिगत बिधामा भने पकड जमायो । उक्त नतिजालाई हेर्दा पनि पाँचथरका खेलाडीहरुको प्रर्दशन अब्बल थियो भन्ने प्रमाणित हुन्छ । खेलका प्यलेर अफ दी म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् । बेस्ट मिड फिल्ड पाँचथरकी प्रमिला राई, बेस्ट डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री बन्दा पाँचथरले ब्यतिगत बिधा ३ वटा उपाधि जितेको थियो ।