पाँचथर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी दर्ता भएन । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरका अनुसार तोकिएको समयसीमाभित्र कुनै उजुरी नपरेको हो। सहायक मुख्य निर्वाचन अधिकृत राजकुमार निरौलाले सबै उम्मेदवारको कागजात परीक्षण गर्दा कुनै समस्या नदेखिएको र उजुरी नआएको जानकारी दिए।
यस निर्वाचनमा पाँचथरबाट कुल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता गराउने उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट नरेन्द्रकुमार केरुङ, नेकपा (एमाले)बाट अइन्द्रसुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टीबाट हर्क नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र विक्रम थाम्सुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजकुमार कुरुम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रकाश काफ्ले, नेपाल मजदुर किसान पार्टीबाट लक्षुमन तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट विजय नेम्बाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट रामकुमार तुम्रोक, संघीय लोकतान्त्रिक मञ्चबाट भानुभक्त फियाक, नेपाल जनमुक्ति पार्टीबाट नरेन्द्रप्रसाद कुरुम्बाङ, जनता समाजवादी पार्टीबाट मचिन्द्रप्रसाद बेघा, राष्ट्रिय परिवर्तन पार्टीबाट टेकबहादुर सुब्बा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मित्र लिङदेन तथा श्रम संस्कृति पार्टीबाट हस्तराज शेर्मा रहेका छन्।
निर्वाचन कार्यतालिकाअनुसार अब उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।




