पाँचथर । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाँचथर जिल्लाबाट महिला उम्मेदवार शून्य भएका छन् । जिल्लामा ६७ हजारभन्दा बढी महिला मतदाता रहे पनि कुनै पनि राजनीतिक दलले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार जिल्लामा कुल मतदाता संख्या १ लाख ४३ हजार ४ सय ८ पुगेको छ । यसमध्ये महिला मतदाता ६७ हजार ३ सय ३० र पुरुष मतदाता ७६ हजार ७८ रहेका छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा १ लाख ४० हजार ४ सय ९ मतदाता दर्ता थिए । त्यतिबेला ६६ हजार ८१ महिला र ७४ हजार ३ सय २८ पुरुष मतदाता रहेका थिए ।
यति ठूलो संख्यामा महिला मतदाता हुँदाहुँदै पनि यसपटक कुनै दलको रोजाइमा महिला नपरेको हो । मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार प्रतिनिधि सभा सदस्यका लागि जिल्लामा १५ जनाले मनोनयन दर्ता गराएका छन्, तर तीमध्ये महिला उम्मेदवार कोही छैनन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने पाँचथरमा १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । यसपटक प्रमुख दलहरूबाट नेपाली कांग्रेसबाट नरेन्द्रकुमार केरुङ, नेकपा (एमाले)बाट अइन्द्रसुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टीबाट हर्क नेम्बाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र विक्रम थाम्सुहाङ उम्मेदवार बनेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजकुमार कुरुम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रकाश काफ्ले, नेपाल मजदुर किसान पार्टीबाट लक्षुमन तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट विजय नेम्बाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट रामकुमार तुम्रोक, संघीय लोकतान्त्रिक मञ्चबाट भानुभक्त फियाक, नेपाल जनमुक्ति पार्टीबाट नरेन्द्रप्रसाद कुरुम्बाङ, जनता समाजवादी पार्टीबाट मचिन्द्रप्रसाद बेघा, राष्ट्रिय परिवर्तन पार्टीबाट टेकबहादुर सुब्बा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मित्र लिङदेन तथा श्रम संस्कृति पार्टीबाट हस्तराज शेर्माले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, प्रतिनिधि सभा सदस्यका लागि १५ जना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।
मंगलबार फिदिममा बाजागाजासहित दलहरूले मनोनयन दर्ता गरेसँगै जिल्लामा चुनावी माहोल तातेको छ । मनोनयन दर्तापछि दलहरू मतदाताको घरदैलो अभियानमा जुटेका छन् ।




