धनगढी । एमाले सुदूरपश्चिम प्रदेशसभाका १० जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर खुलेका छन्। तर, सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए। उनीहरुको खोजी भइरहेको सोडारीले बताए।
माधव नेपाल छाडेका एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रिएपछि सांसदहरु सम्पर्कविहीन भएको बताइएको छ।
सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।
तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन्। समाजवादीतिर लागेको भनिएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मानेका छैनन्। सांसदको खोजीमा रहेकाले सोडारीको पनि सनाखत हुन बाँकी छ।
समाजवादीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले १० जनाको सनाखत भएको जानकारी दिइन्। ‘दुईजनाको कागजात नपुगेकाले आएनन्। भोलिसम्म १४ जना पुग्छन्,’ जोशीले भनिन्।
१४ जना सांसद पुर्याए प्रदेशमा समाजवादी प्रदेशकै ठूलो दल बन्ने छ।