भाइ गिरि,
बेला बेला सम्झेकोछु, सम्झना आउँछ
चिठीको जमाना हराएको बेला, कता कता केही शब्दहरु लेख्न मन लागेर आयो, दुनियाँ प्रविधिमा भुप्रिएको बेला । अँ, बेला बेला भन्दा कता कता स्वार्थीपना देखिएला ? अवसरवाद देखिएला ? त्यसो भएमा पनि कुनै गुनासो वा दुखेसो रहने छैन म मा । सम्झने नै बेला बेला रहेछ । चाहिएको बेला, सम्झना आएको बेला । बस एत्ति नै हुन्छ म मा । अरुमा के हुन्छ मलाई थाहा भएन । र कसो कसो सम्बोधन पनि मिलेन होला ? प्रिय, प्यारो के के लेख्नु पर्ने त्यो पनि लेखिन । किन भने सम्बन्धहरु (सम्बोधन) भनिरहेर हुने होइन रहेछ । हो, तिमी मेरो प्रिय रहन सक्छौ सक्दैनौ त्यो मलाई थाहा छैन । भनेको मान्दा, अराएको गर्दा त प्रिय नै हौ, तर ति कुरा नमान्दा कसरी प्रिय हुन सक्छौ ? त्यही भएर प्रिय भनिन् । फेरि मैले भनेको सबै मान्नु पर्छ भन्ने के छ र ? अर्थात प्रिय भइरहनु पर्छ भन्ने के छ ? हो कि होइन भाइ ? अनि नि, कहिले काँही पिउने बेला हाम्रो कुरा नमिल्ला ? म भनुँला खुकुरी आउँ, तिमी भन्लाउ होइन ओल्ड दरबार । म भनुँला तोङबा, तिमी भन्छौ होइन रक्सी । म भुनँला सुङ्गुरको मासु, तिमी भनौला होइन लाङसा । मन नमिलेरै पनि खान चैं मिल्छौं । पिउन चैं मिल्छौं । तब, हामी एक अर्काको प्रिय नै कहाँ रह्यौं र ? यद्यपि सम्झना छ, सम्झना आउँछ बेला बेला ।
परिस्थिति बस हामी नमिलेर पनि मिलि रहेका हुन्छौं । टाढा भएर पनि नजिक भइ रहेका हुन्छौं । यसो हुनु हाम्रो वाध्यता हो । पेसाले, व्यवसायले, भावनाले, विचारले । पेसाले नमिलेर पनि मिलिरहेका हुन्छौं । पेसा मिलेर पनि नमिलिरहेका हुन्छौं । भावना, र विचार त परिवर्तनशील भएर झन छिटो मिल्ने र छिटो टाढिने पनि हुन सक्छ । यी मानवीय स्वभाव या चरित्र नै हुन । र यसैमा रमाई रहेका हुन्छौं । कहिले काँही त घमण्ड नै गर्छौं ‘तिमी नभए पनि जिन्दगी चल्छ’ सम्म ।
अलि भावुक भएछु । मन न हो के के भइ दिन्छ ? के के सोचि दिन्छ ? र यो चिठीको औचित्य थिएन तर भावुकतालाई पोख्ने माध्यम चाँही हो । यद्यपि भावुकता भावुकता मात्रै पनि होइन । कतै आत्मियता, हार्दिकता पनि रहन सक्छ अनुभूतिले । फेरि त्यति मात्र पनि होइन त्यहाँ विचार पनि अँट्न सक्छ । पोखिन सक्छ । आखिर जे होस म चाँही पग्लिएँ, पोखिएँ । पग्लिनु, पोखिनु कुनै कोरा, हलुका, सस्तो आवेग होइन । कुनै लहडी प्रवाह पनि होइन । सामाजिक सञ्जालको भर्चुअल संसारमा कति उड्ने ? वास्तविक संसारमा पनि ओर्लौं न ।
विश्व, महामारीले (कोरोना) आक्रान्त भएको बेला लकडाउन चलिरहेको छ । भेटघाट, घुमफिर, भेला, सम्मेलन सब बन्द छ, र म बन्दी छु । यही बन्दी अवस्थामा केही दिन इन्टरनेट पनि बन्द भो । त्यस पछि त जीवन उकुसमुकुस भो । स्वासप्रस्वास नै बन्द होला जस्तो भो । फेसबुकमा यही व्यहोराको स्टाटस राखेको धेरैले स्वास्थ्य लाभको कामना गरे । म अचम्ममा परेँ । भाइले भनेका (कमेन्ट) थियौ -‘मान्छे दरो झुक्किए’ । सामाजिक सञ्जालमा चुरोमा नपुगी कमेन्ट लेखी हाल्ने, गरी हाल्ने हाम्रो प्रवृति छ । त्यो यहाँ पनि देखियो । यस बेलाको साहारा फेसबुक खोल्दै जाँदा भाइको स्टाटस (मार्च ३१, २०२०) पुलुक्क आइ पुग्यो, देखियो । खासमा यो स्टाटसले पहिला देखि नै मलाई गम्भिर बनाएको हो, सोच्न वाध्य बनाएको हो । सरलातामा गहिराई थियो त्यो, ख्याल ठट्टामा गम्भिरता थियो त्यो, मेरा लागि । किन ? कसरी ? लेखेको भाइलाई भेटेको बेला सोधौंला, सोचेको तर कहिले त्यो सम्झिन । मनमा खुलदुली रही रहेको छ ।
जुन यस्तो छ ः—चिया सवाल
प्रेम ओझा सरको सृजना, भवानी तावा दाईको अनुभव, सगुन सुसारा दाईको चिन्तन (अचेल कम भेट हुन्छ) मंगल बेघा सरको टिप्पणी बिनाको चिया त पानी झैं लाग्न थाल्यो अचेल । केहि चर्चित बानीहरु देहाय बमोजिम छन ः
दिपक बोहोरा ः खाइदिउ भने खाइदिहालुन । दुधचियामात्र खाइन्छ नी ।
सरोज शर्मा ः चियाको दाम बराबर को ठोस खान्छु न
धनकुमार लावती ः (टेबलमा चिया आएपछि) म त रातो मात्र खान्छु नी । (अघि सेतो माग्नु भो ः चिया दिने मान्छे) । ए ए बिर्सेछुनी ।
भीमकुमार बाँस्कोटा ः हट लेमन, हट लेमन । साथीहरलाई यसको गुन केथा ?
दिपक दुलाल ः बरु भातकै साटो चिया खानु पर्छ भान्जा बाउ ।
सुमन लामा ः चिया पनि रामेनै खाने हो । थपुन गोडाचारएक । फेसबुक लाइभ पनि गर्नुपर्छ कि क्याहो
रबिन्द्र काफ्ले ः बिस्तारै पिउन, छिट्टो गर्दात सकीहाल्छ नी ।
तुलाराम रिमाल ः दाई चिया सिया खान्न । यो बराबरको पैसै दिनु हाउ ।
फिदिमको बसाइमा माथिको तत् मानिसहरुको विशेषता हो यो । भाइको यो कुरामा मेरा केही कुराहरु अब राख्छु । प्रेम दाइ सिर्जनामा हौसला दिइ रहने मान्छे हुन । जहाँ पायो, जहीँ पायो, जो पायो आफ्नो रचना सुनाई हाल्ने । यसले अरुलाई लेख्ने हौसला, प्रेरणा मिल्थ्यो नै । अर्को, दाइलाई रचना सुनाउदा आनन्द लाग्थ्यो, मान्नु हुन्थ्यो । मङ्गल बेघा भाइ जति रचना पाठ हुन्थे ती रचनामा सटिक टिप्पणी राख्थे, अलि बढी यौनवादी । यसले भयङ्कर तहल्का मच्चिन्थ्यो । भवानी दाइ कम बोल्ने, बोल्दा बढी निजी अनुभवहरु मात्र व्यक्त गर्ने । यी कुराहरु सार्विक हुन । ‘सगनु सुसारा दाईको चिन्तन’ ले अवाक छु । सबै मान्छेमा चिन्तन हुन्छ नै तर मलाई नै किन एति प्राथामिकता ? खास मेरो चिन्तन के हो त ? सायद भाइले बुझेको होला ? स्टाटसमा त्यो लेख्दा लामो हुने भो क्यार । हिज अस्ती (७ असार २०७८, विसङ्गत पनि सङ्गत) नै एउटा लेखमा सरला रेग्मी बैनीले लेखेकी थिइन -‘दाइको लेखन बाट धेरै कुरा सिक्नु छ ……..लेखिरहनुहोस’ । मैले पनि लेखि दिएँ -‘सल्लाह त राम्रो, बेला बेला सोच्छु किन ? के का लागि ? कासका लागि लेख्दैछु’ ? बैनीले कुनै उत्तर दिइनन् । त्यसका पनि कारणहरु थिए होलान् ? गिरिराज बाँस्कोटा भाइ अघि सरे -‘तपाई तपाईँकै लागि लेख्नु हुन्छ’ । मेरो चिन्तन यही हो कि ? पाठकको बुझाइ । सम्झँदैछु । गम्दैछु । कोष्ठमा ‘अचेल कम भेट हुन्छ’ ले मन अमिलो बनायो । तर हाम्रो वाध्यता हो यो ।
‘ती’ कुराहरु नहुँदा चिया किन पानी जस्तो लाग्न थाल्यो ? यो पनि अनुभूति नै हो क्यार ? सायद प्रिय कुराहरु (नभएर) अप्रिय भए कि ? परिस्थितिहरु हाम्रा बसमा छैनन् भाइ, अतितको मिठो सम्झना राखेर बसौं ? चियाको सवालमा दिपक बोहोरा भाइको कहिल्यै नाइ छैन तर दूधवाला नै चाहिन्छ । बिना दूधमा खास रुची छैन । दूध मन पराउनुको कारण पनि छ क्यार ? सरोज शर्मालाई झोलमा खास मन छैन, बरु ठोसमा नै बल गर्छन् । ‘झोल’मा नेपाल बन्द छ उसको । धनकुमार लावती भाइ चिया खाउँ भन्ने मान्छे नै हो । तर अगाडि केही भन्दैनन् जब चिया अगाडि आउँछ अनि म त रातो खान्छु भन्ने गर्थे । उनी रमाइला मान्छे । भीम बाँस्कोटा भाइले रक्सी स्थगन गरे पछि हट लेमनमा लागेका हुन । हामी कम मात्रै हट लेमन पिउने हुनाले, उ हामीलाई उक्साउँथ्यो पिउन । दिपक दुलाल भाइ अलि पछिल्लो समय हामीसँग घुलमिल हुन आइ पुगेका हुन । भात कै रुपमा चिया खाउँ भन्ने ठट्टा हो उनको । जति भेट्यो पिउँ भन्ने हो । सुमन लामा भाइ जे भेट्यो मजाले खाउँ भन्ने मान्छे । ठट्टामा फेसबुक लाइभ गरुँ भन्ने । कहिले काँही त हान्दि हाल्ने । रबिन्द्र काफ्ले भाइ विस्तारै पिउने मान्छे । चिया कति न हुन्छ ? सकिन्छ भन्ने । तुलाराम रिमाल भाइसँग मेरो निकै कम सङ्गत भो । मजाको बानी पैसा नै चाहिने । इ एस्तै साथी भाइको भेटघाटले दिन रमाइलो बनाउँथ्यो । तर अहिले लकडाउन । बन्दीमा सम्झेर मुख मिठ्याई रहेको छु । भोलिको भेटको मिठो कल्पनामा हराई रहेको छु ।
अन्तमा, परिस्थितिले जो जता रहे पनि, पुगे पनि सम्झेको छु -बेला बेला । परिस्थिति सहज भए पछि पानी जस्तो चियालाई चिया नै बनाउँला । दूध चिया नै खाउँला । झोल नखानेले ठोस नै खाउँला । सेतो चिया नखानेले रातो नै खाउँला । हटलेमन खानेले हटलेमन नै खाउँला । चिया भातकै रुपमा पनि खाउँला । चिया पनि रामे नै पिउँला । धेरै पछिको भेटमा विस्तारै नै पिउँला । साँचेर नै पिउँला । चिया नखानेलाई पैसै दिउँला । र सरला बुइनी अमिलो चिया पनि खाउँला नै । है गिरि भाइ ?
त्यो दिनको मिठो प्रतीक्षासहित । एत्ति ।