पाँचथर । निरन्तरको झरीका कारण अवरुद्ध भएको मेची राजमार्गअन्तर्गत राजदुवाली खण्ड शनिबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन इलामको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याइएको हो।
सडक डिभिजनका प्राविधिक टोलीसँगै भूगर्भविद् मधुसूदन आचार्यको सहकार्यमा पहिरोले क्षतिग्रस्त सडक मर्मत र सञ्चालनका काम भइरहेका थिए। असोज १८ गतेदेखि लगातार परेको वर्षाले राजदुवाली क्षेत्रमा सडक अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर, इलाम र झापाबीचको यातायात पूर्णरूपमा ठप्प भएको थियो।
मानव संशाधन र यन्त्रको प्रयोग गरेर सडक खुलाउने प्रयास भए पनि जमिनभित्रबाट लेदो मिसिएको पानी बग्ने, जमिन फाट्ने र भासिने समस्याले चुनौती थपेको थियो। प्राविधिक कठिनाइका बीच पनि निरन्तरको मिहिनेतपछि चौधौं दिनमा सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार शनिबार राति साढे आठ बजेबाट राजदुवाली खण्डमा सवारी आवागमन सुचारु गरिएको छ। उनले अवरोधको स्थायी समाधानका लागि दीर्घकालीन योजना सहितको मर्मत कार्य सँगसँगै अघि बढाइने बताए।
सडक सञ्चालनमा आएपछि ताप्लेजुङ–पाँचथर–इलाम हुँदै झापा र विपरीत दिशातर्फ गाडी तथा ढुवानी साधनहरूको आवागमन सुरु भएको छ। यसअघि राजदुवाली खण्ड बन्द हुँदा विकल्पका रूपमा सिमलगो–तिल्केनी सडक प्रयोग गरिएको थियो। तर, उक्त सडक साँघुरो र कच्ची भएकाले खाद्यान्न तथा इन्धन ढुवानीमा कठिनाइ भई स्थानीय बासिन्दा र व्यापारी प्रभावित भएका थिए।