फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८/७९ को नीति कार्यक्रममा लिम्बू भाषा लाइ सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो ।
गाउँपालिकाले बिहीबार समपन्न भएको गाउँसभाबाट नीति कार्यक्रम मार्फत लिम्बू भाषा लाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो ।
१६ ‘औं राष्ट्रिय विभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्दको कर्म क्षेत्र तथा समाधीस्थल यसै गाउँपालिकामा रहेको र फाल्गुनन्द गाउँपालिकाको ऐतिहासिकतालाई सम्मान गर्दै नेपाली भाषाको अलवा २०७८/७९ देखि गाउँपालिकामा बाहुल्य जनसंख्याले बोल्ने लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाको रुपमामा मान्यता दिइने बताइएको छ । गाउँपालिका भित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको मान्यता दिइने नीति कार्यक्रममा बताईएको छ ।
फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकामा ६५ प्रतिशत लिम्बू जातीहरुको बसोबास रहेको छ । पालिका भित्र सबै भन्दा धेरै लिम्बूहरुको बसोवास रहेको र लिम्बू जातिहरुको ऐतिहासिक ठाउँ र महागुरु फाल्गुनन्दको कर्मभुमि, समाधिस्थल समेत फाल्गुनन्द गाउँपालिकामा रहेको हुँदा लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइन लागेको गाउँपालिकाका अध्यक्ष बिरबहादुर कुरुम्बाङले जानकारी दिए ।
३ वर्ष अगाडिबाट लिम्बू भाषामा मातृभाषामा पढाइ समेत सुरु गरिएको र त्यसैलाई सहयोग पुगाेस र यहाँको सबै भन्दा ठुलो समुदाय र यहाँको लिम्बूहरुको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने कुरालाई जोड दिदै लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषा बनाउन लागेको गाउँपालिकाको उपप्रमुख देबित्रा आङदेम्बेले बताइन् ।