२६ साउन, काठमाडौं । तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। परिवार कल्याण महाशाखाका अनुसार हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ।
गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाको मृत्यु भएको थियो। यस वर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू मधेस, कोशी र लुम्बिनी रहेका छन्। संक्रमितहरू बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका हुन्। संक्रमितमध्ये २० महिला र १३ पुरुष छन्।
मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष छन्। खोप शाखाका डा. अभियान गौतमका अनुसार यो संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको हो।
स्वास्थ्य निकायले अस्पतालहरूलाई तीन महिना अघि नै उपचार प्रोटोकल र निर्देशिका उपलब्ध गराइसकेको छ। विभागका तथ्यांकअनुसार ६८६ जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो।
डा. गौतमका अनुसार तराई क्षेत्र धानखेती हुने, वरिपरि सुँगुर वा हाँसपालन हुने भएकाले जोखिम उच्च छ। यो रोग क्यूलेक्स प्रजातिको लामखुट्टेले संक्रमित चरा वा सुँगुरबाट मानिसमा सार्छ।
लक्षण र सावधानी
जेईका लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, घाँटी कडापन, मुर्छा, भ्रम, बोल्न नसक्ने अवस्था, मांसपेशी कमजोर हुने वा पक्षाघात हुन सक्छ। यसको निश्चित औषधि नभएकोले लक्षणअनुसार उपचार गरिन्छ।
चिकित्सकका अनुसार बच्नका लागि लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ राख्ने, पानी जम्न नदिने, लामखुट्टेधपाउने झुल वा क्रिम प्रयोग गर्ने, र पशुपंक्षीको खोर घरभन्दा टाढा राख्ने आवश्यक छ।
नेपालमा २०७३ सालदेखि यो रोगविरुद्धको खोप नियमित खोप कार्यक्रममा समावेश छ। शिशुलाई १२ महिनापछि यो खोप दिइन्छ।