सँधै मुस्कुराएको देखिने उनको अनुहार फरक थियो । मलिन थियो नै । ग्रहण लागे झैँ देखिन्थ्यो । अघिपछि हास्ँदै बोल्ने आज मौन थिइन । पानी पर्न लागे झैँ आखाका डिल रसाएको थिए ।
बोलेर नथाक्ने उनको मौनता देखेर मेरो मनमा प्रश्नका ज्वारभाटाहरु उठिरहेका थिए। स्वभावैले पनि मान्छेको आदत न हो । चासो, चिन्ता र खोतलखातल । म पनि उहीँ मान्छे न हुँ । मेरो मनलाई रोक्न सकिन । एकै श्वासमा प्रश्न तेस्र्याए । के भयो ? किन मौन ? किन रुन लागेकी ? उनको मौनतालाई मेरो प्रश्नले भंग गर्न खोजे ।
उनको ओठ बन्द थियो । तर मौनता आँखाबाट तोडियो । आँखाबाट साउने भेल सरी आँसु बग्न थाल्यो । अक्सर रुने मान्छेलाई म रोक्न सक्दिन । धित पुग्ने गरि रुन छोडि दिनुपर्छ । म पनि पीडा हुदा एक्लै डाको छोडेर रुने गर्दछु ।
आँसु झरिसक्दा मनमा भएका भारी बोझ बिसाए झै महसुस हुन्छ । उनलाई फेरि प्रश्न सोध्ने आँट गरिन । दुई वर्ष अगाडी भेट्दा बोलेर, हाँसेर नथाक्ने मेरी साथीको स्वभाव एक्कासी परिवर्तन देख्दा मेरा मनमा अनुत्तरित प्रश्नहरु धेरै उब्जेको थियो ।
उनले मन भित्र गुम्सिएर राखेको अथाह पीडा आँखाबाट व्यक्त गरिन । केही समय दुवै जना मौन भयौं । हामी सामाजिक संजाल फेसबुक मेसेन्जरमा भिडियो कल मार्फत कुरा गर्दै थियौं ।
काठमाडौं आउदा भेट्छु भन्ने मैले वाचा गरेकी थिए । उनको समय मिलेन या मैले समय दिन सकिन । म काठमाडौं जाँदा उनलाई भेट्न सकिन । तीन वर्ष अगाडी हाम्रो भेट काठमाडौंमा नै भएको थियो । पेसा फरक थियो । हामीले हुर्केको, बढेको भूगोल फरक थियो ।
तर भावना र विचार एक भएकाले हामी नजिक थियौ । म काठमाडौं रहदा, बेलाबखत गफिनैका लागि उनीसँग बानेश्वरमा भेटघाट हुन्थ्यो । भेट भए देखि नछुटुन्जेल सम्म उनको अनुहारमा हासो छुट्दैन थियो । समय चक्र कति तेज कट्यो । पत्तै भएन । दुई वर्ष अगाडी म निराश हुँदा मलाई सम्झाउने उनी रुँदै गर्दा किन रोएको भन्ने आँट गरिन । म निशब्द भए। चिच्याइ, चिच्याइ रुन दिए । केही समय पश्चात् आफै शान्त भइ । हिम्मत बटुलेर मैले प्रश्न तेर्साए, के भयो ?
आखाका डिलमा रहेको आँसु पुछ्दै कापेका ओंठले सकिनसकी जवाफ फर्काइ, डिभोर्स । मलाई उसको यो जवाफ अनौठो लागेन । अरे यार बाच्नुपर्छ । विकल्प हरेक कुरामा हुन्छ । ती विकल्प प्रयोग गर्दै बाच्नुको विकल्प हुँदैन । उसलाई भनिन । मात्रै मनमा सोचे । कुनै बाध्यता थियो होला, डिभोर्स ।
फेरि प्रश्न गरे, अनि के भयो त ? उनले मनमा गुम्सिएका हजारौं पिडाको गाठो निर्धक्क फुकाउन थाली । जसलाई मैले आफैलाई भुलेर प्रेम गरे उसले मलाई भुलेर अरुलाइ माया गर्ने रहेछ । उसको लागि परिवार भुले । उसले मलाई भुलेर अरुलाई आफ्नो जीवनमा समावेश गरिसकेको रहेछ ।
म सँग जवाफमा केही थिएन । होस पनि कसरी ? म सँगको हरेक भेट्मा आफ्नो प्रेमीको वयान गरेर नथाक्ने उनको ओठ, उहीँ प्रेमीलाई श्रीमानको रुपमा पाए पछि नकारात्मक कुरा गर्दै गर्दा काँपिरहेको थियो ।
राम्रै सँग जीवन चलिरहेको थियो । एकाअर्का प्रती समर्पित थियौ । केही समय उसको जागिर टुंगो नलागेसम्म मैले व्यवहार चलाइरहेको थिए । कुनै खालको तनाव उसलाई दिएकी थिइन् । बिवाह भएको पाँच महिनाको अन्तरालमा उनको जागिर पक्का भयो । दुई जनाको कमाई राम्रै थियो ।
व्यवहार भने जस्तो हिसाबमा चलिरहेको थियो । सम्बन्धमा खोट लाउन पर्ने कुनै ठाउँ नै थिएन । हामी दुवै जानाको शनिबार बिदा थियो । घुम्न जान तयार हुँदै गर्दा श्रीमानको मोबाइलमा एउटा मेसेज र मिसकल आयो । उ रुममा नभएकाले मैले मोबाइल हेरे ।
म छाँगाबाट खसे झै भए । मेरो आँखा अगाडी केही देखिन संसार अन्धकार भयो । मेरो केही बहुमुल्य चिज लुटिदै छ झैँ भान भयो । अर्थात एक अर्कामा समर्पित हाम्रो सम्बन्ध पर्दामा देखाएको नाटक झैँ भएको थियो ।
मलाई दिने माया । मबाट अरु कसैलाई सारिसकेका रहेछन् । आफुलाई सम्हालेर उसको अगाडी उभिनु मेरो लागि पहाड नै उचाले झैँ भएको थियो । सधैं सामीप्यमा रहेको श्रीमान कति बेला म देखि चुडिएर दुई टुक्रा भएका रहेछन पत्तो नै भएन ।
त्यही दिन देखि हाम्रो खुशीमा ग्रहण लाग्यो । सम्बन्धलाई जोगाउन हर सम्भाव कोशिस गरे, अहँ सकिन । खोई, के फरक थियो दोश्रो महिला र म मा मेरो भनिएको श्रीमानको रात दिनदिनै अरु तिर नै बित्न थाल्यो । उनको प्रतीक्षामा कयौं दिन घडिका काँटाले ४ बजाएको छ ।
श्रीमानलाई मैले कहिले प्रश्न गर्ने हिम्मत जुटाउन सकिन कि त्यो दोश्रो महिला को हुन ? मेरो नजर देखि कहिले टाढा नहट्ने मेरो श्रीमानलाई एकान्त, म देखि टाढा मन पर्न थाल्यो । घरीघरी आफैलाई समाप्त पारौ झै लाग्यो, तर सकिन । म भित्र हुर्कदै गरेको मेरो सन्तानको के दोष ? आफैलाई सम्हालेर जीवन जिउन अगाडी बढे ।
म कहाँ चुके गृहस्थ जीवन व्यवस्थापनमा अनभिज्ञ भए । मैले दिने माया, साथमा कहाँ हिसाब मिलेन अझैसम्म पत्तो नै पाउन सकेकी छैन । कहिले एकअर्का बसेर आत्मसमिक्षा गर्ने मौका नै मिलेन । मेरो आवाज सुन्न नपाउदा बेचैनी हुने मेरो श्रीमानलाई मेरो आवाजले बिझाउन थाल्यो । मेरो हासो हराउदा हासो खोज्न अनेकन बाहाना बनाउने उनलाई मेरो आँसु झार्ने बहाना खोज्न आतुर हुन्थे ।
आफ्नै कमाई र स्वाभिमानमा बाच्दै आएकी उनलाई उनको दुखका पोको फुकाउदै गर्दा मैले कुन शब्दले सम्झाउने, शब्द नै भेटिन । मात्रै मौन भए, सुनिरहे । त्यसो त संसारमा सबैभन्दा धेरै माया र भरोसा गरेको मान्छेले एकाएक छोड्दै गर्दा पीडा नहुने त विरलै होलान् ।
उनी म सँगको प्रत्येक भेट्मा आफ्नो प्रेमीको बयान गरेर नथाक्ने आज उनै प्रेमीको स्वभावले थाक्नु स्वभाविक हो । उनले आफ्नो मायाको लागि जात, धर्म र परिवारको भरोसा त्यागेकी थिइन । आफू सँग भएको सबभन्दा अमुल्य चिज परिवार त्यागेर पनि माया त्याग्नु पर्दा मन दुख्नु स्वभाविक कुरो हो ।
मलाई ठेस लाग्दा उसलाई पीडा हुन्थ्यो । तर मलाई पीडा दिन ठेस लाग्ने बहाना खोज्न थाल्यो । मलाई पीडाको बोझ थेग्न गार्हो हुन थालेको थियो । आफुले माया गरेको मान्छेको खुसी देख्न पनि माया हो भन्ने लाग्यो । उनको प्रत्येक दिनको अस्वभाविक व्यवहारलाई सहन गार्हो भए पछि मैले मेरो जन्म दिनको उपहार उनले मागेको डिभोर्स पेपरमा हस्ताक्षर गरेर म बाट स्वतन्त्र बनाइदिए ।
आमा, बा, दाजुभाउजु सबै रिसाउनुभएको छ । आमा बा कि एक्ली छोरी दाजु भाउजुकी एक्लो बहिनी उहाहरुको मन दुखाएकी छु म के गरौं ? मेरो मौनताले थप बृह्त आकार लियो । उहीँ प्रेमीको माया र प्रेमका कुराले कहिले नथाक्ने, प्रेमीको साथले संसार जित्ने आँट गर्ने मेरी साथी उहीँ सम्बन्धले हारेको देख्दा मन भारी भयो ।
उनलाई हरेक भेट्मा भन्ने गर्थे । केटी, सम्बन्ध एकदम संवेदनशील धागो हो, यसलाई प्रयोग गर्न सके फाटेको मन सिलाउन सकिन्छ । लापरवाही गरे चुडिने सम्भावना हुन्छ । सबै खाले सम्बन्धलाई उहीँ खालको महत्त्व दिए पीडा हुन्न । सायद त्यो समय उनलाई मेरा कुरा तितो लग्यो । छोड यस्तो आदर्शका कुरा भन्दै कुरा अन्यत्र मोडेर उहीँ उनको प्रेम सम्बन्धमा ठोक्याउन पुग्थी ।
बच्चालाई जन्म दिन्छु । यसको बाउले मेरो विश्वासमा आघात पुर्याएको हो । अवोध बच्चाको के दोष ? आफै सक्षम छु, कुनै पुरुषसँग अपेक्षा राख्न जरुरी छैन म अगाडी बढ्छु । माया गरेको मान्छेको खुशीको लागि मैले मायाको बलिदान दिए । अब बच्चाको लागि जीवन समर्पण गर्छु । अझै हारेकी छैन यार ।
आशुले भरिएको आँखा । मनभित्र गुम्सिएको पीडाको पोको फुकाउदै गर्दा उनलाई जीवन जिउने हिम्मत बढ्दै गयो । मेरो पनि मनको चाहना यही थियो । कामना पनि यही छ । उसको जीवनले थकाई मारोस । तर संघर्षको मैदानबाट विश्राम नलियोस ।
कर्णाली पाेष्टबाट