पाँचथर । कोशी प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फिदिममा कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनी आयोजना हुने भएको छ । पर्यटन कार्यालय झापाको सहयोग तथा तिम्बुपोखरी मिडिया एण्ड इभेन्टको आयोजना र फोटो पत्रकार महासंघ पाँचथरको सह–आयोजनामा फागुन २ र ३ गते फिदिममा उक्त फोटो प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनीमा कोशी प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रका प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक धरोहर, साहसिक पर्यटन स्थल, जीवनशैली तथा जनजीवन झल्काउने फोटोहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । फोटोमार्फत प्रदेशका लुकेका तथा कम प्रचारमा परेका पर्यटकीय गन्तव्यलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ ।
प्रतियोगितात्मक रूपमा आयोजना हुने फोटो प्रदर्शनीमा कोशी प्रदेशभरिका फोटोग्राफर, फोटो पत्रकार, पत्रकार, विद्यार्थी तथा फोटोप्रेमीहरूको सहभागिता रहनेछ । उत्कृष्ट फोटोहरू प्रदर्शनीमा समावेश गरिनुका साथै मूल्याङ्कनका आधारमा विजेता घोषणा गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैबीच, आयोजकले कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनीमा सहभागिताका लागि अपिल गरेका छन् । प्रदर्शनीमा कोशी प्रदेशका प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, साहसिक पर्यटन, संस्कृति तथा जनजीवन झल्काउने फोटोहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।
सहभागी हुन चाहनेले आफ्ना फोटो माघ २३ गतेसम्म पठाइसक्नुपर्नेछ ।




