पाँचथर । सामाजिक सञ्जाल टिकटकको प्लेटफर्ममार्फत लाइभ बसेर रकम संकलन गर्दै सामाजिक सेवा गर्दै आएको ‘घुमन्ते ग्रुप’ले पाँचथरमा उदाहरणीय काम गरेको छ। ग्रुपले सोमबार फिदिममा जिल्लाका अग्रज पत्रकार कविन्द्र शेर्मालाई ३ लाख ६९ हजार ३ सय ४० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
विदेशमा रोजगारीका क्रममा रहेका नेपालीहरूले टिकटक लाइभमार्फत पनि ठूलो सामाजिक सेवा गर्न सकिन्छ भन्ने सन्देश यस अभियानले दिएको छ। घुमन्ते ग्रुपका अध्यक्ष दिनेश लिम्बू स्वयं फिदिम आएर घुमन्ते टिमको तर्फबाट उक्त सहयोग रकम पत्रकार शेर्मालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रमको सहजीकरण घुमन्ते ग्रुपकी सदस्य शान्ति राईले गरेकी थिइन्।
करिब २८ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा संलग्न शेर्मा विगत तीन वर्षदेखि प्राणघातक रोग क्यान्सरसँग संघर्षरत छन्। हाल उनी भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छन्। यसअघि उनको भक्तपुर क्यान्सर अस्पतालमा पनि उपचार गरिएको थियो।
सहयोग हस्तान्तरणका अवसरमा फिदिममा आयोजित पत्रकार सम्मेलनमा दार्जिलिङका घुमन्ते ग्रुपका अध्यक्ष लिम्बूसहित सोलुखुम्बु तथा अन्य जिल्लाबाट आएका आठ सदस्यीय घुमन्ते टिमको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाँचथर जिल्ला समन्वय समिति प्रमुख रामराज आङ्देम्बे सहभागी थिए। उनले पत्रकार शेर्माको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
कार्यक्रममा बोल्दै घुमन्ते ग्रुपका अध्यक्ष लिम्बूले यसअघि पनि सयौँ सामाजिक अभियानमा सहयोग गरिसकेको उल्लेख गर्दै गरिब, असहाय तथा पीडितहरूको पक्षमा निरन्तर काम गर्दै आएको बताए। आवश्यक परे आगामी दिनमा पनि पत्रकार शेर्मालाई थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
यस अभियानले सामाजिक सञ्जाल टिकटकलाई सकारात्मक र सदुपयोगात्मक रूपमा प्रयोग गर्न सकिए समाजसेवाको प्रभावकारी माध्यम बन्न सक्ने स्पष्ट सन्देश दिएको सहभागीहरूले बताएका छन्।




