इलाम । मेची राजमार्गको इलाम राजदुवालीमाथिको खण्ड पूर्ण रूपमा क्षति भएपछि सवारी साधन ठप्प छन् ।
मोटरसाइकलसम्म चल्न नसक्नेगरी यो ठाउँमा क्षति भएपछि दसैंको मुखमा यात्रुलाई अब इलाम पुग्न कुन बाटो प्रयोग गर्ने भन्ने चिन्ता छ । र, इलामबाट बाहिर जानेलाई पनि यात्रा गर्न कठिनाइ छ ।
भोलि (आइतबार)सम्ममा बिग्रिएको मेची राजमार्ग बनाएर गाडी चलाउने लक्ष्यसहित काम त हुँदैछ । तर, भोलि नै गाडी चल्ने सम्भावना कमै देखिन्छ ।
अब झापाको बाटो भएर फिक्कल हुँदै वा झापाबाट सोझै कसरी इलाम बजार पुग्न सकिन्छ त ?
१. पहिलो विकल्प :
मेची राजमार्ग नै भएर माइखोलासम्म आउने, इलाम बजारबाट पनि गाडीमा पहिरो झरेको ठाउँसम्म जाने । करिब दुई सय मिटर पैदल (उकालो–ओरालो) हिँडेर पहिरो भएको ठाउँ पास हुने विपरीत दिशाबाट आएको गाडीमा चढेर गन्तव्यमा जाने ।
२. दोस्रो विकल्प :
झापाबाट फिक्कल–गुप्ती–शुक्रबारे–माइखोला–तिल्केनी–इलाम बजार ।
यो एउटा विकल्प हो । तर, साना सवारी साधन र मोटरसाइकलमात्र चल्न सक्छन् । फिक्कलको ढोडेमा एकतर्फी बाटो हिजै खुलेको छ । फिक्कलबाट गुप्तीसम्म करिब १७ किलोमिटर पक्की नै छ । गुप्तीबाट माइखोला १६ किमी कच्ची छ । माइखोलामा पक्की पुल छ, त्यहाँबाट तिल्केनी ५ किलोमिटर कच्ची छ । यो विकल्प छोटो छ । माइजोगमाई ३ का वडाध्यक्ष राम घिमिरेले यो सडक हिजोमात्रै मर्मत गरिएकाले यहाँबाट साना सवारीका साधन मज्जाले चल्नसक्ने बताए । हिजो पनि इलामबाट यो बाटो भएर सवारीका साधन झापा गएका छन् ।
यही बाटोमा पर्ने माइजोगमाई ४ का वडाध्यक्ष डुरन देवानले पनि बाटो कतै अवरोध नभएकाले सहजै हिसाबले यात्रा गर्न सकिने बताए । उनले कुनै ठाउँ सुधार गर्नुपरे गाउँपालिकाको एक्स्काभेटर यही वडामा रहेकाले तत्काल काम गर्न सकिने पनि बताए ।
यो बाटोको निरीक्षणका लागि अहिले सडक डिभिजन कार्यालयको टोली पनि गएको छ । र, आज पनि फिदिम र इलामबाट झापा जाने साना गाडी यही बाटो गइरहेका छन् ।
३. तेस्रो विकल्प :
फिक्कल–गुप्ती–नयाँबजार–सोयाङ–दुधाङ इलाम बजार ।
यो विकल्प अर्काे हो । यहाँबाट यात्रा गर्दा फिक्कल–नयाँबजार करिब २० किमी पक्की छ । नयाँबजार–इलाम पनि २० किमीजति नै कच्ची छ । दुु्धाङमा पक्की पुल छ । कच्ची बाटो केही ठाउँ मर्मत गर्नुपर्ने अवस्था छ तर साना गाडी चल्न खास समस्या नभएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिए ।
४. चौथो विकल्प :
झापाबाट दानाबारी शुक्रबारे–लोदिया–सोमबारे–बेलासे–जितपुर–साङरुम्बा–इन्टेक–इलाम बजार ।
यो विकल्पबाट पनि यात्रा गर्न सकिन्छ । झापाबाट करिब ३० किलोमिटर पक्की सडक छ । त्यहाँबाट सोमबारे हुँदै बेलासे आइन्छ । बेलासे (माइखोला) पक्की पुल छ । त्यहाँबाट करिब २३–२४ किलोमिटरमा इलाम बजार निस्किन सकिने इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले बताए । ‘ठूला गाडी पनि यो बाटो भएर चल्न सक्छन् तर कतैकतै अलि ठाडो उकालो भएकाले ठूला गाडी सजग चाहिँ हुनुपर्छ,’ उनले भने, ‘मोटरसाइकल र साना गाडी राम्ररी चल्छन् ।’
५. पाँचौं विकल्प :
यो विकल्प मेची राजमार्गको गोदक सिमल गोलाईबाट जोगमाई खोला हुँदै तिल्केनी ।
तर, यो बाटोलाई मेची राजमार्गको सबैभन्दा पहिलो विकल्प भनिएको छ तर अहिले नै गाडी पास हुने अवस्था छैन ।
खोलामा बेली ब्रिज राखेर दसैंअघि नै यो मार्ग प्रयोग गर्ने तयारी छ तर अहिले यो बाटो गाडी, मोटरसाइकल चल्दैन ।
पालिकापेजबाट