‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ ।’ यो भनाई धेरैको मुखमा झुण्डिएको छ । धेरैले प्रयोग गर्छन् । म चाँही यसो सोच्छु -‘त्यो अपरिवर्तनशील कुराले कसरी हामीलाई परिवर्तन गराउँछ ?’ अथवा कसरी हामीलाई कहाँ कहाँ पुर्याउँछ ? त्यो पुग्नु भनेको त हाम्रो सोच, विचार, परिश्रमले होइन र ? हामी आफैंले बनाएको होइन र ? हाम्रा जिज्ञासा, आकांक्षाले पो हामी परिवर्तन हुन्छौं होइन र ? यही परिवर्तनलाई हामीले ‘मानिसलाई समयले कहाँ कहाँ पुर्याउँछ’ भनिरहेको होइनौं ? फरक (परिवर्तन) हुने हाम्रा विचारलाई नै समयमा अल्झाइ दियौं कि ? सभ्य बन्ने हाम्रा मनोकांक्षालाई समयमा झुण्डयाई दियौं कि ? वा परेका राम्रा, नराम्रा अवसरलाई समयमा सिउरी दियौं कि ? हाम्रा विचारहर फरक फरक छन्, अलग अलग छन् । म पनि अहिले समय कै कुरा गर्दैछु । तर मेरो समय अघिको हो । अर्थात बितेका दिनको हो । यो एउटा जनजीवनको कुरा हो । सानो कुरा हो । यो सानो कुरा कतिलाई रोचक हुन सक्छ ? कतिलाई निकम्मा लाग्न सक्छ ? यी पनि विचार कै कुरा हुन ।
खास कुरा ‘नून भुटुनको जोहोको’ हो । जतिखेर मेरो (रबि) गाउँमा गाडीको सुविधा थिएन, यो त्यतिखेरको कुरा हो । नून मानिसलाई नभई नहुने एउटा खाद्य पदार्थ भइ सकेको छ, नेपालीहरुका लागि । अन्य देशमा नून कम खान्छन् । गाउँमा गाडी नभए पछि यसको जोहो सोमबारेबाट (मधुमल्ला, मोरङ्ग) गर्ने गर्थे बाउ बाजेहरु । यसका लागि ढाकरको माध्यमबाट नून बोकेर घर ल्याइन्थ्यो । अलि उमेर बढ्दै गए पछि घरको जिम्मेवारीको भागिदार भइन्दो रहेछ । हो, जिम्मेवारी मध्ये एक नून बोक्नु पर्ने पनि थियो । पापा अलि कामजोर हुनु भएकाले पनि ।
सोमबारे (सोमबार हटिया लाग्ने भएकाले) पहिलो पल्ट म २०४३ सालमा गएको थिएँ पापासँग । कक्षा चारको किताब किन्न गएको थिएँ । त्यतिखेर कक्षा तीनसम्म मात्र किताब निशुल्क पाइन्थ्यो । त्यस भन्दा माथि आफैंले किन्नु पथ्र्यो । पापाको इच्छा आफैं धेरै पढ्ने थियो, तर पारिवारिक अवस्था मिलेन । त्यही आफ्नो अपूरो इच्छालाई पुरा गर्न सन्तानलाई पढाउँछु भन्ने सोच चैं थियो । र नै आज नौ सन्तान मध्ये आठ जनाले स्नातकोत्तर पुरा गर्यौं । पछि ४६ सालबाट भने हरेक बर्ष नियमित जस्तो सोमबारे झर्ने काम हुन थाल्यो । जाडोेको छुट्टि भएपछि गाउँका केटाहरुको लर्को लाग्थ्यो । एताबाट (पहाड) विशेष कुचो, सुन्तला, कागती, नासपाती, मेहेल, भटमास, घिउ, मटरकोसा झथ्र्यो । अनि सोमबारेबाट (मधेस) नून, तेल, मसला, चामल, भुजा, मट्टितेल, चिनी, लुगाफाटा उकालो चढ्थ्यो, मानिसको ढाडमा बसेर । वस्तु विनिमयको राम्रो बजार थियो सोमबारे । यही सोमबारेबाट नून लगिने, ल्याइने हुनाले, भान्सामा, भोज भतेरमा नून लागेन भने ‘खै खै सोमबारे पाउँ त’ भन्ने गर्थे । सामबारे भनेपछि नूनको पर्याय थियो त्यो समय अर्थात झण्डै २०६० सालसम्म ।
नून लिन (किन्न, साट्न) सोमबारे जान साथीहरुसँग सल्लाह गरेर शनिबारकै दिन बाटो लाग्थ्यौं । बिहानको खाना घरमै खाएर हिड्थ्यौं, त्यतिखेरको रबि ८ बाट । अलि तल ९ नं. को लहरे बरमा केहीबेर सुस्ताउँथ्यौं । खब रमाइलो गथ्र्यौं । त्यसपछि ओरोलै ओरालो सल्लेरी हुदै नवाखोला (नयाँखोला) तरेर कुरुम्बाको उकालो लाग्थ्यौं । कुरुम्बामा सुन्तला निकै राम्रो फल्थ्यो । पैसा भएको बेला किनेर खान्थ्यौं, नत्र हेरेर चित्त बुझाउँथ्यौं । कुरुम्बा स्कुल आए पछि अलि तेर्सो लाग्थ्यो । त्यसको केही पर एउटा पहिरो छ, त्यो पहिरो पहिलो पटक देख्दा मेरो आङ सिरिङ्ग भएको छ । झण्डै पार गर्न नसकेको डरले । त्यसलाई ठुवा चेरेक्पा पहिरो भनिँदो रहेछ । त्यसपछि करेङ करेङको बाटो हिडेर ठूलो लब्सीको बोट भएको ठाउँमा पुगिन्छ । त्यो लप्सीको बोट हेरेर अचम्म लाग्थ्यो, कति ठूलो बोट भनेर ? त्यो बोटको लप्सी पनि झटारो, ढुङ्गाले हानेर खाइन्थ्यो । पेटपेटै माथि लागे पछि एउटा धारा (नाला जोडेको) आउँथ्यो । त्यहाँ बिसाएर खाजा खाइन्थ्यो । त्यहाँ कुनै घर, पसल थिएन । खाजा चैं घरबाटै बनाएर ल्याइएको हुन्थ्यो । यो ठाउँलाई सिङफेरे भनिदो रहेछ । त्यसपछि केही उकालो तेस्रो हिडेपछि चिसोपानी पञ्चमी बजार पुगिन्थ्यो । चिसोपानी पुगेपछि निकै आस आउँथ्यो, किनभने अब उकालो बाटो सकिन्थ्यो । चेसोपानी पुगेपछि बढी नै हुस्सु लाग्थ्यो । तेर्सै तेर्सो गएपछि रमिते पुगिन्थ्यो । रमिते पुगेपछि अर्को अप्ठ्यारो शुरु हुन्थ्यो, ओह्रालै ओह्रालो । रमिते पुगेपछि मधेश (तराईको भूभाग) देखिन्थ्यो, एक खालको आनन्द महसुस हुन्थ्यो । पर पर ….सम्म परेको ठाउँ तुवाँलोले ढाकिएको खुब सुन्दर । डाँडापाखा, पहरा छहरा हेर्नेलाई अचम्मै लाग्ने ।
रमितेबाट ओह्रालो लागे पछि बाँझो गाउँ पुगिन्थ्यो । घरबाट अलि ढिलो हिड्नहरु यहीँ सम्म आएर बास बस्छन् । घरबाट छिटो बाटो लाग्नेहरु अलि अघि नै बढ्छन् । हामी चैं प्रायः अलि अगाडि नै बास बस्न पुग्थ्यौं । बाँझोगाउँबाट तल झरे पछि टोडके पुगिन्छ । कोही यतै बास बस्छन् । अmझै तल झरेपछि घोर्लेभीर भेटिन्छ । यसको बायाँतिर रतुवा र दाँयातिर मावा खोला छन् । घोर्लेभीरबाट खसियो भने एकै चोटी रतुवामा भन्थे बुढाहरु । त्यो भन्दा अलि अगाडि बढेपछि आउँछ कुसुन्डे, हाम्रो बास बस्ने ठाउँ । यो बाटोमा जहाँ बसे पनि हुन्छ, घर खाली छ भने । किन भने कसैको घरमा पैसा लिदैनन्, ओढ्ने ओछ्याउने पनि दिदैनन् । केही पाटीहरु छन्, छिट्टै पुग्नेहरुले अलि सजिलो, राम्रो ठाउँ ओगटी सक्छन् । ढिला जानेहरु जस्तोमा पनि बास लिनै पथ्र्यो । बेलुकाको खाना पनि घरैमा पकाएर बोकिएको हुन्थ्यो, हात धोयो, घरबाटै भाँडा, कराही, थाल बोकिएको हुन्थ्यो र भाग लायो, चिसै खायो, गरिन्थ्यो । कुचो, कागती, सुन्तला, भटमास, घिउको भारीले दिनभरी थिचेको शरीर, थकाईले अलि गर्मीमा केहीबेर भुस । पहाडमा बस्नेहरु मच्छडले त्यसपछि सत्यानाश, अधकल्चो । बिहान कोइ त तीन चार बजे नै बाटो लाग्छन् ।
कुसुन्डे देखि ओह्रालो लागेपछि भित्री मधेश शुरु हुन्छ । अलि तल झरेपछि त चेपमा, खोंजमा पसेपछि त मावाखोला ननिस्किन्जेल घाम देख्नै पाइन्नथ्यो । तर अहिले ढुङ्गा, गिटीको ओसार पसारले ठाउँ खुला भइ सकेछ । भित्री मधेशमा पहिलो पटक पस्दा त ढुङ्गाहरु देखेर मन कति लोभिएको थियो ? चिल्लो चिल्लो ढुङ्गा (पित्तलको भाँडा जस्तो) घरमा सजाएर राखुँ जस्तो ? एउटा चैं घरमा लगेर सजाउँछु सोचेको थेँ, फर्केर आउँदा गलेर हैरान । अनि काँ बोक्नु, छोडी दिएँ । भारीसँग तीन घण्टा जति हिडेँपछि पाङ्ग्रीझेल पुगिन्थ्यो । यो सबैको खाजा खाने ठाउँ हो । यहाँको खाजा भनेको सिमली तरुल, थुक्पा, केरा, जाँड र रक्सी नै हो । हामी पाँच पाँच रुपैयाँको थुक्पा र सिमली तरुल खाएर बाटो लाग्थ्यौं । चुली (भित्री मधेश) छिचोलेर मावाखोला आएपछि अर्को समस्या खोला कम्तिमा १९ पटक तर्नु पर्ने । कति ठाउँमा त पानी धेर भएर लडाउने डर । फेरि बगरको हिडाई खुट्टै नसर्ने । पिडीबास, फुइँके हुदै तोरिबारी पुगिन्थ्यो । अनि शुरु हुन्थ्यो व्यापार । पहाडबाट झरेको वस्तु किन्न यहाँसम्म व्यापारीहरु आइपुग्थे । सोमबारेमा आफूले लगेको सामान बेचे पछि भात पकाइ खाइन्थ्यो । त्यहाँको बसाइ पनि उही हो । भूइँ तला खाली हुन्थ्यो त्यहाँका घरहरुमा, नबारिएको त्यहीँ सेल्टर कस्थ्यौं । पहाडबाट ल्याएको सामान नबिक्नेहरु खाना खाएर आफ्नो सामान बेच्न बजार लाग्थे । दिउँसो भर बजार घुम्ने, किनमेल गर्ने काम हुन्थ्यो । बेलुकाको भात खाएर फिल्म हेर्न जाँथ्यौं ब्ल्याक एन्ड ह्वाइट टि. भी.मा । एक रुपैयाँको हेथ्र्यौं । अहिले बुझ्दा त्यो नेपाली सिरियल रहेछ । बेलुका सुतिन्थ्यो, तर मच्छडले के सुत्न दिनु ? ताली लाउँदै उज्यालो बनायो । फेरि बिहान सौदापात चल्थ्यो, खास गरी नून । भटमास एक पाथीको नून चार पाथी । घिउ एक मानाको नून २८ माना साटफेर चल्थ्यो, रेट यस्तै थियो । खाना बनाई खाएर बाटो लागिन्थ्यो । सौदापात छिटो गर्नेहरु चाँही तोरीबारीतिर पुगेर खाना बनाई खान्थे । यो दिन सक्नेले मासु खान्थे । मासु खान पाउनु भनेको त्यतिखेर कुनै चाडपर्व नै कुर्नु पथ्र्यो । सोमबारको दिन पिडीबास, एक्लेचुली वा कुसुन्डे पुगेर बास बस्ने गरिन्थ्यो । भोलि पल्ट पिडीबास, एक्लेचुली बास बस्नेहरु कुसुन्डे, टोडके पुगेर खाना बनाई खान्थे भने कुसुन्डे बास बस्नेहरु रमिते, चिसोपानी पुगेर खाना बनाई खान्थे । र साँझ वा मध्यरातमा घर पुगेर भारी बिसाउँथ्यौं । यही क्रमले बर्षभरिको नूनको जोहो गरिन्थ्यो ।
आज ती दिनका असुविधाले गाडीको बाटो खन्यौं, खनायौं । र आफूलाई आवश्यक पर्ने चीज, वस्तुको आपूर्ति गर्छौं । यसलाई हामी समयको नाममा जस पस्की दिन्छौं ।