फिदिम । चितवनमा कार्यरत डा. विश्वबन्धु बगाले ‘एलोपेथिक’ चिकित्सक हुन्।
उनी र उनका परिवारका सदस्यलाई गत महिना कोरोना भाइरस संक्रमण भएको थियो।
त्यसबेला आफन्त र साथीभाइले उनलाई ‘गुर्जाे’ खान सल्लाह दिए। घरमै ल्याएर राखिदिए।
र, उनले अहिलेसम्म पनि गुर्जाे खाइरहेका छन्।
‘तर, यही गुर्जाे खाएर मलाई ठिक भएको भन्ने चाहिँ मलाई लाग्दैन,’ डा. बगालेले भने, ‘यसले इम्युनिटी बुस्ट गर्छ भन्नेसम्म मैले इन्टरनेटमा पढेको हो।’
…
कोरोना भाइरस संक्रमणसँगै नेपालीको मुखैमा झुन्डिएको एउटा नाम हो– गुर्जाे।
अरू बेला सायदै नेपालीले गुर्जाे सुनेका थिए। अझै त्योभन्दा पनि धेरै कमले मात्रै गुर्जाे चिनेका वा देखेका थिए।
तर, गुर्जाे नेपाली डाँडापाखामा पाइने एक आदिम ‘बुटी’ हो।
गुर्जाे कसरी एकाएक चर्चामा आयो?
लगभग पूरै विश्व कोरोना संक्रमणले थलिएको छ। नेपालमा पनि दिनदिनै यसको संक्रमण बढिरहेको छ।
न, यसको कुनै औषधी बनिसकेको छ न कुनै उपचार विधि। यसको रूपरङ अनि आकार–प्रकार र बानी–बेहोराबारे पनि अहिले विभिन्न तरिकाले आइरहेका छन्।
तर, ठ्याक्कै यकिन गरेर भन्नुपर्दा यो भाइरस एक रहस्यमयी बनिरहेको छ।
भाइरस आफूमा सर्न नदिनु सबैभन्दा उत्तम उपाय हो। तर, भाइरस प्रवेश गरिहाल्यो भने?
त्यसपछि सबैभन्दा चाहिने महत्वपूर्ण कुरा भनेको ‘शरीरमा रोग प्रतिरोधात्मक क्षमता’ अर्थात् इम्युनिटी पावर बलियो हुनु नै हो।
यही सन्दर्भमा गुर्जाे चर्चामा आयो। अर्थात्, गुर्जाेले शरीरको त्यो इम्युनिटी पावरलाई बढाइदिन्छ।
‘यसले रोगसँग लड्ने क्षमता बढाइदिन्छ,’ नरदेवी आयुर्वेद चिकित्सालय कीर्तिपुरका निर्देशक डा. प्रदिप केसी भन्छन्, ‘कुनै पनि भाइरसका लागि यसले एन्टिभाइरसको काम गर्छ। अर्थात्, भाइरससँग लड्ने क्षमता बढाइदिन्छ।’
उनका अनुसार गुर्जाेको प्रयोग भने परापूर्वकालदेखि नै हुँदै आएको छ।
‘हामी हुर्केको वातावरणमा पहिलेदेखि नै विभिन्न प्रकारका भाइस थिए, जसका कारण रुघा, खोकी, ज्वरो जस्ता रोग मौसमअनुरूप लागिरहन्थे,’ उनी भन्छन्, ‘परापूर्वकालदेखि नै मानिसले गुर्जाेको प्रयोग गर्दै आएका छन्।’
गुर्जाे कहाँ पाइन्छ?
यो हिमालदेखि तराईका चुरे जंगलमा समेत पाइन्छ। तर, ठाउँअनुसार यसको आकार, प्रकार फरक–फरक हुन्छ।
पहाडतिर त मानिसले पशुलाई घाँसको रूपमा पनि खुवाउँछन्। मानिसलाई मात्रै होइन, खेतबारी जोत्ने गोरुलाई पनि गुर्जाे खुवाउने चलन थियो।
गुर्जाे समुद्री सतहबाट ३ सय मिटर उचाइदेखि नै पाइन्छ। खासमा यो एक लहरा प्रजातिको वनस्पती हो।