धरान । धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म धरानमा ६ जनाको डेंगुकै कारण मृत्यु भएको बताए । तीमध्ये चार जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अहिलेसम्म १९ सय ११ जनामा सङ्क्रमण देखिएको छ ।
धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई नै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि बढाइरहेको छ । धरान उपमहानगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको छ ।
यस्तै धरानमा रहेका २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको मेहताले जनाए । ‘हामीले २४० वटा टोल विकास संस्थालाई डेंगु नियन्त्रण अभियानमा परिचालन गरेका छौँ । विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि परिचालन गरेर सर्च एण्ड डिस्ट्रोय अभियान लिएर घरघरमा जाँदैछौँ,’ मेहताले भने ।उनले हाल देखिएको डेंगुले महामारीको रूप नलिएको तर महामारीको रूपमा जान सक्ने संकेत गरेको बताए । ‘धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । यी चारै वडामा सबैको सहयोगमा घरघरमा पुग्ने अभियान चलाइरहेका छौँ,’ जनस्वास्थ्य अधिकृत मेहताले भने, ‘त्यसमध्ये पनि १७ नम्बर वडा बढी प्रभावित रहेको बताइएको छ । उक्त वडामा मात्रै लगभग ५ सय सङ्क्रमित छन् ।’
डेंगु तीव्र गतिमा फैलिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु सङ्क्रमितको उपचारका लागि १ सय ५० जनासम्म अट्ने गरी छुट्टै व्यवस्था गरिएको छ । ‘त्यहाँ किटको व्यवस्था गरेका छौँ । कुर्सी, टेबल र फ्यानहरुको व्यवस्था गरेका छौँ । स्वास्थ्य कार्यालय सुनसरी र स्वास्थ्य निर्देशनालय धनकुटाबाट परीक्षण किटहरू बीपी प्रतिष्ठानलाई नै दिएका छौँ । त्यहीँबाट धरानका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,’ मेहताले भने ।
यद्यपि डेंगु परीक्षणको लागि किटको अभाव भएको मेहताले बताए । ‘अहिले किट कम छ,’ उनले भने । किट उपलब्ध भएको अवस्थामा ३ सय जनासम्मको दैनिक परीक्षण गर्न सकिने उनले बताए । किट महँगो पर्ने भएकोले उपमहानगरपालिकाले डेंगु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।
‘१० लाखको किट खरिद गर्दा २ हजारमात्रै आउँछ । किट धेरै महँगो पर्ने भएकाले परीक्षण गर्नु मात्रै ठुलो कुरा नहुने देखियो । बरु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ उनले भने । उनले धरानमा हालसम्म ३१ सयको किट मार्फत परीक्षण गरिसकिएको बताए ।
धरानमै पटकपटक किन हुन्छ डेंगुको प्रकोप ?
धरानमा खानेपानीको अभाव छ । पानीको अभाव पूर्ति गर्न वर्षाको समयमा ड्रममा पानी जम्मा पारेर राख्ने चलन छ । डेंगु त्यहाँ बढी बस्छ । ‘हामीले त्यस्ता ड्रमको पानी फाल्दै पनि छौँ । छोपेर राखिएकालाई दिएका छौँ । खुल्ला राखेको छ भने तीन दिनमा पानी परिवर्तन गर्न भनेका छौँ,’ मेहताले भने । उनका अनुसार तीन÷चार दिनमा पानी चेन्ज गरिएन र खुला राखियो भने त्यहाँबाटै डेंगुको लार्भा हुर्कने चान्स बढी हुन्छ ।
डेंगुको प्रकोप प्रि–मनसुन, मनसुन र पोष्ट मनसुनमा हुन्छ । मनसुन सिजन अहिले हो । फागुन–चैत महिनामा ३–४ सय केस इटहरीमा देखिएको थियो । अहिले इटहरीमा कम भएको छ भने धरानमा बढी देखिएको छ ।
धरानमै अहिले डेंगु देखिनुको कारण विभिन्न रहेको मेहताको दाबी छ । उनले भने, ‘एउटा कारण पानीको अभाव हुनु र जम्मा गरेर राख्नु हो । अर्को वनजंगलको क्षेत्र बढी छ । जंगलका रुखको टोड्काहरूमा पनि पानी जमेको छ भने त्यो पनि डेंगुको घर हो । यस्तै फूलका गमलाहरू पनि धरानमा धेरै छन् । गमलाको पिँधमा रहेको प्लेटमा पानी रहँदा त्यहाँ पनि डेंगुको घर बनेको छ ।’
यस्तै, पानी जम्मा गरेर राखेको ट्याङ्कीहरू घरघरमा छन् । त्यसमा पनि डेंगु बस्ने देखिएको छ । अर्को, सुँगुरको खोर धेरै छ । त्यहाँबाट पनि डेंगु सरिरहेको छ । सुँगुर भएको ठाउँमा धेरै हिलोमैलो देखिन्छ । डेंगुले सफा पानीमा फूल पारे पनि फोहोरमा हुर्किन्छ । यस्तै कतिपय सडकको ड्रेन तथा नालीहरू पनि सफा छैन । धरानमा डेंगु, मलेरिया र कालाजार रोग सार्न सक्ने खालको लामखुट्टे पाइएको छ ।‘रिसर्च गर्दा डेंगु सार्ने खालको लामखुट्टे धेरै पाइएको छ । यसलाई रोकथाम र नियन्त्रणको एउटै उपाय भनेको सर्च एण्ड डिस्ट्रोय अभियान नै हो,’ मेहताले भने । धरानमा ०७७ र ७८ मा फाट्टफुट्टमात्रै डेंगु देखिएको थियो । त्यतिबेला १०२ जना सङ्क्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगुको सङ्क्रमण फैलिएको थियो । त्यसबेला ४ हजार ३ सय मानिस सङ्क्रमित भएका थिए । त्यतिखेर पनि सर्च एण्ड डिस्ट्रोय र फगिङ गरिएको थियो ।
कोशी प्रदेशमा मात्रै २ हजार बढी सङ्क्रमित
कोशी प्रदेशभरमा २ हजार भन्दा बढी डेंगुका सङ्क्रमित रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
जसमध्ये सुनसरी, सङ्खुवासभा, झापा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा र ताप्लेजुङमा पनि डेंगु सङ्क्रमित देखिएका छन् । तर, बढी समस्या भएको क्षेत्र सुनसरीको धरान नै हो । बस्नेतले धरानमा विशेष अभियान चलाइरहेको बताए ।
‘धरानमा दुई दिन अगाडि स्वास्थ्य सेवा विभाग इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका प्रमुख, महानिर्देशक सहितको विज्ञको टिम आएर डेंगु नियन्त्रणको विषयमा छलफल ग¥यो । त्यहाँ अवस्थाको पहिचान र अब के गर्ने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बस्नेतले भने ।
त्यहाँ पानी जमेका भाँडाहरु सफा गर्ने अभियान चलाउने, झुल प्रयोग गर्ने लगायतका सचेतना कार्यक्रम भइरहेको उनले बताए । उनले किटको माग बढी आइरहे पनि पर्याप्त उपलब्धता नभएको बताए । ‘परीक्षण गर्नुपर्ने मान्छेहरूको लागि पुगिरहेको छ । तर, सबैलाई परीक्षणको लागि किट नै चाहिन्छ भन्ने पनि होइन । अलिक जटिल खालको अवस्थामा मात्रै किटको प्रयोग गर्दा अपुग छैन । सोचेजस्तो र माग गरेजस्तो आएको छैन,’ बस्नेतले भने, ‘तर, अहिले पनि सप्लाई पनि भएको छ र पुगिरहेको पनि छ । फोकस एरिया धरान हो ।’