काठमाडाैं । एसइईको नतिजा प्रकाशन भएसँगै धेरैजसो परीक्षार्थी उच्च शिक्षा र आफ्नो भविष्यलाई लिएर उत्साहित छन् । तर, अझै पनि कतिपय विद्यार्थी कहाँ पढ्ने र के पढ्ने भन्नेमा अलमलमा छन् । अभिभावक र विद्यार्थीको चाहना नमिल्दा पनि यस्तो समस्या देखिएको विज्ञहरू बताउँछन् । ‘अभिभावकले छोराछोरीको रुचि भएको विषयलाई ख्याल गर्नुपर्छ । कतिपय अभिभावकले आफ्नो छोरा–छोरीले यस्तो विषय पढे हुन्थ्यो भन्ने सोचेका हुन्छन् । कतिपय अभिभावक आफूले पढ्न नपाएको विषय छोराछोरीले पढिदिए हुन्थ्यो भन्ने चाहना राख्छन्,’ शिक्षाविद् तुलसी थपलियाले भने, ‘परिवारको र घरको अपेक्षाले विद्यार्थीलाई बढी डोमिनेट गर्ने हुनाले विद्यार्थीको रुचिसँग मेल नखाएर उनीहरूको समय खेर जाने सम्भवना पनि हुन्छ । त्यसैले विद्यार्थीको रुचिबारे अभिभावकले छलफल गरेर मात्रै भर्ना गर्नुपर्छ । किनकि, प्लस टु उच्च शिक्षाको जग हो । यतिवेला पढेका कुराले भविष्यमा के बन्ने भनेर निर्धारण गर्छ ।’
विषय कसरी छान्ने ?
विद्यार्थीले विषय छनोट गर्दा पर्याप्त योजना बनाउनुपर्ने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताए । ‘विद्यार्थीले एउटै मात्रै योजना बनाउनु हुँदैन । एउटै मात्रै विषय पढ्छु भन्ने सोच्नु हुँदैन,’ उनी भन्छन्’, प्लान ए, प्लान बी, प्लान सी बनाउनुपर्छ । प्लान ए फेल भयो भने प्लान बी छ भन्ने हुनुपर्छ । प्लन बी फेल भयो भने प्लान सी छ भन्ने हुनुपर्छ । निराश हुने होइन, सम्भावना खोज्ने हो ।’
शैक्षिक अभियन्ता मिलन पाण्डे विद्यार्थी, आमा–बुबा र शिक्षक बसेर विषय छनोट गर्नु राम्रो हुने बताउँछन् । ‘हामीकहाँ स्कुलमा राम्रो जिपिए ल्याएपछि साइन्स पढ्नुपर्छ भन्ने छ । विद्यार्थीको प्यासनसँग कुनै मतलब नै हुँदैन । त्यसैले सुरुमा त अभिभावक र शिक्षकले विद्यार्थीको प्यासन केमा छ भन्ने कुरा खोज्नुपर्छ,’ उनी भन्छन्, ‘विद्यार्थीको प्यासन भएको विषय प्रोफेसनल छ कि छैन भन्ने पनि जान्न जरुरी हुन्छ । विषयको स्कोप कस्तो छ ? व्यावसायिकता कस्तो छ ? त्यो पनि हेर्नुपर्छ । ’
सामाजिक सञ्जालको प्रभाव
सामाजिक सञ्जाल, छापा, अनलाइन वा अन्य विभिन्न माध्यमबाट कलेजहरूले विभिन्न विज्ञापन दिइरहेका छन् । अधिकांश शैक्षिक संस्थाले आफ्नोमा पढ्ने विद्यार्थी सफल हुने दाबीसमेत गरिरहेका हुन्छन् । यसले पनि विद्यार्थी र अभिभावकमा शैक्षिक संस्था छनोटलाई लिएर द्विविधा सिर्जना गरेको छ । शिक्षाविद् थपलिया विज्ञापनका आधारमा बहकिएर कलेज भर्ना गर्न नहुने बताउँछन् । ‘विज्ञापनको प्रचारमार्फत कलेजहरूले आफ्नो ताकत देखाउने होडबाजी गरिरहेका छन् ।
तर, विद्यार्थीका लागि आवश्यक महत्वपूर्ण सूचना त्यहाँ नहुन पनि सक्छ । किनकि, हाम्रोमा फाइदाका लागि विज्ञापन गरिन्छ,’ उनले भने, ‘संसारका अन्य मुलुकमा पनि विज्ञापन हुन्छ । तर, विकसित मुलुकमा विद्यार्थीलाई चाहिने सूचना उपलब्ध गराउनका लागि विज्ञापन गरिन्छ । आफ्नो फाइदाका लागि होइन ।’ सामाजिक सञ्जाल वा विज्ञापन हेरेकै भरमा कलेज भर्नाको निर्णय लिनुभन्दा पर्याप्त सूचना लिएर कलेज छनोट गर्नु राम्रो हुने उनले बताए ।
‘पहिले कलेज गएर चाहेजति जानकारी लिनुस् । कलेजको विगतको रेकर्ड बुझ्नुस् । कलेजमा कस्तो योग्यता र क्षमता भएको शिक्षक छन् तथा शिक्षकको स्थायित्व कत्तिको छ भन्नेबारे पनि बुझ्नुस् । आफूले पढ्न चाहेको विषयमा त्यो कलेजको शिक्षण सिकाइ कस्तो छ ? सहभागितामूलक सिकाइको वातावरण अर्थात् विद्यार्थीको राम्रो–नराम्रो, कमजोरीहरू जाँच्ने, उनीहरूसँग पनि फिडब्याक लिने प्रणाली छ वा छैन बुझ्नुस् । शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने मात्रै भयो भने राम्रो हुँदैन,’ उनले भने ।
विद्यार्थीले भर्ना हुनुअघि कलेजले दिने सुविधाबारे पर्याप्त जानकारी लिनुपर्ने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताए । यससँगै आफ्नो रुचि र घरको आर्थिक अवस्था पनि बुझ्न विद्यार्थीलाई उनले सुझाव दिए । ‘छात्रवृत्तिलगायत अन्य सुविधाबारे भर्नाअघि नै बुझ्नुपर्छ । भर्नाअघि बुबाआमाको आर्थिक स्थिति पनि बुझ्नुपर्छ । कलेज फी आफूले तिर्ने हो भने तिर्न सक्छु÷सक्दिनँ भन्ने पनि बुझ्नुपर्यो ।
अभिभावकले तिर्ने हो भने घरको आर्थिक अवस्था ख्याल गर्नुपर्यो,’ उनी भन्छन्, ‘नगरपालिका, गाउँपालिकाले पनि छात्रवृत्ति उपलब्ध गराइरहेका हुन सक्छन् । विद्यार्थीले यसबारे पनि बुझ्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो अभिरुचिको विषय के हो र त्यसमा कसरी सफल हुन सकिन्छ भन्नेबारे बुझ्नुपर्छ ।’