ताप्लेजुङ । नेपालका ४२ जिल्लामा उत्पादन हुने अलैँची यो आर्थिक वर्षको नौ महिनामा ६ अर्बको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
व्यवसायीका अनुसार अबको दुई महिनामा अधिक निर्यात भए आठ अर्ब पुग्न सक्छ । तर यसमा खुशी भइहाल्नु पर्ने अवस्था छैन, किनभने एक दशकअघि अर्थात २०७२र७३ सालसम्म यति मूल्य बराबरको अलैँची पूर्वी नेपालको ताप्लेजुङ जिल्लाले मात्रै निर्यात गर्थ्यो ।
योवर्ष अलैँचीको मूल्य प्रतिकिलो नौ सय रुपैयाँसम्म पुगेको छ । २०७३ सालमा किलोको दुई हजार रुपैयाँ रहेको थियो । २०७४ सालमा प्रतिकिलो २४ सय रुपैयाँसम्म पनि पुग्यो । भन्सार विभागको तथ्यांकले यो आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नेपालबाट ७८ लाख ७१ हजार किलो अलैँची निर्यात भई ६ अर्ब ३५ करोड रुपैयाँ भित्रिएको देखाएको छ । घट्दो मूल्यका कारण एउटै जिल्लाले गर्ने आम्दानी अहिले समग्र देशभरीको भएको छ ।
नेपालमा उत्पादित अलैँची सिँधै तेस्रो मुलुक जान सक्दैन । नेपाल सरकारले अलैँचीको मूल्य पनि तोक्दैन । जसका कारण भारतीय व्यापारीले जति पैसा दिन्छ त्यतिमै आफूले उब्जाएको अलैँची बेच्न किसान बाध्य छन् ।
अलैँचीको व्यापारका लागि भारतीय बजारमा निर्भर हुनु परेको ताप्लेजुङ अलैँची जोनका अध्यक्ष बालमणि बराल बताउँछन् । उनी भन्छन्, ‘स्वदेशमै अलौँची उद्योग खोलिएमा परनिर्भर हुनुपर्ने थिएन ।’
नेपालबाट भारत हुँदै पाकिस्तान, कतार, साउँदी, कुवेत लगायतका मुलुकमा पुग्ने नेपाली अलैँची उत्पादनमा खासै ह्रास आएको छैन । हिमाली र पहाडी जिल्लाका कुना(कुनामा पनि खेती विस्तार भएको छ । तर मूल्यमा आएको गिरावटका कारण न किसान सन्तुष्ट छन् न त राज्यलेनै ठूलो रकम भित्र्याउन सकेको छ ।
२०७२र७३ मा ताप्लेजुङ जिल्लाले ६ अर्बभन्दा माथिको आम्दानी गरेको अलैँची किसान भीम गुरुङ बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारले भारतसहित अन्य देशमा पनि डाइरेक्ट अलैँची निर्यात गर्ने नीति बनाइदिएदेखि आज पनि त्यो दाम आउँछ भन्ने आशा छ ।’
सरकारले अलैँची जोन स्थापना गरेर किसानलाई राहत दिने प्रयास गरेपनि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न सकेको छैन । जसका कारण भारतमा सीमित निर्यातको अवस्थामा यही आम्दानीलाई नेपाली किसानले गर्व गर्नुपर्ने अवस्था छ ।