एकाध बर्ष अघि भीम तुम्बापो भाइसँग भेट भयो । भाइ पहिला पत्रकारिता गर्दा फिदिममा खुब भेट हुन्थ्यो । बिहे गरे पछि केटा गाउँ पस्यो र पत्रकारिता रोकियो, सक्यो । सायद अरु उत्पादनमा लाग्यो ? थाहा छैन । केटा कम बोल्ने, त्यो दिन उसले नै बोलायो, अहिलेको शिक्षा लाइन अगाडि (जहाँ पहिला उ बस्थ्यो) । अनि सुनायो —‘दाइ, हामी वीरेन्द्र तुम्बापो ‘प्रतीक’को स्मारीका निकाल्ने योजनामा छौं । बुढाको एउटा ‘लेटेस्ट’ कविता भेटियो नि’ भन्दै सानो कागजको टुक्रामा कविको हस्ताक्षरमा रहेको कविता देखायो । कविता चार लाइनको मात्र थियो । कविता खुब गज्जबको लाग्यो । छोेरी प्रतिको श्रद्धा, स्नेह अरु सबथोक पाएँ मैले । कविता यस्तो थियो ः—
छोरी,
तिमीलाई त पृथिवी नै दिन चाहन्थे
तर के गर्नु छोरी
पृथ्वी मेरो भाग मै परेन ।
पृथ्वी नै छोरीलाई दिनु भनेको सबै सबै थोक दिनु हो । आफूसँग केही नराख्नु हो । भने पछि छोरी प्रतिको माया कति रहेछ ? यो कविताबाट थाहा पाउन सकिन्छ । तर पृथिवी र पृथ्वी के का लागि प्रयोग गर्नु भएको थाहा पाइन । यसको सांकेतिकता, प्रतीक केही बुझिन ।
मैले पनि स्मारीकाका लागि सक्दो सहयोग गर्ने कुरा गरेँ । चिया खाएर हामी छुट्टियौं । दिउँसै भएकाले अर्को चियामा पसेनौं । मलाई लागेको अग्रज स्रष्टाहरुलाई सम्मान गर्ने एक काम नै उनीहरुको स्मारीका प्रकाशन हो । यद्यपि तुम्बापो परिवारले पहल गर्ने (भीमको भनाइ) भनेको त्यो स्मारीकाको काम के कति भयो ? मलाई थाहा भएन । सायद मेरो खाँचो परेन कि ? कि, अघिल्लो बर्ष देखिको कोराना महामारीका कारण काम तीब्रतर गर्न नपाइएको ? भीम बाहेकसँग यो कुरा नभएकाले ‘त्यो’ हामी दुई मै सीमित रह्यो । तर अब यसलाई अलि व्यापक र तीब्र बनाउनु पर्ने खाँचो रह्यो । पाँचथरे स्रष्टाहरुको पहिलो हात पनि रहने छ, हुनु पर्ने हो । सोच आ-आफ्नै ।
वीरेन्द्र तुम्बापो ‘प्रतीक’ सँग पहिलो चिनजान गराउने काम भवानी तावाले गरेका हुन् । तर कहिले ? कहाँ ? चिनजान गराए त्यो मैले बिर्सेँ । बिर्सने बानी सबभन्दा राम्रो छ मेरो । यही कारणले कहिले काँही धेरै धोका, घात पाएको छु, जीवनमा । खासमा उनले (भवानीले) पहिला सिलाङ बस्ने कवि हुन भनेर चिनाएका थिए । तर उनले प्रवासी जीवन मात्र सिलाङमा बिताएका रहेछन् । खास जन्म त पान्थरको तत्कालिन चोकमागु गा.वि.स पो रहेछ । म आफू कुना गाउँमा जन्मेकोले त्यो सिलाङ निकै परको ठूलो देश लाग्थ्यो, मेरो कलिलो दिमागमा । नेपाल भन्दा बाहिर लागे पछि झन कवि त ‘खत्रा’ लाग्ने नै भयो । फेरि भवानीले के भनेका थिए भने उनी राम्रा कवि हुन्, उनको त भारतको विभिन्न पत्रिकामा कविता छापिन्छ । त्यतिखेर पत्रिकामा कविता छापिनु भनेको ठूलै कुरा हो भन्ने लाग्थ्यो । त्यो पनि भारतमा । ओ ! हो ? उनको केही कविता भवानी मार्फत नै पढ्न पाएँ । कविता अजिवको लाग्थ्यो । खासमा म शिकारु रहेछु ।
धेरै बर्ष पछि, भवानीले नै भने —‘हौ, प्रतीक बाबैको लेख हेर्ने ? कम्ता मजाको छैन ।’ म त्यसै त्यसै उत्सुक भएँ । फेरि भवानी तावाले ‘कम्ता मजा’को भनेका कुनै पनि कुरा, चीज सबै राम्रा हुन्थे । उसले आफ्नो लाइब्रेरीबाट पुरानो पुरानो फाइल झिकेर दिए । कार्वनकपीले उतारिएको लेख थियो —‘अफ्रिकी कविता ः योरुबादेखि युयुसम्म एक रेखांकन’ ।
मूल लेखक — आर. दबे
अनुवाद — वीरेन्द्र तुम्बापो प्रतीक
यसको मूल प्रति चैं को सँग होला ? झण्डै २० पेजको भएकोले डराई डराई मैले भनेँ —‘म घरमा लगेर पढ्छु’ भनेँ । भवानी हत्तपत्त आफ्ना कुनै पनि कुरा दिन राजी हुदैन । तर यो पटक ‘हुन्छ’ भन्यो । ओ हो, त्यो त बिशद लाग्यो । अफ्रिकाली साहित्य अलि अलि पढ्दै गरेकोलाई त्यो त कता हो कता लाग्यो । त्यसलाई सुम्हालुङमा छाप्न धेरै प्रयास गर्यो भवानीले । तर खै के कारणले २१ बर्ष त्यति कै रह्यो । र २१ बर्ष पछि मैले नै टाइप गरेर हाङसेम भाइको पत्रिका पहिचानमा छपाउन भवानीलाई राजी बनाएँ । प्रतीकको यो लेख खासमा अनुवाद थियो । र यो लेख के ? कसरी ? किन ? प्रतीकबाट भवानीले लिएको थियो थाहा भएन । र यतिखेर अनुवादकलाई लेखको अनुमति लिन पर्ने प्रतीकको मृत्युका कारण हामीले एक प्रकारले खुशी गर्यौं । खासमा भवानीले छाप्न मागेकाले यसो गर्न हामीमा आँट आएको हो ।
पाँचथर सामुदायिक पुस्तकालयको सञ्चालन उप समितिमा (२०६४ बैशाख १८) हामी आए पछि विभिन्न स्रष्टाहरुसँगको भेटघाट गर्ने क्रममा हामी उहाँको गाउँ चोकमागु पनि २०६७ तिर ‘विमर्श चौतारी’ कार्यक्रम लिएर पुग्यौं । त्यतिखेर उहाँ खास गरी लेखनमा निस्क्रिय जस्तो हुनुहुन्थ्यो । हाम्रो अभियान चैं अग्रज निस्क्रिय स्रष्टाहरुलाई सक्रिय बनाउने थियो । उहाँहरुसँग भएका ज्ञान जति सक्दो लिने, विचारहरु जान्ने पनि थियो । त्यो कार्यक्रममा पनि प्रतीकले निराशा जनक कुरा नै गर्नु भयो । अझै लेख्ने भन्ने कुरामा कुनै उत्साह देखाउनु भएन । हाम्रो उद्देश्य त्यति सफल हुन सकेन तर निराश पनि भएनौं ।
प्रतीकको जीवनको अन्तिम अन्तिम क्षणतिर रहेछ, ज्यादै बिरामी हुुनु भो । बिरामी पनि निकै सिकिस्त । पाँचथर फिदिमको समर्पित हस्पिटलमा प्रतीकलाई ल्याइएको छ भन्ने जानकारी पाए पछि हामी फिदिममा उपलब्ध साहित्यकार, पत्रकार भेट्न गयौं । उहाँले मलाई चिन्नु भएन । मलाई ज्यादै खल्लो लाग्यो । अब सायद उहाँलाई हामी चाँडै नै बिदा गर्दैछौं । उहाँसँग बसेर एकाध टेबलहरुमा तोङबा, रक्सी पियौं । अरु धेरै स्रष्टा पिए पछि मनका, विचारका, भावनाका कुरा छताछुल्ल पार्थे तर उहाँ उस्तै । अर्थात अरु बेला पनि कम बोल्ने, पिउँदा पनि कम नै । एक प्रकारले निराश पार्ने । सुखको कुरा यो हस्पिटल बसाई पछि उहाँ जाती हुनु भएछ । उहाँको चेहरामा त्यस पछिका दिनमा निकै सुधार आयो । खासमा उहाँ गोरो मान्छे झन राम्रो हुनु भयो । मलाई ज्यादै खुशी लाग्यो । तर मैले भने तोङबा र रक्सी खान उहाँले जस्तो छाडिन ।
अचानक फिदिमको मुख्य रोडको टाइगर होटल छेउमा दाइसँग भेट भयो । साँझ पर्न पर्न लागेको थियो । मैले त खासमा दाइलाई देखेकै थिइन । म साँझको बसाइको लागि अलि हतारमा थिएँ । —‘सगनु भाइ’ आवाज मेरो कानमा पर्यो । यसो हेरेको त प्रतीक दाइ । मैले भने ‘दाइ नमस्कार’ । उहाँले त्यो दिन निकै मन खोलेर कुरा गर्नु भो । म चैं हतारमा थिएँ । म अचम्ममा परेँ । यस्तो कुरा अरु बेला कति कति सुन्ने मन थियो तर कहिल्यै पाएको होइन । तर आज कस्तो संयोग मलाई हतार छ दाइलाई नभनी भा छैन । दाइले भन्नु भो —‘भाइ मैले धेरै विचार गरेँ, पान्थरका युवा पुस्तामा तपाइँ एउटा उदाहरण हो । तपाइँ जस्तो शक्तिशाली कवि अरु जन्मलान् नजन्मलान् । तपाइँ धेरै क्षमतावान कवि हो । केटाहरु धेरै आए । तर उनीहरुमा खास दम देखिन । भाइ तपाइँले केही गर्नु पर्छ । तपाइँको विचार, लेखन देखेर म एकदमै खुशी छु । यसलाई नरोक्नु है ।’ म अवाक भएँ । प्रतीक बुझिन । दाइले के भन्नु भएको ? मसँग के चीज, के क्षमता देखेर यसो भन्नु भयो ? खासमा मलाई आफ्नै अगाडि प्रशंसा गर्यो भने के गरुँ ? कसो गरुँ ? हुन्छुु । उफर माउलो भएर आउँछ । एकप्रकारले सुन्ने क्षमता नै हुदैन । सरम लागेर आउँछ । भुतुक्कै हुन्छु । दाइले अझै के के भनेर मेरो प्रशंसा गर्दै हुनुहुन्थ्यो । केही पत्तो पाइन । बल्ल बल्ल दाइसँग फत्केँ । कति कुरा सुन्नु पर्ने थियो त्यो सुन्न पाइन । जीवनको एउटा थकथकी त्यही रह्यो । जीवनमा कहिल्यै मन फुकाएर नबोल्ने मान्छे मन फुकाएको बेला पनि म अधैर्य हुनु मेरो कमजोरी रह्यो । हतार कै बेला दाइले पनि आफ्नो मनको कुरा भन्नु पर्ने ? कम समय भएको बेलै सबै कुरा गर्नु पर्ने ?
दोस्रो पटक प्रतीक दाइ बिरामी हुनु भो । खासमा खान पानको अलि बेवास्था भयो भन्ने सुनियो । खान भन्दा पनि पानले यहाँ सम्म पुर्याएको सबैको निष्कर्ष । अलि पछि (२०७६ मङ्सिर १ गते) सुनियो उपचारको क्रममा प्रतीक दाइ बित्नु भयो । एक जना साहित्यका असल चिन्तक हामीबाट टाढा (भेटिने गरी) हुनु भो । फिदिमबाट हामी साहित्यकार, पत्रकार पनि दाइलाई अन्तिम श्रद्धान्जली दिन मलामी चोकमागु आयौं । र सधैंलाई शारीरिक भेटको अन्तिम बिदाइ भनेर फर्कियौं ।
वीरेन्द्र तुम्बापो ‘प्रतीक’ दाइ धेरै बर्ष सिलाङ बस्नु भयो रे ? किन बस्नु भयो ? के कारणले बस्नु भयो ? उहाँलाई नै सोध्ने मन थियो तर सोध्ने अवसर नै जुरेन । त्यो बुझ्नै पाइन । सिलाङको बसाई पछि उहाँ गाउँ (चोकमागु) आउनु भयो र राजनीतिमा लाग्नु भयो । २०५४ को स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट चोकमागु गा.वि.स.को अध्यक्षमा निर्वाचित हुनु भयो । मैले थाहा पाए देखि पार्टीमा पनि उहाँको खास उपस्थिति देख्थिन । अरु जस्तो राजनीतिमा होमिनु भएको पनि देखिन । तर पार्टीले धेरै माया गर्ने मान्छेमा चैं पर्नु हुन्छ कि जस्तो लाग्थ्यो ? त्यो पनि खास बुझिन । यो राजनीति पछि मैले चिनेको लेखक, कवि हो । तर साहित्यिक गोष्ठी, कार्यक्रममा खासै उपस्थिति नै नहुने । लेखन पनि उति खास देखिन । रचना प्रकाशन केही (भवानी तावाको जोडबलमा) भए पनि पुस्तक प्रकाशन हुदै भएन । किन होला ? बुझिन । बरु तोङबा, रक्सीमा दिलचस्पी रह्यो । खै ? भन्ने सुनेको पहिलो उपचार पछि यी चीजहरु खासमा त्याग्नु पर्ने बेला बेला साथी बनाउनु भो रे । आखिर यही नै जीवन समापनको कारक बन्यो कि ? खासमा किन यसमा त्यति धेरै मोह रह्यो । जीवनको बाजी नै थाप्नु पर्ने कारण के रह्यो ? केही नबुझेको प्रतीक । केही बुझ्नै सकिन प्रतीक ?