पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ साम्दिनमा अवैध लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा मंगलबार राति ९ बजे धनराज तुम्वापोको घरमा गरिएको खानतलासीका क्रममा लुकाइ–छिपाइ राखिएको ब्राउन सुगरजस्तो देखिने १० ग्राम ५२ मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ। तुम्वापो घरमै ब्राउन सुगर बिक्री–वितरण गर्दै आएको भन्ने सूचनापछि उनीलाई नियन्त्रणमा लिइएको हो।
सोही क्रममा लागुऔषध खरिद गर्न आएका अर्का चार जनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा फिदिम–८ का ३४ वर्षीय शुशिल गुरुङ, ३३ वर्षीय विजयदय गुरुङ, फाल्गुनन्द गाउँपालिका–४ का १८ वर्षीय विजय तामाङ र इलाम नगरपालिका–१ का २३ वर्षीय लाक्पा शेर्पा रहेका छन्। पाँचै जनामाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।




