पाँचथर । पाँचथरको रानीटार तमाखे स्थायी निवासी ८३ वर्षीया बच्छीमाया कठेतकाे जीवनकथा सुन्दा अहिलेकाे पुस्तालाई दन्तेकथाजस्तै लाग्न सक्छ । तर यो पूरा घटनाक्रम सत्य हो । बच्छीमायाले १५ वर्षको उमेरदेखि लगातार ४७ वर्षसम्म २८ सन्तान जन्माउनुभयो । उहाँले १४ छोरा र १४ छोरीलाई जन्म दिनुभयो । औसत एक वर्ष १४ दिनको अन्तरालमा सुत्केरी हुँदै बच्छीमायाको जीवन मातृत्व र संघर्षको कहालीलाग्दो यात्रा बनेर आयो । अहिले उहाँ इलाम नगरपालिका–६ मा कान्छो छोराको घरमा बस्दै आउनुभएको छ ।
बच्छीमायाकै अनुसार घाँस काट्न जाँदाजाँदै, दाउरा बोक्दै गर्दा पनि सन्तान जन्मिन्थे । त्यतिबेलाको गाउँ–घरमा उपचारको पहुँच नहुँदा उहाँ कहिल्यै डाक्टरकहाँ जाँचिनुभएन । उहाँ भन्छिन्, “कोख त एक दिन पनि खाली भएन । एउटा जन्मेपछि अर्को आउँथ्यो । पीडा सहेरै सबै सम्भाल्नुपर्थ्यो ।”
चिकित्सकीय रूपमा ४७ वर्षसम्म गर्भवती हुनु सम्भव छ कि भन्ने प्रश्नमा स्त्रीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले जुम्ल्याहा, तिम्ल्याहा बच्चासहित लगातार सन्तान जन्माउन सकिने बताउनुभएको छ । उहाँले अफ्रिकाकी मरियम नबातान्जीले ३८ सन्तान जन्माएको उदाहरण दिँदै बच्छीमायाको घटना पनि सम्भव रहेको बताउनुभयो ।
बच्छीमाया र उनका ९३ वर्षीय पति धनप्रसाद केही वर्ष झापामा बसे पनि गर्मी बढेपछि फेरि इलाम फर्किएका हुन् । धनप्रसाद गाउँका काम–काज, झगडा मिलाउन, घोडा लिएर हिँडडुल गर्न व्यस्त हुन्थे । त्यसैले बच्छीमायालाई घर, खेत, घाँसदाउरा, र २८ सन्तानको सम्भार एक्लैले गर्नुपर्थ्यो । उहाँका १४ सन्तान बाल्यकालमै विभिन्न रोगका कारण बिते । तीन महिनाअघि मात्र काँइली छोरी पनि गुमाएकी छिन् ।
स्वास्थ्य समस्याले ग्रस्त हुँदा पनि बच्छीमाया अहिले पनि हिँडडुल गर्न सक्नुहुन्छ । विदेश हेर्ने ठूलो चाहना भए पनि उच्च रक्तचाप, मधुमेह र घाँटीको समस्याका कारण छोराछोरीले बोलाउँदा पनि पोर्चुगल जान नसकेको उहाँको पीडा छ । उहाँ भन्छिन्, “पहिला सन्तान र घरधन्दा मै दिन बित्यो । अहिले उमेर र रोगले रमाउन पनि दिएन । एक पल्ट विदेश देख्न पाए हुन्थ्यो तर जानै सकिएन ।”
साहित्यकार डा. देवी क्षेत्री दुलालले बच्छीमायाको सन्तान संख्या आजको सन्दर्भमा अचम्म लागे पनि त्यतिबेलाको सामाजिक मनोविज्ञान बुझ्नुपर्ने बताउनुभएको छ । उहाँका अनुसार “त्यस समय धेरै सन्तान ईश्वरको वरदान मानिने संस्कृति थियो । पाँचथरका गाउँ–घरमा यस्ता घटना दुर्लभ थिएनन् ।”
याे समाचार गाेरखापत्रकाे लागी कोकिला ढकाल/सरोज ढुङ्गेलले लेखेका हुन ।
सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित




