पाँचथर– ताप्लेजुङको ओलाङचुङगोलमा गाडी पुगेको छ । बर्खामा बिग्रिएको सडक मर्मत गरेपछि ट्याक्टर र मोटरसाईकल गोला पुगेका छन् । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफा गरेर दुई वटा मोटरसाइकल र ट्याक्टर पुगेका छन् । वर्षाका कारण अवरुद्ध फुङलिङ ओलाङचुङगोला टिपताला भन्ज्याङ सडक अन्तर्गतको सुकेपानीदेखि ओलाङचुङगोलासम्मको सडक मर्मतपछि यातायातका साधन ओलाङचुङगोलाको बस्तीसम्म पुगेका छन् ।
लामाका अनुसार सुकेपानी र जोङिगनमा रहेको तमोर नदीमा पानीको बहाव बढी भएकाले जिप तार्न समस्या रहेको स्थानीयले बताएका छन् ।
‘एक हप्तादेखि १५ दिनसम्ममा पानीको बहाव घट्न सक्ने र त्यसपछि ह्युम पाइप राखेर साना सवारी पनि पुग्नेगरी बनाउने तयारी गरिरहेका छौं,’ लामाले भने, ‘हामीसँग गतवर्षकै ह्युम पाइप छ सडक कार्यालयले राखिदिने काम मात्रै गर्नुपर्ने छ ।’




