पाँचथर । फिदिम खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि मतदान जारीे छ । बिहिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हाे । उपभोक्ता समितिमा २ हजार ५ सय ११ जना मतदाता रहेका छन् । बेलुका ४ बजेसम्म मतदान जारी रहने र राति ८ बजेपछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
१५ बर्षसम्म अधिवेशन नहुँदा चिन्ता व्यक्त समेत नगर्नेहरु अहिले कस्ले जित्ला भनेर अनुमान गर्दै गरेको सुन्न पाईन्छ । अन्ततः उपभोक्ता समितिको अधिवेशन पनि राजनीतिक रुपमा प्रतिस्पर्धामा देखिएको छ । तर यो पल्ट उपभोक्ता समितिको निर्वाचन राजनीतिक रुपमा रोचक देखिन्छ । बद्लिएको राष्ट्रिय राजनीति भन्दा फरक रहेर चुनावी गठबन्धन बनेको छ । फिदिममा नेकपा (एमाले)लाई नेकपा (माओवादी) केन्द्र, राप्रपा र एकिकृत समाजवादि पार्टि (एस)को साथ छ भने कांग्रेस एक्लै चुनावी मैदानमा छ ।
जिल्लाका राजनीतिक दलहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने बन्दै केहि दिन गरेको प्रयास सफल नभएपछि निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो । २०६२/६३ जनआन्दोलन पछि सर्वदलिय प्रतिनिधित्वका आधारमा उपभोक्ता समितिको अधिवेशन भएको थियो । लामो समय पछि भएको अधिवेशनबाट नेतृत्व चुनावबाट चयन हुन लागेको हो ।
नेपाली कांग्रेसले अध्यक्षमा प्रकास गुरुङलाई उठाएको छ । उनी फिदिम-४ का निर्वतमान वार्डाध्यक्ष हुन् । संयुक्त प्यानलले एमालेबाट सुर्यकुमार मगरलाई उम्मेद्वार बनाएको छ । उनी बन पैदावार संघ पाँचथरका पूर्व अध्यक्ष हुन् । संयुक्त प्यानको उपाध्यक्ष राप्रपा, सचिव एमाले, सहसचिव नेकपा (एस) र कोषाध्यक्षमा माओवादीका उम्मेद्वार छन् । गुरुङको टिममा उपाध्यक्षमा रामचन्द्र नेपाल, सचिव कमल बाँस्कोटा, सह-सचिव डने शेर्पा, कोषाध्यक्ष दिपक बाँस्कोटा उम्मेद्वार रहेका छन् । मगरको टिममा उपाध्यक्ष निमल गिरि, सचिव देविप्रसाद अधिकारी, सह-सचिव भोलानाथ मिश्र र कोषध्यक्ष सागर ओझा उम्मेद्वार रहेका छन् ।
अध्यक्षमा गुरुङ र मगर सहित चारजना प्रतिस्पर्धामा रहेका छन् । महेन्द्र नेम्बाङ नेतृत्वमा स्वतन्त्र टिम बनाइएको छ । यो टिममा उपाध्यक्ष होमप्रसाद श्रेष्ठ, सचिव दिपेन्द्र तुम्बापो (दिलिप), सहसचिव सुरेन्द्र कुमार सुवेदी र कोषाध्यक्ष दिलेन्द्र कुमार सुब्बा उम्मेद्वार रहेका छन् । यस्तै अध्यक्ष पदमा गणेश थेबे रहेका छन् ।