सुनसरी । गैरआवासीय नेपाली संघले प्रदेश नम्बर १मा मोबाइल ब्लड बैंक बस सहयोग गर्ने भएको छ । बिरामीहरुलाई ब्लड उपलब्ध गराउन मानवीय सेवाका लागि मोबाइल ब्लड बैंक बस सहयोग गर्न लागेको एनआरएनए प्रदेश १ मोबाइल बस परियोजनाका संयोजक दिपक गौतमले बताए ।
गौतम एनआरएनए क्यानाडाका अध्यक्ष हुन् । मोबाइल ब्लड बसकालागि करिब ७० लाख रकम संकलन गर्ने योजना सहित काम भइरहेको गौतमले बताए । हालसम्म करिब ४ लाख रकम संकलन भइसकको र १० लाखभन्दा बढी सहयोगको प्रतिवद्धता आएको छ । मोबाइल ब्लड बैंक बस सेवा सञ्चालनका लागि गठन भएको समितिलाई संयोजक गौतमले पूर्णता दिएका छन् ।
अंग्रेजी क्यालेन्डर अनुसार यही मार्च ५ अर्थात फागुन २१ गते भित्र सम्पूर्ण रकम संकलन गर्ने तयारीका साथ समितिलाई पूर्णता दिइएको संयोजक गौतमले जानकारी दिए । यो परियोजनालाई गैरआवासीय नेपाली संघ क्यानडाले स्वामित्व लिएको छ।
गैरआवासीय नेपाली संघ क्यानडाले कार्यसमिति सदस्य बाबुराम बानियाँलाई क्यानडाका लागि फन्डरेजिङ समितिको संयोजकमा चयन गरिएको छ भने सन्तोष दाहाललाई क्यानडाको सदस्य सचिवका रुपमा चयन गरेको छ । गौतमको संयोजक्तवमा रहेको समितिमा माधव दुलाल सदस्य सचिव (क्यानडा) हुन्।
समितिमा इजरायलको इन्टरनेसनल झापा समाजका अध्यक्ष दिपक प्रसाद ओली, एनआरएनए युरोपका डिआरसी ललित न्यौपाने, एनआरएनए आइसिसि सदस्य आयरल्यान्डका जंघ अधिकारी, एनसिसी हङकङका उपाध्यक्ष अनु राई, एनसिसी अष्ट्रेलियाका उपाध्यक्ष हरी खड्का, एनसिसी बेल्जियमका कोषाध्यक्ष लोकेन्द्र नेपाल, अमेरिकाका बेद बस्नेत, क्यनडाका निधी रत्न घिमिरे, कतारका विनोद भट्टराई, अमेरिकाका दुर्गेश जंग कार्की, अश्विनीकुमार नेपाल (अमेरिका), तेन्जिङ भुटिया (क्यानडा), हेमराज पाण्डे (क्यानडा), लिला पाण्डे (क्यानडा), प्रतिक सुब्बा (डेनमार्क), दिलिपकुमार पोखरेल (अष्ट्रेलिया) र प्रवीण ढकाल सदस्य रहेका छन् । यसैगरी समितिको सल्लाहकारमा गौरी जोशी (अमेरिका), फणिन्द्र पन्त (नेदरल्यान्ड), बुद्धी सुवेदी (अमेरिका), हिकमत थापा (नाइजेरिया) र सिएम उप्रेती (क्यानडा) छन् ।