जौबारी (इलाम) – इलामको जौवारीलाई कहिले कुहिरोले छोप्थ्यो त कहिले छ्याङ्गै उग्रिन्थ्यो । भारतसँग सिमाना जोडिएको यो क्षेत्रमा सुस्मा प्रधान ३१ औँ दिन वृक्षारोपणका लागि खाल्डो खनिरहेकी थिईन । इलामको सन्दकपुर गाँउपालीकाको जौवारी भन्ने ठाँउमा एकमहिना यता निरन्तर वृक्षरोपणमा सहभागि प्रधानले रोजगारीमात्र पाएकी छैनन्, आगामि १०÷१२ बर्षमा यो ठाँउको प्रख्याती बढ्ने अपेक्षा उनले राखेकी छन् ।
उनले विरुवा रोपेबापत दैनिक ५ सय ७० रुपैँया पाउछिन् । उनीजस्तै वृक्षारोपणमा एकमहिना यता खटिनेको संख्या १५ जनाको रहेको छ । नजिकै भारतमा पर्ने सिंहलिला नेशनल पार्कसँग नेपालको जमुना, टोड्के, डोबाटेजस्ता क्षेत्रलाई जैविक मार्गको रुपमा जोड्नका लागि भन्दै यहाँ केहि बर्ष यतादेखि वृक्षारोपणको काम गरिदै छ । यो जैविकमार्ग रेडपाण्डा सहितका बन्यजन्तूका लागि महत्पूर्ण रहेको संरक्षणकर्मी बताउाछन् ।
चरिचरन हुने यहाँका उजाड डाँडालाई रेडपाण्डा नेटवर्कले किनेको छ । समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम अन्तगर्त यहाँको ६ सय रोपनी नीजि जग्गा किनेर जिल्ला बन कार्यालय इलामको नाममा पास गरेर वृक्षा रोपण तथा संरक्षणको काम अघि बढाईएको हो । विभिन्न चरणमा गरि जग्गा खरिद गर्दा दुइ करोड जति लगानी भईसकेको बताइएको छ । विरुवा रोप्न स्थानीयले रोजगारी पाएका छन् भने संरक्षणकर्मी एक महिना देखि सोहि क्षेत्रमा खटिएका छन् ।
छिमेकी देश भारतमा रहेको सिंहलिला नेशनल पार्कका कारण घना जंगल छ । तर नेपालतर्फ उजाड देखिन्छ । चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाँउमा यो साल ५५ हजार ९ सय विरुवा रोप्नका लागि काम धमाधम भईरहेको छ । विगतका बर्षहरुमा २३ हजार विरुवा रोपिएको जानकारी दिइएको छ । बन्यजन्तु दुईदेश आवतजावत गर्न सक्ने भएपनि बिचमा बन क्षेत्र थिएन । यसलाई ‘अन्तराष्ट्रिय स्तरको जैविक मार्ग’ रुपमा विकास गर्न खोजीएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम टासि लामाले जानकारी दिए ।
करिब दुई सय बर्ष अगाडीदेखिनै यो क्षेत्र उजाड भएको अनुमान गरिन्छ । करिब दुई सय बर्ष अगाडी यो क्षेत्र पुगेका जोसेफ डाल्टन हुकरले यो क्षेत्रमा खर्क रहेको र जमिन उजाड भएको भनेर लेखेका छन् ।
डाँडालाई जंगलमा फर्काउनका लागि प्रयास भईरहेको छ । यहाँ भालुचिण्डे, टेगा, मालिङ्गो, गुराँस, चिमाल लगायतका विरुवा रोप्ने काम भएको जानकारी दिइएको छ ।
लेकाली क्षेत्रमा मौसमको भर हुदैन । कहिले कुहिरोमा त कहिले छ्याङ्ग उग्रिएको समयमा डाँडालाई हरियाली बनाउन ठुलो जनशक्ति खटिएको छ । वृक्षारोपण, प्लाष्टिक पोखरी र जग्गालाई धेराबारा लगाउने काम भईरहेको छ । ‘डाँडालाई जंगल बनाउनका लागि काम गरिरहेका छौँ । पक्कै पनि यो क्षेत्र महत्पूर्ण बन्छ भन्ने आश छ’ स्थानीय पेमा प्रधानले भनिन् ‘यो साल पोहोर उदो भन्दा धेरै विरुवा रोप्ने काम भयो । जंगल भएपछि पानीको सुविधा हुने आश छ ।’
नजिकै टोड्के, जमुना, डोबाटे क्षेत्रमा रहेका जंगलहरु रेडपाण्डाका लागि महत्पूर्ण छ । रेडपाण्डाको प्राकृतिक बासस्थान रहेको नेपाल र भारतका क्षेत्रलाई जैविक मार्गले जोड्ने बताइएका छ ।
यो क्षेत्रमा २०७२ सालदेखि विरुवा रोप्नेकाम सुरु गरीएको लामाले बताए । उनका अनुसार जग्गा किन्नेकाम भने २०७६ सालदेखि सुरु भएको हो । यस अघि हिले सामुदायिक बनमा रोपिएको विरुवा सप्रिएर आएको देखिन्छ । किनिएको जग्गापनि सोहि सामुदायिक बनमा मिसाउने तयारी भएको छ । यहाँ १० वटा प्लाष्टिक पोखरी पनि बनाइएको छ । २० हजार लिटरको प्लाष्टिक पोखरीमा पानी जम्मा गरेर विरुवालाई सिचाई गर्ने तयारी भएको छ ।
‘विगतमा रोपिएको विरुवाले सामुदायिक बन क्षेत्रमा निक्कै राम्रो भएको छ । रेडपाण्डा लगायतका बन्यजन्तु संरक्षणमा टेवा पुग्ने आश छ’ सामुदायिक बनका अध्यक्ष सोनाम लामाले भने ‘दश बर्षमा जंगल बढ्ने आशा छ । यो क्षेत्र पर्यटकिय क्षेत्र हो । नजिकै सन्दकपुर, तुम्लीङ, आहाल, डाबाटे जस्ता पर्यटकिय क्षेत्र छन् । जौबारीमा बर्षेनी विदेशी पर्यटक आउछन् । उनीहरुलाई जगलमा रेडपाण्डा देखाउने रहर छ ।’
लामाका अनुसार नजिकै आलु विकास केन्द्रको ८ हजार ४ सय २५ रोपनी जग्गा रहेको छ । कृषि अनुसन्धान परिषदको नाममा रहेको उक्त जग्गाको केहिसय रोपनीमामात्र आलु रोप्ने काम हुने गरेको लामाले सुनाए । ‘खाली रहेको त्यो जग्गामा वृक्षारोपण गर्न पाए हुन्थ्यो’ उनले थपे ।
पाँचथर, इलाम र ताप्लेजुङमा केहि बर्ष यता समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालित रहेको छ । पिआईटि (पाँचथर–इलाम–ताप्लेजुङ) कोरीडर बनाएर समुदायमा सचेतना जगाउने, आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, अनुसन्धान गर्ने कामहरु भईरहेको छ । यहि अन्तर्गत रहेर जग्गा किनेर वृक्षा रोपणको काम भईरहेको छ ।
इलामका चार, पाँचथरका तीन र ताप्लेजुङका सात स्थानीय तहमा रेडपाण्डाको प्राकृतिक बासस्थान रहेको पिआईटी कोरीडरका कार्यक्रम संयोजक वाङ्चु भुटियाले जानकारी दिए । संरक्षण कार्यक्रमा लागि यो बर्षका लागि पाँचथरमा ५८ लाख, इलाममा ९१ लाख र ताप्लेजुमा ४८ लाख बजेट रहेको जानकारी दिइएको छ ।
१ नम्बर प्रदेश सरकारले यो बर्षको बजेटमा तीन जिल्लामा रेण्डपण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।