पाँचथर । पाँचथरको नाम्लोवामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार राति सँवा ९ बजे पाँचथर फालेलुङ गाउँपालिका ३ नाम्लोवास्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
स्थानीय पञ्चमुखीदेखि थोक्लेवुङतर्फ जाँदै गरेको प्र १-०२-००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भई सडकदेखि करिब १० फिट तल झरेको थियो । दुर्घट्नामा परी ट्याक्टर चालक सोही स्थान बस्ने २२ वर्षीय सुरेश साँवाको मृत्यु भएको हो ।
उनलाई आफैँले चलाएको ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, हिजो बेलुका साढे ७ बजे इलाम सूर्योदय नगरपालिका ७ सुकेपोखरीस्थित मेची राजमार्गमा झापाबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । सो दुर्घटनाबाट स्कारपियो गाडीमा सवार घाइते भएका ६ जनामध्ये झापा बिर्तामोड ३ का ५७ वर्षीय ईश्वरीप्रसाद खरेलको मृत्यु भएको थियो ।
गाडी चालक झापा बिर्तामोड ५ का ५० वर्षीय गणेश पराजुली, बिर्तामोड ४ का ४५ वर्षीय एकराज बिष्ट, बिर्तामोड ४ का ४५ वर्षीय डिल्ली बस्नेत, बिर्तामोड ३ का ४७ वर्षीय तसबहादुर प्रधान र बिर्तामोड ४ का ५३ वर्षीय सन्तोष श्रेष्ठको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।