पाँचथर । फिदिम नगरपालिका–४, जोरसालस्थित मेची राजमार्गमा अवैध रूपमा मदिरा ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले एक जनालाई अवैध मदिरा सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले आज बुधबार बिहान काठमाडौँबाट ताप्लेजुङतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५६१९ नम्बरको बसलाई चेकजाँच गर्दा बसभित्र लुकाई–छिपाई राखिएको ठूलो परिमाणको मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारि रामचन्द्र यादबले जनाए ।
प्रहरीका अनुसार बरामद मदिराका धनी पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका–२ निवासी ३६ वर्षीय शंकर प्रसाई रहेको खुल्न आएको छ। उनलाई अवैध मदिरा सहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
चेकजाँचका क्रममा Sikkime Kanchan नामको मदिरा १८ कार्टुन (२१६ बोतल), TIGER XXX नामको मदिरा ३३ कार्टुन (३९६ बोतल) तथा Sikkime Golden Brandy ४ कार्टुन (४८ बोतल) गरी जम्मा ५५ कार्टुन अर्थात् ६६० बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति तथा बरामद मदिरालाई आवश्यक कानुनी कारबाहीका लागि आजै आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापामा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले अवैध मदिराको ओसारपसार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ।




