विराटनगर । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको २७ निर्वाचन क्षेत्र र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभाका ३ उम्मेदवारका लागि कांग्रेसले कोशी प्रदेशबाट ४५४ जनाको नाम सिफारिस गरेको छ ।
२८ वटा निर्वाचन क्षेत्र रहेको यस प्रदेशबाट खोटाङबाहेक सबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी ठुलो संख्यामा आकाङ्क्षीहरूको नाम केन्द्रमा सिफारिस गरिएको हो । कांग्रेस कोशी प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइरालाका अनुसार प्रदेश समितिले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका लागि गरी जम्मा ४५४ जना उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको हो ।
निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले प्रदेशका सबैजसो जिल्लाहरूबाट आएका नामावलीलाई एकीकृत गरी केन्द्रमा पठाएको हो । जसमा राष्ट्रिय सभातर्फ १३१ जना र प्रतिनिधिसभातर्फ ३२३ जना आकाङ्क्षीहरूको नाम समावेश गरिएको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि आउँदो माघ ११ गते चुनावको मिति तोकिएको छ । मनोनीत सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि हुने निर्वाचनका क्रममा कोशी प्रदेशका लागि ३ जनाको मात्रै निर्वाचित हुनेछ । पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, तीन जना राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले भने अन्य विधाका लागि ८७ जना, महिलातर्फ २८ जना र दलिततर्फ १६ जना गरी कुल १३१ जनाको नाम सिफारिसमा गरेको हो ।
यस्तै प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी प्रदेशको खोटाङ निर्वाचन क्षेत्रबाहेक २७ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ११५ जना सिफारिसमा परेका छन् । यस्तै खोटाङ र तेह्रथुमको निर्वाचन क्षेत्र बाहेकबाट समानुपातिकतर्फ २०८ जनाको नाम सिफारिस गरिएको छ ।
झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस भएको छ । शर्माको क्षेत्रबाट समानुपातिकतर्फ भने ६ जनाको नाम पठाइएको छ । झापाका अन्य क्षेत्रहरूको हकमा क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १०, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा ८ र समानुपातिकमा १०, क्षेत्र नं. ४ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा ५ तथा क्षेत्र नं. ५ बाट प्रत्यक्षमा ७ र समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ ।
यसैगरी मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरूबाट पनि उम्मेदवारहरूको बाक्लो सूची तयार पारिएको छ । मोरङ क्षेत्र नं. १ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ६, क्षेत्र नं. ४ बाट प्रत्यक्षमा ५ र समानुपातिकमा १०, क्षेत्र नं. ५ बाट प्रत्यक्षमा ४ र समानुपातिकमा ७ र क्षेत्र नं. ६ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ७ जनाको नाम सिफारिस गरिएको मुख्य सचिव कोइरालाले जानकारी दिए ।
सुनसरी जिल्लाका चारवटा क्षेत्रहरूबाट पनि उल्लेख्य संख्यामा आकांक्षीहरू देखिएका छन् । सुनसरी क्षेत्र नं. १ बाट प्रत्यक्षमा ६ र समानुपातिकमा १५, क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १५, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा २ र समानुपातिकमा २० र क्षेत्र नं. ४ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ९ जनाको नाम सिफारिसमा परेको छ ।
पहाडी र हिमाली जिल्लाहरूबाट पनि आकाङ्क्षीहरूको सूची केन्द्रमा पुगिसकेको छ । इलाम क्षेत्र नं. १ बाट प्रत्यक्षमा ६ र समानुपातिकमा ४ तथा क्षेत्र नं. २ बाट प्रत्यक्षमा ५ र समानुपातिकमा ७ जनाको नाम पठाइएको छ । उदयपुर क्षेत्र नं. १ र २ दुवैबाट प्रत्यक्षमा ३–३ जना र समानुपातिकमा २–२ जनाको नाम सिफारिस भएको छ । संखुवासभाबाट प्रत्यक्षमा ९ र समानुपातिकमा १२, पाँचथरबाट प्रत्यक्षमा ७ र समानुपातिकमा ९, ताप्लेजुङबाट प्रत्यक्षमा २ र समानुपातिकमा ४, ओखलढुंगाबाट प्रत्यक्षमा ६ र समानुपातिकमा ३, धनकुटाबाट प्रत्यक्षमा ४ र समानुपातिकमा १२, भोजपुरबाट प्रत्यक्षमा ६ र समानुपातिकमा ८ तथा सोलुखुम्बुबाट प्रत्यक्षमा १२ र समानुपातिकमा ८ जनाको नाम सिफारिस गरिएको छ ।
तर, खोटाङ र तेह्रथुम जिल्लामा भने सिफारिस प्रक्रियामा केही प्राविधिक र आन्तरिक समस्याहरू देखिएका छन् । खोटाङ जिल्ला कार्यसमिति सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि पार्टी सदस्य समेत नहुने गरी निष्कासन गरिएको थियो । त्यसपछि उक्त जिल्लामा कसैलाई कार्यबहाक सभापतिको जिम्मेवारी नदिँदा कसको अध्यक्षतामा बैठक बस्ने भन्ने अन्यौलका कारण उम्मेदवार सिफारिस हुन नसकेको हो ।
नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै उनलाई गएको असारमा बसेको अनुशासन समितिको बैठकले कारबाही गरेको थियो ।
‘सभापति कारबाहीमा रहेको र केन्द्रले कार्यवाहक सभापति नतोकेका कारण त्यहाँको जिल्ला कार्यसमिति बैठक बस्न नसक्दा कुनै पनि नाम सिफारिस हुन नसकेको हो,’ मुख्य सचिव कोइरालाले भने ।
उता तेह्रथुम जिल्लाले भने राष्ट्रिय सभाका लागि मात्र नाम सिफारिस गरेर प्रतिनिधिसभाका लागि नाम पठाएको थिएन । जिल्लाबाट नाम नआएपछि प्रदेश कार्यसमिति आफैँले २०७९ को निर्वाचनमा निर्वाचित सीता गुरुङको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरी केन्द्रमा पठाएको छ ।
आगामी निर्वाचनमा आफ्नो वर्चस्व कायम राख्न कांग्रेसले युवा र पुराना दुवै पुस्तालाई समेट्ने गरी सन्तुलित सिफारिस गरेको दाबी प्रदेश कार्यालयले गरेको छ । मुख्य सचिव कोइरालाले यो सिफारिस प्रक्रियाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाएको र निर्वाचनको तयारीमा पार्टी पूर्ण रूपमा होमिएको बताए ।




