पाँचथर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्कीलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ।
सुनसरीको रामधुनी नगरपालिका–२ मा सिटी सफारी चालक ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरिएको घटनामा मुख्य योजनाकार नन्दकिशोर साहसहित ७ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जटिल र संवेदनशील उक्त हत्या काण्डको सफल अनुसन्धान र अपराधी पहिचानमा उनको सक्रियताका कारण उनलाई सर्वोत्कृष्ट प्रहरीका रूपमा चयन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रमाण संकलन, अभियुक्त पहिचान तथा समन्वयात्मक कार्यमा कार्कीले प्रभावकारी नेतृत्व देखाएका थिए। उनको भूमिकाले अपराध नियन्त्रण र कानुनी शासन सुदृढीकरणमा उल्लेखनीय योगदान पुगेको प्रहरीको भनाइ छ।
यसै अवसरमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार टिका राम निरौलालाई पनि मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ।
प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की यसअघि जिल्ला प्रहरी कार्यालय पाँचथरमा लेखापालको रूपमा कार्यरत थिए।




