पाँचथर । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट पाँचथरका तीन जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महाधिवेशनको निर्वाचन परिणामअनुसार अइन्द्रसुन्दर नेम्बाङ, आशारत्न जबेगू र भूमिका लिम्बू सुब्बा केन्द्रीय सदस्य पदमा विजयी भएका हुन् ।
आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवारी दिएका अइन्द्रसुन्दर नेम्बाङ १६९९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेम्बाङ यसअघि पनि एमाले केन्द्रीय सदस्य रहिसकेका अनुभवी नेता हुन् । उनी संविधानसभा सदस्यसमेत भइसकेका छन् ।
आदिवासी जनजाति महिला क्लस्टरबाट उम्मेदवारी दिएकी आशारत्न जबेगू १६०५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कोशी प्रदेशकी पूर्वसांसद् रहेकी जबेगूले सांसद रहँदा कानुन निर्माणमा खेलेको भूमिका उल्लेखनीय मानिन्छ ।
यसैगरी, भूमिका लिम्बू सुब्बा १८९८ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघकी अध्यक्ष तथा जनवादी कलाकारका रूपमा परिचित छन् । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय सुब्बा पाँचथरबाट सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार बनेकी छन् ।
पाँचथरबाट तीनै जना उम्मेदवार एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्लामा खुसीयाली छाएको छ । स्थानीय नेता–कार्यकर्ताहरूले यसलाई पाँचथरको राजनीतिक उपस्थिति र प्रभाव केन्द्रीय तहमा थप सुदृढ भएको संकेतका रूपमा लिएका छन् ।
बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित




