पाँचथर। नेपाली कांग्रेसले तीन पटक जारी गरेको केन्द्रीय परिपत्र कार्यान्वयन गर्न पाँचथर कांग्रेस असफल भएको छ । पार्टी विधानअनुसार प्रत्यक्षतर्फ एक महिलासहित तीन जनाको नाम मात्र सिफारिस गर्नुपर्ने निर्देशन हुँदाहुँदै जिल्ला सभापति रुपनारायण जवेगूले आफ्नै नाम तेस्रो नम्बरमा राखेर आठ जनाको नाम सिफारिस गरेका छन् ।
यसले केन्द्र–जिल्ला विवाद र पार्टी अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।नेपाली कांग्रेसले पहिलो परिपत्र २०८२ मंसिर १५ गते जारी गर्दै सबै जिल्ला, प्रदेश र क्षेत्रीय समितिका सभापतिहरूलाई प्रत्यक्षतर्फ योग्यता पुगेका व्यक्तिहरूमध्ये एक महिला सहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।
तर पाँचथर कांग्रेसले दोस्रो परिपत्र मंसिर १७ गते र तेस्रो परिपत्र मंसिर २५ गते समेत बेवास्ता गर्दै आफ्नो निर्णय अघि बढाएको छ। यस क्रममा सभापति जवेगूको निर्णय अन्तर्गत आठ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको हो।प्रत्यक्षतर्फ सिफारिस हुने सूचीमा केन्द्रीय सह–महामन्त्री भिष्मराज आङदेम्बे, निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, वर्तमान सभापति रुपनारायण जवेगू, तुम्बेवा गाउँपालिकाका पूर्व अध्यक्ष होम थापा, महाधिवेशन प्रतिनिधि कौशिला गुरुङ, पूर्व उपसभापति जयप्रसाद रिजाल, युवा नेता धर्मेन्द्र नेम्बाङ र सूर्य नेम्वाङ समावेश छन्।
यस्तै, राष्ट्रिय सभाका लागि चन्द्रकुमार आङदेम्बे, निरबहादुर धमला (विमल), सुरेन्द्रकुमार तिम्सिना र सुरेन्द्रकुमार दाहाल तथा प्रतिनिधिसभा समानुपातिकतर्फ शान्ता बाँस्कोटा, जनिमाया थापा मगर, तेजमाया सुहाङ, मधु जवेगू, गंगामाया थेगिम, देवीप्रसाद काफ्ले, विमला सुब्बा र डी.बी. गुरुङको नाम सिफारिस गरिएको छ।
पार्टी केन्द्रले मंसिर २५ गते जारी गरेको परिपत्रमा अनिवार्य रूपमा कार्यान्वयन नगरे सिफारिस दर्ता नहुने चेतावनी दिएको थियो। तर पाँचथर कांग्रेसले सबै तीन परिपत्रलाई बेवास्ता गर्दै आफ्नै सूची कायम राखेको पठाएकाे हाे । जिल्ला पदाधिकारीहरूले भनेका छन् कि मंसिर २२ गते आकांक्षी धेरै भएका कारण सहमति जुटाउन नसकिएको र निर्णय मिलाएर पठाउने जिम्मा सभापतिले लिएका थियो। तर सूची लामो समयसम्म गोप्य राखिएको र मिडियालाई जानकारी नदिएको हुँदा पार्टीभित्र आलोचना र शंका बढेको छ।
कार्यालय सचिव कर्ण माङलाकले केन्जोखबर सँग भने सिफारिसबारे जानकारीका लागि सभापतिसँगै कुरा गर्न निर्देशन आएको छ उहाँ सँगनै कुरा गर्नु होला । केन्जो खबरले सभापतिसँ सम्पर्क गर्दा सह महामन्त्री सहित प्रत्यक्षमा आठ जना नाम पठाएको सभापति रुप नारायण जवेगुले बताए ।
एक जना जिल्ला पदाधिकारीले नाम नखुलाउने सर्तमा भने,“सभापतिले आफ्नै अयोग्यता छिपाउन र पार्टी अनुशासन कमजोर देखाउन सिफारिस गोप्य राखेका हुन्।” तीनवटा परिपत्रको बेवास्ताले स्पष्ट हुन्छ कि पाँचथर कांग्रेसमा नेतृत्व असफलता र निर्णय प्रक्रियामा मनपरी छ। केन्द्रीय निर्देशन र जिल्ला निर्णयबीचको टकरावले पार्टीभित्र अनुशासनको कमजोरी उजागर गरेको छ।
जिल्लाका काँग्रेस कार्यकक्ताहरुका अनुसार यस्तो घटनाले पार्टीको समानुपातिक र प्रत्यक्ष निर्वाचन तयारीमा असर पार्ने खतरा रहन्छ। यस प्रकरणले सभापति–केन्द्र टकराव मात्र होइन, जिल्ला कार्यसमितिका पदाधिकारीको निष्क्रियता र पारदर्शिताको कमी पनि देखाएको छ।






