पाँचथर । पाँचथरमा भएको बम विस्फोट घटनासँग जोडिएको मुद्दामा पक्राउ परेपछि श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा निलम्बनमा परेका छन्। पार्टी अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अनुसन्धान नटुंगिएसम्मका लागि लामालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका हुन्।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा राज्यको अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्दोष सावित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको स्पष्ट पारे। उनले भने, “गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ। राज्यले गर्ने अनुसन्धानमा हाम्रो तर्फबाट कुनै पनि दबाब वा प्रभाव पर्दैन।”
उनका अनुसार राज्यले निष्पक्ष छानबिन गर्नुपर्ने र दोषी ठहरिए कानुनअनुसार कारबाही तथा निर्दोष प्रमाणित भए अनावश्यक दुःख दिन नपाइने पार्टीको धारणा रहेको छ। उनले श्रम संस्कृति पार्टी अन्य दलझैँ विभिन्न काण्डमा जोडिएर पनि पदमा बसिरहने संस्कृतिबाट अलग रहेको दाबी गरे।
देवराज लामा, विश्वक्रान्ति कुमार नामले पनि चिनिने,लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरेको हो। उनी विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा आबद्ध रहँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोगमा मुछिएका छन्।
यसअघि १५ फागुन २०६८ मा काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु र सात जना घाइते भएका थिए। सोही घटनामा पक्राउ परेर जेल चलान भएका लामा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीपछि रिहा भएका थिए।
प्रहरीका अनुसार पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा समेत उनी संलग्न रहेको आरोप छ। विस्फोटक पदार्थसम्बन्धी उक्त मुद्दामा लामो समयदेखि फरार रहेका लामालाई पक्राउ गरी थप अनुसन्धानका लागि मंगलबार नै पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





