बिराटनगर । संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चौध पुगेको छ ।
प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईंले अधिकांशको घटनास्थलमै मृत्यु भएको,जसमा दुई बर्षका बालक पनि रहेको जानकारी दिएका छन् ।
घटनामा परी पाँचजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धरान पठाइएको छ । प्रवक्ता राईले भने, “घटनास्थलमा घाइतेहरूको उद्धारमा स्थानीय र नेपाल प्रहरीको टोली परिचालन भएको छ ।”
मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस साढे ५ बजेतिर मादी नगरपालिका–६ स्थित सातघुम्तीमा दुर्घटना परेको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान तथा मृतक र घाइतेको सनाखत क्रम जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।