काँकडभिट्टा — कोभिड संक्रमणले नेपाली चिया उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको व्यवसायीले बताएका छन् । कोभिडका कारण किसानले समयमै हरियो चियाको पात टिप्न र काट्न नपाएपछि उत्पादन र गुणस्तरमा बाधा पुगेको उनीहरूको भनाइ छ ।
‘कोभिडले अन्य क्षेत्रमा झैं चिया उद्योगमा पनि प्रत्यक्ष प्रभाव पारेको छ,’ चिया उद्यमी उदय चापागाईंले भने, ‘चिया उद्योग त कोमामै छ भन्दा पनि हुन्छ ।’ सीमित कामदारबाट कम क्षमतामा कारखाना चलाउनुपर्दा उत्पादन लागतसमेत बढेको इलामको गोर्खा टी इस्टेटका सञ्चालकसमेत रहेका चापागाईंले बताए ।
दुःखका साथ चिया उत्पादनपछि जब निर्यात सुरु भयो, तब अचानक भारतीय अवरोध सुरु भयो । अवरोधका कारण नेपाली भन्सार यार्डमा करिब तीन साताका लागि गैरशुल्क अवरोध भएको उनको भनाइ छ । अहिले पनि चियामाथिको अप्रत्यक्ष भारतीय अवरोध जारी नै छ । भारतीय चिया बोर्डको परमिटका आधारमा मात्रै नेपाली चियाले निकासी इजाजत पाउने गरेको छ । अनावश्यक नमुना जाँचको सास्ती पनि कायमै रहेको चापागाईंले बताए ।
नेपाली चियाको करिब ८० प्रतिशत हिस्सा भारतीय बजार पुग्छ । २० प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुन्छ । ‘हाम्रो चियाको प्रमुख बजार साझेदारका रूपमा रहेको भारतले समय–समयमा गर्ने अवरोधहरूले चिया क्षेत्रमा ठूलो प्रभाव असर हुने गरेको छ,’ नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराईले भने, ‘भारतसँगको समस्या समाधान गर्ने उपायको खोजीमा हामी लागिरहेका छौं ।’
नेपाली अर्थोडक्स चिया तेस्रो मुलुक पनि निकासी हुँदै आएको छ । खासगरी इलाममा उत्पादित सीमित उद्योगले अर्थोडक्स चिया युरोपलगायत मुलुक निकासी गर्दै आएका छन् । कोभिड संकटका बेला ती कतिपय उद्योगले उत्पादन निकासीका लागि कन्टेनर पनि नपाएको व्यवसायीहरूको गुनासो छ ।
अवस्था सामान्य भएपछि कन्टेनरको चार्ज पहिलेको तुलनामा करिब ३ सय प्रतिशत बढेको र अहिले पनि अवस्था उस्तै रहेको व्यवसायी बताउँछन् । अहिले तेस्रो मुलुकमा चिया निर्यात गर्न ४० फिटे कन्टेनरको दर १२ हजार अमेरिकी डलर छ । तर कोभिडअघि ४ हजार अमेरिकी डलर मात्रै थियो ।