इलाम । उपाधिको दाबेदार मानिएको मोरङको डाँगीहाट एफसी प्रथम देउमाई गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । फिदिम स्पोर्टिङ क्लबसँग २-१ गोलअन्तरमा पराजित भएपछि डाँगीहाट घर फर्किएको हो ।
१-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फिदिम भाग्यमानी सावित बन्यो । फिदिमका खेलाडी अन्तिम १५ मिनेट १० खेलाडीमा सीमित बनेका थिए । खेलमा डाँगीहाटका प्रवेश कटुवालले गोल गरेर अग्रता दिलाएका दिए ।
पहिलो हाफको १७औँ मिनेटमा पाएको फ्रिकिकबाट उनले उत्कृष्ट गोल गरेका थिए । करिब २५ यार्डबाट प्रहार गरेको बल सोझै गोलपोस्टमा लाग्दै गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा १-० ले पछि परेको फिदिम दोस्रो हाफमा लयमा फर्कियो । दोस्रो हाफको ५औँ मिनेटमा फिदिमका कप्तान गजेन्द्र राईले पेनाल्टीमार्फत गोल गरेर बराबरी गरेका थिए । डाँगीहाटका खेलाडीले ह्याण्ड गरेपछि फिदिमलाई पेनाल्टीको अवसर मिलेको थियो ।
यसैबीच, दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै फिदिमका मनिष क्षेत्री मैदान छाड्न बाध्य बने । दोस्रो हाफको १५औँ मिनेटमा फिदिम १० खेलाडीमा समेटिएको थियो ।
रोमाञ्चक खेलमा गजेन्द्र राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेमिफाइनमाल स्थान सुरक्षित गरे । खेलको २२औँ मिनेटमा पाएको कर्नर प्रहारमा उनले हेडरमार्फत गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
युनाइटेड देउमाई युथ क्लब मंगलबारेको आयोजनामा जारी प्रतियोगितामा ८ टिम सहभागी छन् । भोलि (बुधबार) पहिलो सेमिफानल खेल हेलिबोथ एफसी बिब्ल्याँटे र ओएसिस एफसी इलामबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख र ट्रफी पाउनेछ ।