सरला रेग्मी,
पाँचथर । आँखा बन्द गरेर तपाइँ कति दिन बस्न सक्नु हुन्छ ? आँखा बन्द गरेर, तपाईं के के काम गर्न सक्नु हुन्छ ? जो हामी आँखा देख्छौ एकचोटी अनुभुती गरौं त ? हामी आँखा खोली खोली अँधेरोमा कति पाइला हिड्न सक्छौ ? आँखा बन्द गरेर मात्रै पनि हामी केही गर्न सक्दैनौ । दृष्टि भएर ‘काम गर्ने बाताबरण नै छैन’ भन्ने व्यक्तिको लागि एक उदाहरण बन्दै छन् तुम्बापो । मध्य दिउँसो घर सुनसान थियो । घरको सिकुवामा एक्लै मुडा बुनेर बसिरहेका थिए, पृथराज । उनी दृष्टिबिहिन भएका व्यक्ती हुन् । उनी आँखा देख्नेहरुको लागि पनि उदाहरण हुन । पाँचथर फिदिम नगरपालिका वडा नम्बर ५ जोरकुलोका पृथराज तुम्बापो । उनको आँखा बर्षौ देखि बन्द छ । आँखा नदेख्दापनी उनको काधमा ५ परीवारको जिम्बेवारी छ । उनको दैनिकी मुडा बनाएर नै बित्छ । मुडा बनाउनु उनको दैनिकी मात्र होइन एउटा सिङ्गो परीवार पाल्ने जागिर हो ।
मुडा बनाएर नै उनले आफ्नो परिचय स्थापित गरेका छन् । वृद्ध बुवा, तीन साना छोराछोरी र श्रीमती पनि पालेका छन् । ४३ बर्षका पृथराज मुडा बनाउने डोरीको रंग उनी चिन्दैनन । परीवारका सदस्यले मुडा बनाउन डोरीको रंग छुट्याएर आ–आफ्नो काममा लाग्छन् । छोराछोरी स्कुल पढ्दै छन् । श्रीमती खेतिपाती गर्छिन । वृद्ध बुवाको जिम्मेवारीपनी पृथराजकै काधमा छ । एकै छिन आँखा बन्द गरेर हामी बस्न सक्दैनौ तर उनी परिवारको जिम्मेवारी बन्द आँखाले नै उठाइरहेका छन् ।
सुन्दा अचम्म लाग्छ । आँखा देख्दैनन तर मुडा बनाउन उनी सिपालु छन् । उनी दिनभरी मुडा बनाएर बस्छन् । उनी जन्मदै दृष्टिबिहिनी भएका होइनन् । सानोमा आँखामा गम्भीर चोट लाग्यो ,जचाँउन जान ध्यान पुर्याएनन् । पछि उनको आँखाको ज्योती गयो ।
मुडा बनाउने उनले तालिम लिएका हुन् । मुडा बनाउन पनि त्यति सजिलो छैन , बाँसको सिंन्का खेप्नु पर्छ, रंग लगाउनु पर्छ, मुडालाइ विभिन्न रंगका डोरीले आकर्षक बनाउनु पर्छ । एउटा मुडा बुनिसक्न उनलाइ २ देखि दिन लाग्छ । महिनामा १५ ओटा सम्म मुडा बनाएर बेचेको पृथराज सुनाउछन् । एउटा मुडा बनाइसक्दा मुल्य १ सय ५० रुपैया पर्छ । बजारमा २ सय ५० देखि ३ सय सम्म उन्ले बेच्ने गरेका छन् । बाँस आफ्नै बारीमा छ । मुडा बनाउन छिप्पिएको बाँस चाहिन्छ ।
आफ्नोमा नहुदा किन्ने गरेका छन् । उनी भन्छन् ‘अहिले मुडा बनाउन भन्दा यस्को सामान पाउन निकै गार्हो छ । मुडाको मुनिको भागमा टायर लगाउनु पर्छ जुन अचेल पाउन निकै मुल्किल हुन्छ’ । अपाङ्गको काम गर्ने संस्था करुणा फाउन्डेसनले अपाङ्ग सम्मान कार्यक्रममा ५ केजि डोरी दिएको थियो, टायर पनि ल्याइदिनु भयो र केही राहत पनि भएको उनी सुनाउछन् । तर त्यही सम्मान कार्यक्रममा उनको सेतो लौरो हरायो । जस्ले गर्दा उनलाइ हिड्डुलमै समस्या भएको गुनासो पोखे ।
कोरोना महामारीको बिचमा घर धान्न निकै समस्या भएको उनी सुनाउछन । त्यो बेला चामल लगाएतका राहत ल्याइदिने जनसेवा समाजलाई उनी निकै भावुक हुँदै सम्झिए । उनी भन्छन् ‘मुडा बनाइरहन्छु त्यही भएर होला गार्हो लाग्दैन तर मुडा बनाउन टायर अथवा टिउ पनि चाहिन्छ त्यो सहजै भेटिए त हुन्थियो । तर ती सामान नपाउदा मुडा बनाउन असहज भएको छ ‘। उनी भन्छन’ मुडाको माग धेरै छ, तर मुडाको सामाग्री नभेटिएको दुख पनि छ’ ।
तालिम कुन थियो उनलाई सम्झना छैन । दृष्टिबिहिनको लागि आएको तालिममा उनी सहभागी भए अनि यो सिपले आज बेरोजगार हुनु नपरेको उनी बताउछन् । उनी निलो कार्ड प्रयोग गर्ने फरक क्षमता भएको वर्गीकरणमा परे पनि उनको स्वस्थ्य बिमा भएको छैन । परीवार संख्या पाँचजना भन्दा धेरै भएको कारण पैसा तिरेर बिमा गर्न नसकेको उनी बताउछन् । पृथराजको घरमा जादा हेर्दा समस्या नै समस्या देखिएपनी उनको स्थानिय सरकार सँग कुनै गुनासो छैन् । तर अझै यस्तै अन्य सिपहरु पाए, आर्थिक उपार्जनमा सहयोग मिल्ने उनी बताउछन् ।
उनले बनाएको मुडा पाँचथरको विभिन्न ठाउँमा जान्छ । उनी भन्छन् मुडाको सामाग्री सहज रुपमा पाउन र मुडाको बजारका लागि स्थानिय सरकारले सहयोग गरे हामी जस्ताको भलो हुने थियो । दृष्टिबिहिन भएर पनि काममा सकृय तुम्बापो ,आर्थिक अभाव, सघर्ष तथा कठिन परिस्थितिलाई सामाना गर्दै जिबिको पार्जन गर्दै गरेका तुम्बापो जस्ता अपाङ्गलाई सरकारले दिने तालिम, बजार व्यबस्थापन तथा सहयोग र प्रोत्साहनको आवश्यकता देखिन्छ ।