दाङ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याललाई शनिबार बेलुकी ९ बजेतिर फोन आयो। फोनमा टेकबहादुर विक बोले। उनी तुलसीपुर ८ दुधेनाका हुन्।उनले सल्यान कालिमाटी वडा नम्बर ४ का ४० वर्षका खिमबहादुर वली (नवीन) तुलसीपुरबाट अपहरणमा परेको डिएसपीलाई जानकारी गराए र खोजी गरिदिन भने। वली एक मन्दिरका कर्मचारी हुन्।
अपहरणमा परेका भनिएका वलीको मोबाइल नम्बरसमेत विकले डिएसपी अर्याललाई टिपाइदिएका थिए।तुरून्तै डिएसपी अर्यालले वलीको नम्बरमा फोन गरे।‘मलाई तुलसीपुर बजारबाट चार जनाले निलो कारमा राखेर जंगलमा ल्याई राखेका छन्। यहाँ नजिक बस्ती पनि छैन, मलाई बचाउनुस्,’ डिएसपी अर्याललाई वलीले टेलिफोनमा भने।
अपहरणमा परेका भनिएका व्यक्तिले नै डिएसपी अर्याललाई घटनाबारे थप जानकारी दिएपछि प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई पनि घटनाबारे जानकारी गराइएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय घोराही, तुलसीपुरलगायतबाट प्रहरीहरू खटाइएका थिए। करिब ४० जना प्रहरी वलीको खोजीमा खटाइएको थियो।
एसपी र डिएसपीले लगातार फोन गर्दा वलीले फोनमा कुरा गरिरहेका थिए।प्रहरीले आइतबार राति साढे २ बजेसम्म पनि वलीलाई फोन गरिरहेको थियो। आफू तुलसीपुरको एकान्त होटलमा खाना खाएर निस्केपछि चार जनाले अपहरण गरेको भनेर वलीले त्यसबेलासम्म पनि प्रहरीलाई भनिरहेका थिए।उनले अपहरणकारीले आफूसँग २० हजार मागेको र आफूसँग १० हजारमात्रै रहेको बताएका थिए भने पैसा नदिए मारिदिने भनेकोसमेत प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले बजार क्षेत्रमा रहेका सिसी क्यामेसाका फुटेजसमेत हेर्न थालेको थियो। तर सिसी क्यामेरामा हेर्दा वली होटलबाट खाना खाएर पैदल नै १० बजेर ३६ मिनेटमा बाहिर निस्केको देखियो।उनी हिँडेरै वीरेन्द्र चोकसम्म गएको सिसी क्यामेरा फुटेजमा देखिएपछि वली अपहरणमा परेका होइनन् भन्नेमा प्रहरी पुग्यो। तैपनि प्रहरी वलीको खोजीमा लागिरहेको थियो।प्रहरीले फोन गर्दा वली सम्पर्कमै थिए।
आज बिहान ३ बजेतिर वलीले आफू दमार गाउँ नजिकै रहेको खबर प्रहरीलाई दिए। यो तुलसीपुर वडा नम्बर ३ मा पर्ने ठाउँ थियो। तत्काल प्रहरी उनको खोजीमा त्यसतर्फ गयो।प्रहरी त्यहाँ पुगेर उनलाई नियन्त्रणमा लियो। उनी बाटोमा हिँडिरहेका बेला पक्राउ परेका हुन्। उनी हिलाम्मे अवस्थामा थिए भने उनले मापसे गरेका थिए। वलीले भनेजस्तै उनको साथमा १० हजार पनि थियो।प्रहरीले वलीलाई गाडीमा राखेर तुलसीपुर ल्याउनुभन्दा पहिले राप्ति प्रादेशिक अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा उनले मापसे गरेको देखियो।
सोधपुछका क्रममा: वली आफैँ अपहरणमा परेको नाटक गरेको तथ्य खुल्यो। उनी मन्दिरका कर्मचारी हुन्। मन्दिरका लागि रसिद बनाउन तुलसीपुर आएका वलीले मदिरा सेवन गरेका थिए।‘होटलमा रक्सी पिएपछि मलाई लाग्यो। मैले के के गरे थाहा छैन,’ उनले प्रहरीसँग भनेका थिए, ‘मैले गाउँलेहरूलाई फोन पनि गरेँ, अपहरणमा परेको नाटक गरेको छु।’
एसपी सुरेश काफ्लेले घटनाबारे थप अनुसन्धान भइरहेको र एक जनाको झुठो खबरले रातभर प्रहरीले दु:ख पाएको बताए।
सेताेपाटीबाट