बिराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अपराधको पराकाष्ठा नाघ्ने गरी छोराले वृद्ध आमाको हत्या गरेका छन् । आफ्नी वृद्ध अवस्थाकी आमाको हत्या गरेर जङ्गलमा जलाउने पथरीशनिश्चरे–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उनले माघ १२ गते ९० वर्षीय आमा जगमाया श्रेष्ठको हत्यापछि जङ्गलमा जलाएका थिए ।
यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिशको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।