सुरेन्द्र फुयाल । सीमापारि भारतको दार्जिलिङ जिल्लाको खर्स्याङ र इलाम नजिकैको मिरिकमा पुसको ठन्डीमा पनि रमिते यात्रीको कुनै कमी थिएन। दिल्ली, गुहाटी कोलकाताजस्ता ठूला सहरबाट एक्लै वा सपरिवार जाडो खान आएका घुमन्तेहरूको भीडले दार्जिलिङ र सिक्किमका होटल भरिभराउ थिए। मुख्य सडक भिडभाडयुक्त।
सिमानाबाट एकाध किलोमिटर मात्र पश्चिममा रहेको इलामको श्रीअन्तु डाँडाको खैलाबैला पनि हेर्न र सुन्न लायकको थियो।
यात्राबाट थकित भएर साँझ चियाबारी र श्रीअन्तु पोखरी वरपरको कुनै शान्त होटल वा रिसोर्टमा पुगेर तपाईं योग वा ध्यान गर्ने वा आरामले कुनै पुस्तक पढ्ने सोचमा हुनुहुन्छ भने आफ्नो योजना बदलिहाल्नुस्।
ष्लखयतभअज
किनभने हामी दिनभरिको यात्राबाट शिथिल भएर भोलि बिहान सबेरैको सूर्योदय हेर्न इलामको श्रीअन्तु पुग्दा चियाबारीबीच बनेका नयाँ-नयाँ र झिलिमिली कटेजमा निकै खैलाबैला थियो। चर्को होहल्ला थियो।
श्रीअन्तु पोखरी वरिपरि बग्रेल्ती खुलेका रिसोर्ट बाहिरका साना छातायुक्त टहरामुनि फलामे मकलमा आगो दन्किरहेको थियो। आगो वरपरि झुम्मिएका यात्री आगो मात्र तापिरहेका थिएनन्, आफ्ना मोबाइलका गीत ब्लुटुथमार्फत रिसोर्टले राखिदिएका ठूला स्पिकरमा जोडेर घन्काइरहेका थिए।
त्यो रमिता चुपचाप हेर्दा लाग्थ्यो त्यहाँका रिसोर्टमा आएका यात्रीका विभिन्न जत्थाबीच कसले चर्को स्वरमा गीत-संगीत घन्काउने र प्रायः सुनसान एवं शान्त रहने श्रीअन्तु क्षेत्र थर्काउने भन्ने कुनै प्रतिस्पर्धा नै चलिरहेको छ।
श्रीअन्तुमा खैलाबैलाः
श्रीअन्तु पोखरी वरिपरि बग्रेल्ती खुलेका रिसोर्टमा साँझपख चर्को स्वरमा गीत-संगीत घन्काउने शान्त चियाबारी क्षेत्र थर्काउने प्रतिस्पर्धा चल्ने गर्छ। तस्बिरः सुरेन्द्र फुयाल।
हाम्रो व्यथा अर्कै थियो। त्यसदिन हामी दार्जिलिङबाट जिपयात्रा गरेर पशुपतिनगरको फाटक काटेर, नेपाल फर्किएर फेरि अर्को मोटर चढेर फिक्कलबाट उँधो झरेर, श्रीअन्तु डाँडा उक्लिएका थियौं। हामी आराम र शान्तिको खोजीमा थियौं। तर राति ९ बज्न लाग्दा पनि श्रीअन्तु शान्त हुने कुनै संकेत नदेखिएपछि वाक्क-दिक्क भएर मैले साहुजीलाई सोधेँ-
’यो शान्त हरियो चियाबारी क्षेत्रमा यत्रो खैलाबैला किन? सबैतिरबाट संगीतको यत्रो चर्को आवाज किन?’
’के गर्नु यहाँ यस्तै छ। प्रायः सबै यहाँ आगो ताप्न, मासु पोल्दै जाँड खान र चर्का संगीत सुन्न आउँछन्।’
’कुनै नियम त होला नि? यति चर्को बजाउन पाइने, यति बजेसम्म मात्रै स्पिकर घन्काउन पाइने?’
’राति १० बजेपछि बजाउन पाइँदैन।’
श्रीअन्तु आउने प्रायः सबै यात्री हिजोआज बिहान ६ बजेपछि हुने सूर्योदयको सुन्दर दृश्य र त्यसअघिको प्रभातको लाली हेर्न बिहान ५ बजे नै केही पर रहेको डाँडाको टुप्पातिर हिँड्न थाल्ने योजना बनाएर आएका हुन्छन्।
तर राति ११ बज्न लाग्दासम्म पनि खैलाबैला र चर्को संगीतको कर्कस ध्वनि कम भइसकेको थिएन। त्यसैले सोचेँ, निराश हुनुभन्दा आफैं आगो नजिकै गएर केही बेर संगीत घन्काउनु बेस।
श्रीअन्तु आउने प्रायः सबै यात्री हिजोआज बिहान ६ बजेपछि हुने सूर्योदयको सुन्दर दृश्य र त्यसअघिको प्रभातको लाली हेर्न बिहान ५ बजे नै केही पर रहेको डाँडाको टुप्पातिर हिँड्न थाल्ने योजना बनाएर आएका हुन्छन्। तस्बिरः सुरेन्द्र फुयाल।
तीव्र गतिमा पर्यटन, कृषि र अन्य उद्योगधन्दाको विकास र विस्तार भइरहेको प्रदेश १ को इलाममा यहाँलाई स्वागत छ। यहाँ पछिल्ला केही वर्षयता बाक्लिन थालेको आन्तरिक पर्यटकको भीडको सुविधाका निम्ति होटल तथा रिसोर्ट खुल्ने क्रम पनि निकै बढेको छ।
इलाममा मात्रै कहाँ हो र, विकासको त्यस्तै लहरो सन्दकपुर उत्तरको पाँचथरतिर पनि तन्किने क्रममा छ। पाँचथरको सिक्किम सीमा क्षेत्रबाटै सुदूरको दार्चुला जोड्ने मध्य-पहाडी राजमार्ग सुरू हुन्छ।
’पश्चिम बंगाललाई टक्कर दिने विकास’
पूर्वी नेपाल र भारतको दार्जिलिङ क्षेत्र देखिने भूउपग्रहीय तस्बिर। स्रोतः गुगल अर्थ।
कुनै बेला चारकोसे झाडीका वन र वनबीचका हरिया फाँटका लागि प्रख्यात दक्षिणको झापाको त झन् कुनै नगरौं। त्यहाँका ८ वटै नगरपालिका र वरपर सुविधा सम्पन्न होटलसँगै उद्योगधन्दा खुल्ने क्रम हिजोआज तीव्र छ। अझ प्रसिद्ध कञ्चनजंघा र पाथीभरा तीर्थस्थल रहेको उत्तरको ताप्लेजुङमा पनि खासगरी पर्यटन र साना उद्यम व्यवसाय खुल्ने क्रम निकै बढेको पाइएको छ।
त्यसको अर्थ के आर्थिक विकासका दृष्टिले के ’पूर्वी नेपालको प्रदेश १ ले अहिले छिमेकी भारतीय राज्यलाई टक्कर दिने दिशामा गएको’ हो?
मेचीपारि भारतको सिक्किम, दार्जिलिङ क्षेत्रमा मानव चहलपहलसँगै चियाखेती अनि पूर्वाधार विकास निर्माण हुने क्रम सुरू भएको निकै धेरै समय भइसक्यो। चियाखेती र तत्कालीन अंग्रेज पर्यटकको आडमा परिकल्पना गरिएको दार्जिलिङ ’पहाडको छुक-छुके रेल’ निर्माण पूरा भएकै करिब १५० वर्ष पुग्न लागिसक्यो।
अनेक राजनीतिक दाउपेचको चपेटामा परेर सिक्किम भारतमा विलय भएको पनि ४५ वर्ष बितिसक्यो। त्यसउप्रान्त दिल्लीस्थित केन्द्रीय सरकारबाट मनग्गे रूपैयाँ-पैसा पाउन थालेको सिक्किमको निर्माण र पूर्वाधार विकासक्रम देखेर धेरै पूर्वोत्तर भारतबासी इर्ष्या गर्छन्। अर्कोतिर पूर्वोत्तर भारतमा पनि पूर्वी एसिया जोड्ने चौडा राजमार्ग, रेलमार्गलगायतका पूर्वाधार विकासको क्रम तीव्र भइसकेको पाइन्छ।
पूर्वी नेपाल, कञ्चनजंघा हिमाल र सिक्किम देखिने भूउपग्रहीय तस्बिर। स्रोतः गुगल अर्थ।
भारतमा जस्तो तीव्र गतिमा पूर्वाधार विकास नभए पनि केही वर्षयता पूर्वी नेपालमा पनि आर्थिक गतिविधि बढेको र त्यो प्रदेशको समग्र आर्थिक वृद्धिदर पनि उकालो लाग्न थालेको महसुस गरिँदैछ। कतिपय विश्लेषकका विचारमा प्रदेश १ को आर्थिक वृद्धिदर छिमेकी भारतीय राज्य पश्चिम बंगालकै हाराहारीमा पुग्ने दिशामा अघि बढिसकेको छ।
त्यसको अर्थ के सगरमाथादेखि कञ्चनजंघा हिमाल क्षेत्रसम्म फैलिएको वा भनौं दक्षिणतर्फ कोसीदेखि मेचीसम्म तन्किएको नेपालको प्रदेश १ साँच्चिकै विकासमा अब्बल हुने बाटोमा लागेको हो? के प्रदेश १ मा अहिले देखिएको विकासको लहर यसैगरी निरन्तर जारी रहला?
साथै, के जारी विकास क्रममा मानव विकासका द्योतक नागरिकको शिक्षा, स्वास्थ्य र औसत आयुका पक्ष सम्बोधन गरिएका छन्? अझै महत्त्वपूणर् प्रश्न होः के औद्योगीकरणका नाममा हुने वन तथा वातावरण विनाश र जलवायु परिवर्तनजन्य क्षति कम गर्न पर्याप्त सावधानी अपनाइएका छन्?
जवाफ सहज छैन। तर एउटा कुरा के सत्य हो भने सन् १९५० को दशकमा वन फँडानीपछि सुरू भएको बसाइँसराइका कारण पूर्वी तराईको भूउपग्रहीय तस्बिर निकै बदलिइसकेको छ। सुनसरी, मोरङ र झापाको धान खेती र उब्जनी अहिले पनि देशकै अब्बलमा गनिइन्छ। त्यसैले त्यहाँ वन र कृषि क्षेत्र क्रमशः घटिरहेको तर सहरी विकास क्रम तीव्र भइरहेको पाइएको छ। मुख्य राजमार्ग छेउछाउका लगभग सबै बस्ती हेर्दाहेर्दै घना सहरमा परिणत भइसकेका छन्।
मेचीका पहाड पनि के कम?
झापाबाट २६८ किलोमिटर लामो मेची राजमार्गमा यात्रा गर्दै ताप्लेजुङको पाथीभरा यात्रामा जाँदा सुपारी, चिया, अलैंची, अम्रिसो, अदुवा र अन्य बालीनालीको हरियालीले पूरै झापा, इलाम, पाँचथर र ताप्लेजुङका खेतबारी ढाकेको तपाईं हामीले देखेकै हुनुपर्छ।
राजमार्ग छेउमा ठाउँ-ठाउँमा खुलेका सानादेखि ठूला बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानी, चियासँगै अनेकानेक कृषि उपज तपाईं हामीले किनेकै हुनुपर्छ। कञ्चनजंघा र पाथीभराकै आकर्षण हुन सक्छ मेची राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकको संख्या पनि बर्सेनि बढ्दो क्रममा रहेको पाइएको छ।
इलाममा जे देखियो‘
कञ्चनजंघा हिमाल र पाथीभरा मन्दिरको आकर्षणका कारण मेची राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक संख्या पनि बर्सेनि बढ्दो क्रममा रहेको पाइएको छ। तस्बिरः सुरेन्द्र फुयाल।
त्यसको अर्थ के आर्थिक विकासका दृष्टिले पूर्वी नेपालको प्रदेश १ ले अहिले छिमेकी भारतीय राज्यलाई ’टक्कर दिने अवस्था’ आइसकेकै हो त?
सगरमाथा, मकालुदेखि कञ्चनजंघाले आकर्षित गर्ने अन्तर्राष्ट्रिय पर्यटन र अन्य जिल्लाको कृषि उत्पादनले नेता तथा नीति निर्माताको उत्साह बढाउनु स्वाभाविक होला। तर तथ्यांकले त्यसो भन्दैन।
उदाहरणका लागि गत आर्थिक वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.५६ प्रतिशत रहेको प्रदेश १ आर्थिक मामिला मन्त्रालयको तथ्यांकले देखाउँछ। जबकि भारतको पश्चिम बंगाल सरकारको तथ्यांकले त्यहाँको आर्थिक वृद्धिदर गत वर्ष पनि ८ प्रतिशको हाराहारीमा रहेको देखाउँछ। जिडिपी वृद्धिदर १२ प्रतिशतभन्दा माथि रहेको सिक्किम राज्यको आर्थिक विकासको अवस्था झनै चाखलाग्दो हुने नै भयो।
अहिले इलामको श्रीअन्तुको मात्रै होइन कन्याम क्षेत्रको रूप पनि फेरिएको छ। यात्री लोभ्याउन अनेकानेक आधुनिक संरचना बनिरहेका छन्। त्यस्तै लहरो उत्तरका पाँचथर र ताप्लेजुङमा पनि फैलिँदो छ। कोरोना कहरका कारण विदेशी नआए पनि पूर्वी नेपालमा स्वदेशी ओइरिने क्रम जारी होला।
मानव विकासका चाहिने शिक्षा र स्वास्थ्य सुविधा फरक पाटो हो। तर समग्र आर्थिक विकासका लागि पूर्वी नेपालको प्रदेश १ मा पर्यटन र अन्य उद्योगधन्दाको दिगो विकासका निम्ति थुप्रै काम हुन बाँकी नै देखिन्छ।
अहिले इलामको श्रीअन्तुको मात्रै होइन कन्याम क्षेत्रको रूप पनि फेरिएको छ। यात्री लोभ्याउन अनेकानेक आधुनिक संरचना बनिरहेका छन्। त्यस्तै लहरो उत्तरका पाँचथर र ताप्लेजुङमा पनि फैलिँदो छ। तस्बिरः सुरेन्द्र फुयाल।
पहिलो कुराः दार्जिलिङ र सिक्किम घुम्न आउने भारतीय यात्रीका लावा-लश्करको सानो हिस्सालाई मात्र भए पनि मेचीपारिका झापा, इलाम, पाँचथर र ताप्लेजुङका ल्याउन सक्यो भने धेरै लाभ लिनसक्ने जानकारहरूको पुरानो भनाइ हो। तर त्यसका निम्ति श्रीअन्तु, पशुपतिनगर र पारि दार्जिलिङमा पर्याप्त प्रचारप्रसार भइरहेको भान भएन।
दोस्रो कुराः अहिले नै यात्रीको चहलपहल हुने इलामको श्रीअन्तु पोखरी, श्रीअन्तु डाँडा, कन्यामजस्ता गन्तव्यमा प्लास्टिक र सिसाका सरसामान निषेध गर्नेतर्फ पनि स्थानीय समुदाय र सरकारले तदारूकता देखाएको देखिएन।
केही दिनअघि श्रीअन्तु पोखरी वरिपरि हिँड्दा मैले पोखरी किनारमा पानीमा उत्रिएका प्लास्टिक मात्रै देखिनँ, त्यहाँ मदहोस हुन आउनेले जथाभाबी फ्याँकेका रक्सीका सिसी पनि पानीमा जताततै डुबिरहेका देखेँ।
त्यो देखेर मनमा लाग्योः ’पर्यटनले पैसा त ल्याउँछ, सँगै अशान्ति र प्रकृति र समाजलाई दूषित बनाउने कसरहरू पनि ल्याउँदो रहेछ। अब इलामेलीले प्रदूषकलाई दण्ड-सजाय कसरी दिने भनेर सायद पारिका सिक्किमेलीसँग सिक्नुपर्छ।’
मेची वारिपारिको एसियाली राजमार्ग
मेची नदीबाट पूर्व हेर्नुहोस्- भारतले गुहाटी, कोलाकाता आदि सहरलाई नेपालको झापासँग जोड्ने एसियाली राजमार्ग पक्का र चौडा बनाइसकेको छ। उसले मेचीमाथि समेत चौडा पुल बनाइसकेको छ। तस्बिरः सुरेन्द्र फुयाल।
फेरि ’पूर्वी नेपालले पश्चिम बंगाललाई टक्कर दिने’ कुरा।
भारतीय विद्वान महेन्द्र पी लामाले कान्तिपुरमा छापिने आफ्नो स्तम्भमा नेपालले अब चीन र भारत मात्र नभई पूर्वतिर पनि हेर्न थाल्नुपर्ने र त्यसका लागि भारत बंगलादेश, भुटान, बर्मा र थाइल्यान्डजस्ता छिमेकीसँग सहकार्य अघि बढाउनु पर्नेमा जोड दिएका छन्। लामाका विचारमा नेपालले अहिले भारतमा निर्माण भइरहेको पूर्वोत्तर हुँदै बर्मा र थाइल्यान्ड जोड्ने राजमार्गबाट प्रशस्त लाभ लिन सक्छ।
यदि नेपालीहरूले झापाबाट बस चढेर थाइल्यान्ड पुग्ने योजना बुन्न थाल्ने हो भने त्यो यात्रा भविष्यमा काकरभिट्टा हुँदै पूर्व सोझिइन्छ। अब मेची नदीबाट पूर्व हेर्नुहोस्- भारतले गुहाटी, कोलाकाता आदि सहरलाई नेपालको झापासँग जोड्ने एसियाली राजमार्ग पक्का र चौडा बनाइसकेको छ। उसले मेचीमाथि समेत चौडा पुलहरू बनाइसकेको छ।
तर नेपालतर्फ के हुँदैछ?
भनिँदै छः अब पूर्व-पश्चिम राजमार्ग पनि चौडा बन्दैछ। तर काकरभिट्टाको उभिएर पूर्व र पश्चिम हेर्नुहोस्, फरक आफैं देख्न सक्नुहुनेछ।
फेरि एकैछिन इलामको सुन्दर श्रीअन्तु।
त्यहाँको रमणीय पहाडी चियाबारीबीच बनाइएको श्रीअन्तु कटेजका उद्यमी दिनेश भट्टराईलाई नयाँ दिनको घाम टाउको माथि आएसँगै ’भरे आइपुग्न लागेका पाहुनाका लागि’ मोबाइल फोनमार्फत् खानेकुराको अर्डर लिन भ्याइनभ्याइ हुन्छ। नेपाली रमितेको भीड दिनानुदिन बढ्न थालेकोले भट्टराई निकै उत्साहित पनि छन्।
भन्छन्, ’मैले ६ वर्षअघि बाँसको कटेज बनाएर यो कटेज सुरू गरेको थिएँ। अहिले अझ पक्का र राम्रा कटेज बनाउन सफल भएको छु। त्यति बेला मेरो कटेज यहाँको पहिलो थियो, अहिले त पोखरी, चियाबारी र डाँडा सबैतिर कटेज बनिसके। करिब सय वटा होलान्।’
याे लेख सेताेपाटीबाट साभार गरीएकाे हाे
तस्बिरः सुरेन्द्र फुयाल