काठमाडौं ।नेपाली काँग्रेसले विधानको प्रक्रिया मिचेर राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट विधानको प्रक्रियाभन्दा बाहिर गएर उम्मेदवार चयन गरिएको हो । काँग्रेस विधानमा केन्द्रीय संसदीय समिति (बोर्ड)लाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारी तय गर्ने अधिकार दिइएको छ ।
काँग्रेसको नयाँ विधान अनुसार २५ सदस्यीय संसदीय बोर्डमा १४ जना केन्द्रीय पदाधिकारी पदेन सदस्य हुन्छन्। साथै सभापतिले ११ जना सदस्य संसदीय बोर्डमा मनोनीत गर्न पाउने व्यवस्था छ। सोही संसदीय बोर्डबाट उम्मेदवार चयन गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । विधानको धारा ३२ (९) मा प्रत्येक प्रदेश कार्यसमितिले मातहतका जिल्लाबाट सम्भावित नामको सूची माग गरी १ सिटका लागि ३ जनाको नाम केन्द्रमा पठाउने र केन्द्रले प्राप्त नाम आफूसँग विवरण राखी केन्द्रीय संसदीय बोर्डमा पठाउने उल्लेख छ ।
संसदीय बोर्डले प्राप्त नाममध्ये सहमति हुन सके सहमतिमा र सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्ने वैधानिक व्यवस्था छ । तर नयाँ विधान लागू भएपछि भएको पहिलो निर्वाचनमा भने काँग्रेसले विधानले नचिन्ने पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि केन्द्रीय कार्यसमितिबाट उम्मेदवारी तय गरेको छ ।
१३ औँ महाधिवेशनपछि विधान विपरीतको बाटोमा हिँडेका देउवाले १४ औँ महाधिवेशनपछिको दोस्रो बैठकबाट सोही पथ पछ्याएका छन् । देउवालाई विधान विपरीत दिशामा जान नदिने बाचा गरेका नेताहरु पनि निरीह देखिए । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा शेखर कोइरालाले विधानअनुसार संसदीय समितिबाट नै उम्मेदवार तय गरिनुपर्ने बताएपनि उनको कुनै हस्तक्षेप देखिएन । ‘उम्मेदवार संसदीय समितिबाटै तय गर्नुपर्छ भन्ने आवाज आएको छ, अबदेखि संसदीय समिति बनाएरै उम्मेदवार तय गरिनुपर्छ,’ उनले भने।
यसपालि संसदीय समिति बनाउन समय अभाव भएजस्तो देखिएको भन्दै कोइरालाले विधान विपरीतको निणर्यमा मौन समर्थन जनाए । यद्यपि अबदेखि भने संसदीय समितिबाटै उम्मेदवार तय गरिनुपर्ने कोइरालाको भनाइ छ । ‘सत्तारूढ गठबन्धनमा उहाँहरूले आजै छलफल गरेर तालमेल गर्ने निणर्य लिनुभएछ। संसदीय समिति बनाएर उम्मेदवार तय गर्न अहिलेका लागि समय अभाव हुनेजस्तो देखियो ,’ उनको भनाइ छ।
तर कोइराला पनि विधान विपरीत राष्ट्रियसभा उम्मेदवार तय गर्दा साक्षी बसेका थिए । सोमबार केन्द्रीय समितिअघि बसेको पदाधिकारी बैठकमा उनी पनि सामेल थिए । कोइरालाले पदाधिकारी र केन्द्री समितिमा विधान सम्झाउने कुनै कष्ट समेत नगरेको एक पदाधिकारीले बताए ।
गगन थापा र विश्वप्रकाश शर्मा पनि असफल
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिएसँगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीलाई विधानभन्दा बाहिर जान नदिने प्रयासमा लागेका थिए । सके २५ सदस्यीय संसदीय बोर्ड बनाउने र नसकेर संसदीय (बोर्डका पदेन सदस्य) पदाधिकारी मात्र राखेर संसदीय बोर्ड बनाएर जाने कुरामा उनीहरूको जोड थियो ।
सुरुमा थापा र शर्माले उपसभापति पूणर्बहादुर खड्कालाई विधानको प्रक्रियामा गएर राष्ट्रिय सभाका उम्मेदवार तयका लागि पहल गर्न आग्रह गरेका थिए । तर खड्काबाट सकारात्मक जवाफ नभएपछि थापा र शर्मा आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । त्यहाँ सभापति शेरबहादुर देउवासामु खड्कालाई राखेको आग्रह बिसाए । थापा र शर्माले देउवाबाट पनि समय अभावको रेडिमेड जवाफसहित विधानको प्रक्रियाबाट अगाडि बढ्न नचाहेको सङ्केत पाए । खड्काले नमाने पनि देउवाले आफ्नो कुरा सुन्ने अपेक्षाका साथ हल बाँधेर बालुवाटार पुगेका थापा र शर्मा निराश भएर फर्किए ।
सोमबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी छोडेर थापा बिहान १० बजेतिर अर्घाखाँची लागे भने शर्मा विधान विपरीतको प्रस्ताव पेस गर्न केन्द्रीय कार्यालय सानेपा हानिए । आलोपालो सहमति अनुसार पहिलो केन्द्रीय कमिटी बैठकमा थापाले प्रस्ताव पेस गरेकाले दोस्रो बैठकमा प्रस्ताव पेस गर्ने पालो शर्माको थियो ।
सानेपामा सुरुमा शीर्ष नेता बसेर राष्ट्रिय सभाका उम्मेदवार छाने । शीर्ष नेताले छानेको नाममाथि छलफल गर्न पदाधिकारी, पूर्वपदाधिकारी र सभापतिका प्रत्यासी शेखर कोइरालासहितको बैठक बस्यो । काँग्रेस विधानले नचिन्ने उक्त बैठकले शीर्ष नेताको रोजाइका नाममा समर्थन जनायो । उक्त नाम बोकेर महामन्त्री शर्मा केन्द्रीय कार्यसमिति बैठक हलमा पुगे ।
शर्माले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त युवराज शर्मा, दुर्गाकुमारी गुरुङ र नारायणदत्त मिश्रको नाम पेस गरे । केन्द्रीय कमिटी बैठकले ताली ठोकेर अनुमोदन गर्यो । योसँगै (समय अभाव) का नाममा सभापति देउवा दोस्रो कार्यकालको दोस्रो बैठकबाट विधान विपरीतको लय फेरि समातेका छन् ।
विधानसम्मत पार्टी सञ्चालन गराउने महामन्त्री थापा र शर्माको दाबी पनि दोस्रो बैठकबाट खण्डित भएको छ । महामन्त्री थापा र शर्माले चाहेर मात्र काँग्रेसमा केही हुने छैन भन्ने सन्देश पनि दोस्रो बैठकले दिएको छ ।
बैठकपछि शर्माले रफु भर्दै केन्द्रीय समिति सबैभन्दा ठुलो निकाय भएकाले विधानसम्मत नै निणर्य लिएको बताए । पुस १५ गते रातोपाटीसँग शर्माले ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय बोर्डबाट टुङ्ग्याउनु पर्ने हुन्छ । हामी चाँडै केन्द्रीय कार्यसमितिको बैठक बसेर विधिवत् प्रक्रियाबाटै जान्छौँ,’ भनेका थिए ।
१९ गते पार्टी कार्यालयमा शर्माले रातोपाटीसँग आफ्नै भनाइ खण्डन हुने गरी धारणा राखे । यता सानेपामा विधानको प्रक्रिया विपरीत निणर्य हुँदै गर्दा महामन्त्री थापाले भने अर्घाखाँचीमा विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उद्घोष गरिरहेका थिए । उनी आफै सभापतिलाई विधानसम्म डोर्याउन असफल भएर अर्घाखाँची लागेका थिए ।
राताेपाटीबाट