फिदिम । सरदरमुकाम फिदिमको शिरमा छ साधुटार। पाँचथरको एकमात्र फिदिम नगरपालिका ८ इथुङको एउटा सानो टाकुराको नाम हो साधुटार।
यो टाकुरा पर्यटकका लागि अब्बल गन्तव्य बनेको छ। टाकुरामा फैलिएको फराकिलो चौरको फाँट, सिरसिर चल्ने चिसो बतास, राइनी र बुकी फूलसँगै रंगिचंगी फुल्ने लेकाली फूलको बास्नाले सजिसजाउ यो ठाँउ निकै मनमोहक छ। फराकिलो फाँटको बीचमा रहेको टिलपिल टल्किने पोखरीले साधुटारको सुन्दरतामा निखार ल्याएको छ।
हिमालको नजिक रहेको साधुटार साँच्चिकै सुन्दर छ। यहाँबाट देखिने दक्षिणतर्फको तराईको फाँट अनि उत्तरतर्फ सेताम्मे हिँउले भरिएको हिमालको दृश्यले सबैको मन लोभ्याउँछ। चौरको बीचमा रहेको पोखरीमा टल्कन्छ हिमालको चित्र। पोखरीमै देखिन्छ सूर्योदयको विचित्र दृश्य। पोखरीमै देखिन्छ सेताम्मे हिमालको तस्बिर। पोखरीमै देखिन्छ सूर्योदय अनि सूर्यास्त।