दिन ढल्किँदै गर्दा राथुङ हिमालमा परेको घामले दृश्य आकर्षक थियो । यही हिमाल खोलामा टल्किँदाको दृश्य आकर्षक थियो । हिमाल र खोलामा परेको छाया सँगसँगै हेर्दै गर्दा ठूलो संख्यामा चौँरी आइपुगे । चौँरी खेद्दै ल्याउनेमध्ये थिए, सोनाम शेर्पा ।
गत वर्षको कात्तिकको अन्तिम साता हिमालतिर चौँरी लखट्दै आउने यी सोनाम चार हजार ६ सय १० मिटर उचाइमा रहेको रामजेर भन्ने ठाउँमा भेटिएका थिए । ताप्लेजुङको कञ्चनजंघा साउथ बेस क्याम्प क्षेत्रमा पर्ने यो रामजेरमा उनलाई ‘झिल्के सोनाम’ भन्ने गरिँदो रहेछ ।
‘झिल्के सोनाम ओरालो लाग्यो है, अब रातभरि रमाइलो हुने भयो,’ चेराम भन्ने ठाउँमा यस्तो सुनिएको थियो । चेरामदेखि एक दिनको दूरीमा रामजेर रहेको छ । कोरोनाको पहिलो लहरका कारण यो क्षेत्र सुनसान थियो । यहाँका होटल रित्ता थिए । चौँरीको सामान्य चहलपलह थियो ।
कस्ता रहेछन् त सोनाम, हामीलाई चासो बढ्यो । खोलामा परेको हिमालको छायालाई कुहिरोले छोपेपछि सोनामसँग भलाकुसारी सुरु भयो । ३४ वर्षीय सोनाम घुन्सा भन्ने ठाउँका चौँरी गोठालो रहेछन् । साहुको गोठमा काम गर्ने उनी गायक पनि हुन् । चौँरी डुलाउँदै गीत गाउने उनको बानी रहेछ ।
सुरुमा उनी हामीसँग कुरा गर्न लजाए । रामजेरका होटल व्यवसायी छ्याम्बा शेर्पाले हौसाएपछि उनी अलि खुल्न थाले ।
लोकलयका उनका गीत हिमाली क्षेत्र र यहाँका दुःखलाई झल्काउने किसिमका रहेछन् । उनी पढेलेखेका छैनन् । ‘लेख्न पढ्न आउँदैन । चौँरी डुलाउँदै, गोठमा काम गर्दै गर्दा गीत बनाउँछु, गाउँछु,’ सोनामले भने, ‘बनाएका कति गीत त मैले बिर्सी पनि सकेँ । लेखेर राखेको भए रहन्थ्यो होला, आफूलाई लेख्न आउँदैन ।’
मादल बजाउँदै गीत गाउँदा रमाइलो लाग्ने उनले सुनाए । दुर्भाग्य त्यो बेला हामीसँग मादल थिएन । तैपनि उनले गीत सुनाए ।
चेराम है माथि रामजेर है खर्क सुनपाती फूल्यो है
चौरी गाई हेर्दै, उनधागो बेर्दै जिन्दगी बित्यो है
हजुर जिन्दगी बित्यो है
सिम्बुवा खोला, धुपी र सल्ला खहरे लाग्दा पीर
बहादुरी बन्ने आशा छ मेरो हिमाल छ मेरो शिर
खर्कमा जान्छु, चौँरी गाई हेर्छु सुसेली गाउँदै
डाँफै र मुनाल गीत है गाउँछ, म नाच्छु रमाउँदै
जाडो छ भनी दुई हात लुकाई बस्दैनौँ गम्केर
जाडोमा पनि काम है गर्छु एकजुट भएर
हजुर एकजुट भएर ।
स्थानीय वस्तुस्थितिमा आधारित यी शब्द उनले लयमा गाउँदा निकै मिठो सुनिएको थियो । गीत गाउनु उनको सोख हो र प्रतिभा पनि ।
त्यो बसाइमा उनले हामीलाई आधा दर्जनजति गीत सुनाए । उनकी श्रीमतीको उत्तरी बेस क्याम्प क्षेत्रमा चिया पसल रहेछ । तीन छोराछोरी दार्जिलिङमा पढ्छन् । उनी चौँरी हेर्दै गीत बुन्छन् र चौँरीलाई गीत सुनाउँछन् ।
साँझको जमघटमा त्यहाँ साथीहरु मिलेर दोहोरी पनि गाउँदा रहेछन् । ‘काठमाडौं गएर दाेहाेरी गाँउने रहर छ,’ उनी भन्छन्, ‘कहिले पूरा होला र रु म नपढेको मान्छे १’
उनी तिब्बती भाषामा समेत गीत गाउँछन् । धेरै गीत उनी आफैँले बनाएका छन् । उसो त उनले स्थानीय क्षेत्रमा हुने विभिन्न कार्यक्रममा पनि गीत गाएका छन् । उनले कार्यक्रममा गाउने गीत हो–
कञ्चनजंघाको काखमा छ हाम्रो सानो घुन्सा गाउँ
चेतनाको जाँगर बोकी वातावरण जोगाउँ
यस्तै, राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत समेत बनाएका रहेछन् । उनले शब्द गुनगुनाउँदै आफैँ लय बनाउँछन् ।
उनीसँग हिमाली क्षेत्रका अनेकन् भोगाइ छन्, किस्सा छन् ।
उनले ताप्लेजुङको ओलाङचुङगोलाबाट विवाह गरेका छन् । गाउँकै काकाले बिहेको कुरा गर्न उनलाई ओलाङचुङगोला पु¥याएका थिए । तर, उहाँ लगेर गोठमा काम मात्र लगाएछन् । त्यसपछि उनले आफैँ फकाएर बिहे गरे ।
उनी बेला बेला श्रीमतीलाई पनि गीत सुनाउछन्–
‘वीरको छोरा भएर, बस्दिनँ अन्याय सहेर
शोषणको रीतिलाई तोड्छौँ हामी मिलेर ।
उनलाई धनी–गरिब, ठूलोसानो जस्तो थिचोमिचो ठीक लाग्दैन ।