फिदिम । राजनितिमा दोश्रो पुस्ताहरु ल्याउन र युवाहरुलाई अवसर दिनको लागी आफुले सकृय राजनितिक जीवनबाट बिश्राम लिएको पूर्वमन्त्री एवं पार्टी नेता दीपकप्रकाश बाँस्कोटाले बताएका छन् । केहि दिन अगाडी राजनीतिबाट विश्राम लिने घोषणा गरेका बाँस्कोटाले आईतबार फिदिममा पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन । आईतबार फिदिम स्थित पत्रकार महासंघ पाँचथरको सभाहलमा पत्रकार सम्मेलन गर्दै बाँस्कोटाले राजनितिमा दोश्रो पुस्ताहरु ल्याउन र युवाहरुलाई अवसर दिनको लागी आफुले सकृय राजनितिक जीवनबाट बिश्राम लिएको बताएका हुन् । सकृय राजनितिमा नरहे पनि आजीवन कांग्रेसको सदस्य रहने बाँस्कोटाले बताए ।
लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटालसक्रिय राजनीतिबाट विश्राम लिएर वैचारिक राजनीति र समाजसेवामा सक्रिय हुने घोषणा गरेका हुन् ।
७३ वर्ष पूरा भएर ७४ वर्ष प्रवेश गरेँ, ५२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिँदै छु, विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेँ, २०६४ सालदेखि सामान्य क्रियाशील रहेको नेता बाँस्कोटाले बताए ।
विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृह राज्यमन्त्रीका रूपमा काम गरेका थिए ।
‘पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी हुन्नँ, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूणर् जीवन अर्पण गर्छु’, पूर्वमन्त्री बाँस्कोटाले भने ।
वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, संघ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उनको योजना छ । यसका लागि नेपाल सरकार, राजनीतिक दल, विश्व हिन्दू महासंघलगायत सामाजिक संस्था, विश्व ॐ कार एकता महाअभियान जस्ता अभियानसँग विनाशर्त सहकार्य गर्ने घोषणा पनि नेता बाँस्कोटाले गरेका छन् ।
नेपाल महर्षि वैदिक फाउण्डेशनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २४ वर्षदेखि लाग्नुभएका बाँस्कोटाले यस अभियानका विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षा (चेतनामा आधारित शिक्षा), वैदिक कृषि (विषादी एवं रासायनिक पदार्थरहित शुद्ध जैविक उत्पादन), वैदिक स्वास्थ्य (आयुर्वेद एवं प्राकृतिक चिकित्साको ज्ञान र प्रविधि), वैदिक निर्माण (वास्तुसम्मत घर, कार्यालय, विद्यालय, महाविद्यालयको निर्माण), वैदिक सञ्चारलगायत १२ क्षेत्रको वैज्ञानिक अध्ययन र अनुसन्धानबाट पुष्टि गरिएको प्रविधिलाई पार्टीको घोषणापत्रमा समावेश गरी राज्यव्यवस्थाको कार्यक्रममा समावेश गराउन लागि पर्ने योजना पनि उनले अघि सारेका छन् ।