काठमाडौं । पूर्वनिर्धारित कार्यतालिकाअनुसार सबैथोक अगाडि बढेको भए कांग्रेसको १४ औं महाधिवेशनका लागि तीन दिनमात्र बाँकी हुने थियो। भदौ १६ देखि हुने महाधिवेशनको तयारी सम्भवतः अन्तिम चरणमा पुगिसकेको हुन्थ्यो।
महाधिवेशनलाई पार्टीको महापर्वकारूपमा लिने कांग्रेस नेता र कार्यकर्ताले काठमाडौं भरिइसकेको हुन्थ्यो। तर, पार्टीको आन्तरिक किचलो र क्रियाशील सदस्यता विवादका कारण कांग्रेस महाधिवेशनको कार्यतालिका तेस्रोपटक संशोधन भएको छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिको प्रतिवेदन पौडेलले बुझेकै दुई दिनपछि उनीनिकट जिल्ला सभापतिहरू पार्टी कार्यालय सानेपामा धर्ना बसे। र, पछि रिले अनशन। शुक्रबार साँझ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति भएपछि शनिबार साँझ जिल्ला सभापतिहरूले अनशनलाई बिराम दिए।
जिल्ला सभापतिहरूको अनशन तोडाउँदै नेताहरूले भनेका थिए, ‘क्रियाशील सदस्यतालगायतका सबै विवाद टुंगिएको छ। अब महाधिवेशनको वातावरण तयार भयो। सबैजना तयारीमा जुटौं।’
संशोधित कार्यतालिकाअनुसार कांग्रेसले भदौ १८ गते देशभरका ६ हजार ७४३ वडामा एकैसाथ वडा अधिवेशन सम्पन्न गर्नुपर्ने छ। वडा अधिवेशन आउन पाँच दिनमात्र बाँकी छँदासम्म वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट सभापतिहरूले माग गरेअनुसार कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न सकेको छैन। क्रियाशील सदस्यता नामावली सार्वजनिक हुन नसक्दा तोकिएकै कार्यतालिकाअनुसार वडा अधिवेशन हुनेमा शंका बढेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार राति ३८, शुक्रबार १० र शनिबार ५ जिल्ला गरी हालसम्म ५३ जिल्लाका क्रियाशील सदस्यताहरूको नामावली सार्वजनिक गरेको छ। २४ जिल्लाका क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ। सार्वजनिक भएका अधिकांश पहाडी र हिमाली जिल्लाका क्रियाशील सदस्यहरूको नामावली हो। बढी विवाद देखिएको तराईका जिल्लाका क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक भएको छैन।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले आफूहरूलाई उपलब्ध गराइएका नामावली सार्वजनिक भइसकेको बताए। ‘हामीले अहिलेसम्म ५३ जिल्लाको नामावली पाएका छौं, पाएकाजति सबै सार्वजनिक भइसकेको छ,’ यादव भन्छन्, ‘बाँकी जिल्लाका नामावली प्राप्त भइसकेपछि त्यो पनि सार्वजनिक हुन्छ।’
निर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते वडा अधिवेशन गर्न निर्वाचन समिति तयारी अवस्थामा रहेको तर त्यसका लागि समयमै क्रियाशील सदस्यता नामावली उपलब्ध हुनुपर्ने उनले बताए।
क्रियाशील नामावली प्राप्त भइसकेका जिल्लाहरूमा निर्वाचन प्रतिनिधि खटाइसकिएको बताउँदै उनले बाँकी जिल्लामा पठाइने प्रतिनिधिहरूबारे समितिले निर्णय गरिसकेको जानकारी दिए।
‘पहाडी र हिमाली जिल्लाहरूमा वडासम्म पुग्न समय लाग्ने भएकाले प्रतिनिधिहरू हिँडिसक्नुभएको छ,’ उनले भने, ‘अन्य जिल्लामा जाने प्रतिनिधिहरू पनि तयारी अवस्थामै हुनुहुन्छ। क्रियाशील सदस्यहरूको नामावली आएसँगै उहाँहरू पनि खटाइएको वडामा पुग्नुहुनेछ।’
पटक–पटक कार्यतालिका परिवर्तन भएर अन्योलमा पर्दै गएको महाधिवेशन यताउता नहुनेमा कांग्रेस नेताहरू ढुक्क देखिन्छन्। संस्थापनइतर नेताहरूले उठाउँदै आएका मागहरू सम्बोधन हुनुका साथै कतिपय जिल्लामा निर्वाचन प्रतिनिधि खटिइसकेकोले कार्यतालिकाअनुसार महाधिवेशन हुने निश्चित रहेको उनीहरू बताउँछन्।
क्रियाशील छानबिन समितिका संयोजक एवं केन्द्रीय सदस्य रमेश लेखक पर्सीसम्म ७७ वटै जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक हुने बताउँछन्।
‘अहिलेसम्म ५३ जिल्लाको सार्वजनिक भइसकेको छ, भोलि ७० र पर्सीसम्म ७७ पुग्छ,’ उनले भने, ‘एकदुई दिनभित्रै सबै जिल्लाको नामावली सार्वजनिक हुन्छ।’
लेखकले १८ गते देशभर एकैचोटी वडा अधिवेशन गराउने तयारी भइरहेको बताए। ‘भदौ १८ गते एकैपटक वडा अधिवेशन सम्पन्न गर्ने कोसिस भइरहेको छ। हुन नसकेका एकदुई ठाउँमा २०/२२ गते हुन्छ,’ उनले भने।
तोकिएकै कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न सबै क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक हुनुपर्ने अडानबाट संस्थापनइतर नेताहरू पछाडि हटेका छैनन्। वडा अधिवेशनपूर्व सहमतिअनुसार सबै मतदाताका नामावली सार्वजनिक हुनुपर्ने उनीहरूको भनाइ छ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले छुटेका पुराना क्रियाशील सदस्यहरूको छानबिन गरेरमात्र वडा अधिवेशन गर्नुपर्ने बताए। तोकिएकै मितिमा वडा अधिवेशन सम्पन्न गर्नुपर्ने आफूहरूको चाहना रहे पनि जिल्ला सभापतिहरूकै नाम छोडिएकोले त्यसको छानबिन हुनुपर्ने उनको भनाइ छ।
‘पुरानै क्रियाशील सदस्यहरूको छुटेको रहेछ। हुँदाहुँदा जिल्ला सभापतिको पनि छोडिएको छ,’ उनले भने, ‘कसको पर्या छ–छैन राम्ररी छानबिन गरेर तोकेकै मितिमा देशभर एकैचोटी वडा अधिवेशन होस् भनेर हामीले भनेका छौं।’
नेता केसी निर्धारित कार्यतालिकाअनुसार जसरी पनि भदौ १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिन्छन्।‘तोकिएकै मितिमा महाधिवेशन प्रक्रिया सुरू गर्न सम्भव बनाउनु पर्दछ,’ उनले भने, ‘कुनै कारणवश सम्भव नभए सहमतिमा दुई–तीन दिन तल–माथि गर्दा केही फरक पर्लाजस्तो मलाइ लागेको छैन।’
आयाेमेल