पाँचथर । शुक्रबार राति भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा पर्दा पाँचथरका उमेश मोक्तानले देखाएको साहस सबैका लागि जीवनरक्षक बन्यो।
जहाजमा मोक्तानसहित ५१ जना यात्रु सवार थिए। दुर्घटनापछि जहाज रोकिँदा यात्रुहरू जहाजभित्रै अड्किएका थिए। इमरजेन्सी ढोका तुरुन्त नखुल्दा स्थिति झन् तनावपूर्ण बन्दै गएको थियो। यात्रुहरू त्रासमा थिए भने जहाजभित्र भीड र अव्यवस्था बढ्दै गइरहेको थियो।
यही क्रममा पाँचथरका उमेश मोक्तानले साहसिक निर्णय लिँदै इमरजेन्सी ढोका खोले। एयर होस्टेसहरूले ढोका नखोल्न आग्रह गरिरहेका बेला पनि मोक्तानले जोखिम मोलेर लात्ती प्रयोग गरी ढोका खोलेपछि यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्किन सके।
मोक्तानका अनुसार ढोका ढिलो खुलेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो।
उनले भने, “एयर होस्टेसहरूले नखोल्न भन्दै थिए, तर स्थिति निकै गम्भीर भइसकेको थियो। ढोका नखुलेको भए धेरैजना किचिएर मर्ने वा गम्भीर घाइते हुने अवस्था थियो। त्यसैले जोखिम लिएर ढोका खोलेँ।”
उनको साहसिक कदमपछि सबै यात्रुहरू सुरक्षित रूपमा जहाजबाट बाहिर निस्किएका थिए। पाँचथरका मोक्तानको यो साहस अहिले यात्रुहरू मात्र होइन, सामाजिक सञ्जालमा पनि प्रशंसाको विषय बनेको छ।
पाँचथर जिल्लाले फेरि एकपटक संकटको घडीमा जिम्मेवारी र साहस देखाउने नागरिक पाएको भन्दै स्थानीयवासीले गर्व व्यक्त गरेका छन्।




