पाँचथर । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिदैँ गर्दा पाँचथरको राजनीतिक वातावरण तात्न थालेको छ। यसबीच नेकपा एमाले पाँचथरले समानुपातिक निर्वाचन तर्फ तीन जनाको नाम सिफारिस गरेर जिल्लाको राजनीतिक समीकरणलाई थप रोचक बनाएको छ। एमाले स्रोतका अनुसार प्रत्यक्षतर्फ चर्चामा रहेकी भूमिका सुब्बा, कोशी प्रदेश सचिव राजकुमार भण्डारी र पूर्वमन्त्री डम्बरसिंह सम्हाम्फे सिफारिस सूचीमा समावेश छन्।
भूमिका सुब्बा निबर्तमान सांसद बसन्तकुमार नेम्बाङकी श्रीमती तथा पार्टीकी केन्द्रीय सदस्य हुन्। नेम्बाङ हाल स्वास्थ्य समस्याका कारण सक्रिय छैनन्, जसले पाँचथरमा भूमिका सुब्बालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने चर्चा बढाएको थियो। तर अन्ततः उनलाई समानुपातिक सूचीमा सिफारिस गरिएको छ। यसले प्रत्यक्ष उम्मेदवार चयन अझै पार्टीभित्रको छलफलको विषय रहेको संकेत दिन्छ।
कोशी प्रदेश सचिव राजकुमार भण्डारीलाई संगठनात्मक सक्रियता र प्रदेश तहमा बलियो उपस्थिति भएको कारण समानुपातिक सूचीमा समावेश गरिएको एमाले नेतृत्वले जनाएको छ। उनी पार्टीभित्र सन्तुलन कायम राख्ने र निर्वाचन तयारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सक्षम नेता हुन्।
पूर्वमन्त्री डम्बरसिंह सम्हाम्फे लामो समयदेखि पार्टीमा स्थापित नेता हुन्। उनको अनुभव, राजनीतिक प्रभाव र नेतृत्व क्षमता देखी उनी समानुपातिक सूचीमा समावेश भएका हुन्। यसले पार्टीभित्र अनुभव र स्थिरता कायम राख्ने रणनीतिक संकेत दिएको एमाले नेताहरुले बताएका छन्।
नेकपा बिगठन पछि एमालेमै रहेका पूर्व माओवादी नेता श्री प्रसाद जबगुको नाम समानुपातिक सूचीमा परेन। उनी प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिन चाहेकाे बताइएकाे छ । समानुपातिक सूचीमा उनको नाम नपरेपछि प्रत्यक्ष क्षेत्रमा एमालेले कसलाई अघि सार्ने हो भन्ने विषय जिल्लामा राजनीतिक बहसको केन्द्र बनेको छ।
समानुपातिक सिफारिस सार्वजनिक भएसँगै एमाले पाँचथरमा प्रत्यक्षतर्फ उम्मेदवार चयन अब पार्टीभित्र मुख्य बहसको विषय बनेको छ। कार्यकर्ता र मतदाताले अन्तिम निर्णय कसरी हुनेछ भनी पर्खाइमा छन्।
प्रत्यक्षतर्फ एमालेले कसलाई अघि सार्ने हो भन्ने चर्चा जिल्लाकाे बहस बनेकाे छ ।




