प्रतीकात्मक फोटो एआइबाट बनाइएकाे हाे । सम्पादक
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–५ की धनमाया सेलिङलाई सुन लुटपाट र हत्या प्रयासको आरोपमा प्रहरीले नेपाल–भारत (सिक्किम) सीमा नजिकै नियन्त्रणमा लिन सफल भएको छ। पीडित याङवरक–६ मुकुबुङ निवासी ६० वर्षीया बिष्णुमाया रसाइली घाइते भएकी छन्। घटना पछि सेलिङ फरार रहेकि थिइन ।
प्रहरीका अनुसार धनमाया सेलिङ शनिबार दिउँसो ‘बामफोक अर्जाबी दिनु’ भन्दै रसाइलीको घरमा पुगेर “कालिज बच्चा छ” भनी झुक्याएर अलैँची बगानतर्फ लगेकि थिइन। कानको मडवाडी करिब एक तोला, नाकको फुली र बुलाकी आधा तोला सहितका सुनका गरगहना लुटिएको प्रहरीले जनाएको छ।
घाइते रसाइली करिब दुई घण्टापछि होसमा आएकी र आफन्तसँग सम्पर्क गरेपछि उपचारका लागि पाँचथर जिल्ला अस्पतालबाट रेफर गरेर बिर्तामोडस्थित बीएमसी अस्पताल पठाइएको याङवरक गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङबोले जानकारी दिइन।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र यादवले जानकारी दिएका अनुसार, पक्राउ परेकी धनमाया सेलिङसँग लुटिएका गरगहना समेत बरामद भएको र उनलाई पाँचथर जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ।




