काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छ हजार ७४३ वटै वडामा एकै दिन अधिवेशन हुनुपर्ने माग अघि सारेको छ । शुक्रबार विहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरूको बैठकले जिल्ला सभापतिहरूले उठाएका मागहरूको सम्बोधनपछि मात्रै एकैदिन अधिवेशन हुने वातावरण सुनिश्चित हुने भन्दै पहिले ती समस्याको समाधान गर्न सभापतिको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । विभिन्न तीन बुँदे माग राखेर जिल्ला सभापतिहरू बुधबारदेखि कांग्रेस मुख्यालयमा रिले अनसन बसिरहेका छन् । शुक्रबार सिन्धुपाल्चोकका सभापति विकास लामा, रोल्पाका सभापति अमरसिंह पुन र सोलुखुम्बुका सभापति विनोद बस्नेतसहित नेताहरू अनसनमा छन् । क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने र त्यसमा सच्याउने समय दिनुपर्ने, जिल्ला सभापतिको उम्मेदवार बन्न तोकिएको फरक–फरक मापदण्डलाई एकरूपता दिनुपर्ने लगायत उनीहरूका माग छन् ।
जिल्ला सभापतिहरूको माग सम्बोधन नगरी ३८ जिल्लाको मात्रै क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि पौडेल समूहले आगामी भदौ १८ गते ७७ वटै जिल्लामा एकैपटक वडा अधिवेशन हुनेबारे आशंका व्यक्त गरेको हो ।
सभापति शेरबहादुर देउवाले विहीबार ३८ जिल्लाको मतदाता नामावली सार्वजनिक गर्दै त्यो नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए । समितिले ती जिल्लाका लागि निर्वाचन अधिकृत समेत खटाइसकेको छ । नामावली पाएपछि ती जिल्लामा अधिवेशनको तयारी अघि बढाइएको समितिका संयोजक महादेव यादवले बताए ।
पौडेल समूहले भने ३८ जिल्लामा मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउँदा अन्य जिल्लामा वडा अधिवेशन हुने कि नहुने ? वा कहिले हुने ? भन्ने अन्योल भएको भन्दै सबै जिल्लामा एकैपटक अधिवेशन गर्ने कुराको सुनिश्चितता गर्न माग गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिदै केन्द्रीय सदस्य मिनेन्द्र रिजालले १८ भदौमै वडा अधिवेशन गर्नका लागि व्यावहारिक कठिनाईहरू रहेको भन्दै त्यसको समाधान गरेर अधिवेशनको सुनिश्चितता गराउन माग गर्ने निर्णय भएको बताए ।
‘३८ जिल्लाको सदस्यता सार्वजनिक भएको छ । ती ठाउँको सदस्यतासम्बन्धी काम पूरा भएकाले अहिले सार्वजनिक भएको हो । कृष्ण सिटौला, रमेश लेखक र म संलग्न समितिले केही निर्णय गरेका छौं । त्यो निर्णयको कार्यान्वयन गरिनसकेको जिल्लाको सार्वजनिक भएको छैन,’ नेता रिजालले भने, ‘ती जिल्लाको नामावली सार्वजनिक गर्नुपर्नेछ । अर्कोतिर अधिवेशनको समयमै हुने बाटोको पनि खोजी गर्नुपर्नेछ, त्यसैका लागि पदाधिकारी र पूर्वपदाधिकारीहरुले सभापतिज्यूलाई भेटेर ध्यानाकर्षण गराउने कुरा भएको छ ।’
उनका अनुसार शुक्रबार साँझ ७ बजे बालुवाटार पुगेर देउवाको ध्यानाकर्षण गराउने तयारी रहेको छ । कन्द्रीय सदस्य बलबहादुर केसीले भने जिल्ला सभापतिहरूको अनसन नतोडिएसम्म सबै वडामा एकैपटक अधिवेशन हुने अवस्था नबन्ने भएकाले पहिले त्यसको समाधान गर्नुपर्ने निष्कर्षमा पुगेको बताए । ‘वडा अधिवेशन खण्ड–खण्डमा होइन, एकैपटक एकैदिन हुनुपर्छ । त्यसका लागि पहिले त सबै जिल्लाको मतदाता नामावली सार्वजनिक हुनुपर्यो, जिल्ला सभापतिका अन्य मागहरू पूरा हुनुपर्यो, त्यसपछि बल्ल अधिवेशनको प्रक्रिया अघि बढाउन मिल्छ,’ केसीले भने ।
उनले अहिले भदौ १८ गते वा अरु कुन दिन अधिवेशन गर्ने ? भन्ने प्रश्न भन्दा पनि जिल्ला सभापतिहरूको माग मुख्य भएको बताए । ‘यहाँ जिल्ला सभापतिहरू धर्ना कसेर अनसन बस्ने, अनि कतै अधिवेशन भइरहने कुरा मिल्दैन । त्यसैले उनीहरूका मागहरूलाई सम्बोधन गर्ने, र एकैदिन अधिवेशन गर्ने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने ।
बैठकमा महाधिवेशन सार्न सकिनेबारे पनि छलफल भयो ? भन्ने प्रश्नमा केसीले भने, ‘महाधिवेशन सार्ने कि नसार्ने ? भन्ने कुरा सभापतिज्यूको कुरा हो । हामीले त खाली स्वच्छ ढंङ्गबाट अधिवेशन हुने वातावरण सुनिश्चित गर्नका लागि माग गरेका हौं । त्यसका लागि अहिले देखिएका समस्याहरू समाधान हुनुपर्छ र ७७ वटै जिल्लाका ६७४३ वटै वडामा एकैदिन वडा अधिवेशन हुनुपर्छ ।’
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत र केन्द्रीय सदस्यहरू शेखर कोइराला लगायत सहभागी थिए ।
निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्राप्त भएको १९ दिनपछि मात्रै वडा अधिवेशन गर्न सकिने कार्यतालिका बुझाएको थियो । तर, नेताहरूले समयमा नामावली दिन नसकेका कारण निर्वाचन समिति भने अन्योलमा छ । समितिका संयोजक महादेवप्रसाद यादवले १८ भदौमै अधिवेशन गर्ने जिम्मेवारी निर्वाचन समितिको मात्रै नभएको बताए । ‘सभापतिज्यूले केही जिल्लाको नामावली दिनुभयो । हामीले ती जिल्लामा निर्वाचन समितिका सामाग्रीसहित जिल्लामा निर्वाचन अधिकृतहरू पठाउने तयारी गरेका छौं,’ यादवले भने, ‘हामीले हाम्रो काम गर्ने हो । तर, त्यो सबै गर्ने काम हामी एक्लैको होइन । पार्टीले गर्ने हो ।’
समयमा महाधिवेशन नगरेका कारण २३ भदौपछि कांग्रेसको वैधानिकता के हुने ? भन्ने अन्योल छ । विधान र संविधानको व्यवस्थाबमोजिम कांग्रेसले २३ भदौभित्र निर्वाचन आयोगमा प्रदेश र संघीय कार्यसमितिको निर्वाचन गरेर निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गरिसक्नुपर्ने हो । तर, कांग्रेसले क्रियाशील सदस्यताको विवादका कारण समयमै महाधिवेशन गर्न सकेन । कम्तिमा त्यो मितिभित्र वडा अधिवेशन सुरु गरेर भएपनि पार्टीको वैधानिकता बचाउन सकिने भन्दै नेताहरुले १८ भदौदेखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएका हुन् ।
कार्यतालिकाअनुसार गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।