काठमाडौं । नेकपा एमालेबाट विधिवत् रुपमा विभाजन भएर आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपालले बिहीबार पहिलो पत्रकार सम्मेलन गरे। त्यसक्रममा उनले पार्टीले अब समात्ने बाटो कस्तो हुन्छ, विचार र कार्यदिशा के हुन्छ लगायतका सवालमा आफ्नो धारणा प्रष्ट्याउने प्रयत्न गरे। आफूले एमाले छाडेर नयाँ पार्टी गठन गर्नुको औचित्य प्रष्ट्याउने क्रममा उनले नयाँ पार्टी एमालेभन्दा फरक के हुन्छ भन्नेबारे पनि कैयौं प्रश्न सामना गर्नुपर्यो।
निर्वाचन आयोगले बुधबार मात्र नेपाल नेतृत्वको पार्टीलाई वैधानिकता प्रदान गर्दै दल दर्ताको प्रमाणपत्र दिएको थियो। त्यसपछि नेपालले पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत् आफ्ना धारणा प्रष्ट्याउने प्रयास गरेका हुन्। वैचारिक रुपमा नयाँ पार्टी कस्तो होला भन्ने स्पष्ट हुन अझै बाँकी नै छ। तर, एउटा चर्चा भने सुरु भइसकेको छ।
त्यो हो, नेपालले पार्टी हाँक्ने नेतृत्वको टिम अर्थात् स्थायी कमिटी कस्तो बनाउलान्? त्यसमा ल्याइने अनुहार को को होलान्? अनि पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा उनले कसलाई अगाडि सार्लान्? सबभन्दा पहिले नेपालले पार्टी हाँक्ने टिम कस्तो बनाउँछन् भन्ने कुराले नै यो पार्टीका अगाडिका दिनको संकेत गर्ने धेरैको बुझाइ छ।
चर्चा महासचिवको
अहिले धेरैका आँखा माधव नेपालतिर सोझिएका छन्, उनले महासचिव कसलाई बनाउलान् भनेर। कम्युनिष्टका रुपमा आफूलाई चिनाउने पार्टीमा अध्यक्षपछि महासचिव पद नै कार्यकारी र शक्तिशाली हुने भएकाले पनि यस्तो चर्चा अस्वाभाविक होइन।
नेकपा (एकीकृत समाजवादी)मा एमालेबाट आएका नेपाल र झलनाथ खनालबाहेक एमालेमा रहँदाका स्थायी कमिटी सदस्य बेदुराम भुसाल र मुकुन्द न्यौपाने मात्र छन्। एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेबाट राजीनामा दिएर नेपाललाई साथ दिने चर्चा चलेपनि गौतम अहिलेसम्म त्यो निर्णयमा पुगिसकेका छैनन्। यस विषयमा निर्णय गरिनसकेकाले औपचारिक रुपमा गौतम अहिले पनि एमालेमै छन्।
यसबाहेक, यसअघि एमालेमा हुँदा रहेका पदाधिकारीहरुले नेपाललाई साथ नदिएकाले स्थायी कमिटी वा केन्द्रीय सदस्यहरुबाटै नयाँ पार्टीको महासचिव चुनिने निश्चित जस्तै छ।
महासचिवको जिम्मेवारी पार्टीमा महत्वपूर्ण हुन्छ नै, सँगै अरु कैयौं कुरा पनि त्यसमा आवश्यक हुन्छन्। एक हिसाबले भन्दा संगठन हाँक्ने पद नै महासचिव हो। त्यसका लागि नेकपा (एकीकृत समाजवादी)मा विधान, सांगठनिक संरचनालगायत पार्टी दर्ता हुँदा सबैभन्दा धेरै खटिएका स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले महासचिवको जिम्मेवारी पाउन सक्ने सम्भावना धेरै रहेको एक केन्द्रीय सदस्यले बताए। ‘पार्टीका पुराना र वैचारिक नेता भएकाले भुसालले इच्छा नदेखाएपनि पार्टी नेताहरुले त्यो रुपमा हेरेका छन्’, उनले भने।
अर्का एक नेताले पाण्डेले अहिले नै पनि पार्टीको महासचिवको जस्तै भूमिका निर्वाह गरिरहेको बताए। उनले भने, ‘तर, उहाँलाई पाँचदलीय गठबन्धनबाट बागमती प्रदेशका मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी भईरहेको छ। त्यसो भएमा उहाँ महासचिव र मुख्यमन्त्री दुबै हुन सक्नुहुन्छ, तर यी दुबै पद एकै व्यक्तिलाई बोझ हुनसक्छ। उहाँ मुख्यमन्त्री बन्ने स्थिति नभएमा महासचिव बन्ने सम्भावना उहाँकै धेरै छ।’
यसबाहेक केन्द्रीय सदस्यहरु गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडाले समेत आफूलाई महासचिव पदको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन्। तर, त्यो चरणमा प्रवेश नभएकाले कसैले औपचारिक रुपमा मुख खोलेका छैनन्। बरु, नेपालको अडानमा निरन्तर साथ दिएकी केन्द्रीय सदस्य रामकुमार झाक्रीलाई महासचिव बनाउन कार्यकर्ता र सुभेच्छुकहरुले मुखर भएरै आवाज उठाइरहेका छन्। सञ्चारमाध्यममा झाँक्रीलाई कार्यकारी भूमिकासहितको महासचिव बनाउन दबाब दिएर लेख प्रकाशन हुनथालेका छन्।
२०६२/६३ को जनआन्दोलनदेखि नै आफूलाई फरक भूमिकामा उभ्याएकी झाँक्री नयाँ पुस्ताको जुझारु नेताको रुपमा चिनिन्छिन्। तर, उनलाई महासचिवका रुपमा हेर्न चाहनेको पंक्ति कार्यकर्ता र सुभेच्छुकको मात्र छ। जबकि, नेताको पंक्तिले नै नचाहँदासम्म यो सम्भव हुनेछैन। त्यसमाथि उनलाई महासचिव बनाउँदा क्रमभंग गर्नुपर्ने भएकाले नेपालले त्यो आँट गर्ने सम्भावना निकै कम रहेको नेताहरु नै बताउँछन्।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अहिले पार्टी महासचिव भन्दा स्थायी कमिटी बनाउने पहिलो प्राथमिकता बन्ने बताए। ‘अहिले स्थायी कमिटीमा २ जना मात्रै हुनुहुन्छ। त्यसैले माधव कमरेडले स्थायी कमिटी पहिला बनाउनु हुन्छ होला’, खतिवडाले नेपाल लाइभसँग भने, ‘त्यसपछि स्थायी कमिटीबाट एक जनालाई महासचिव बनाउने परिस्थिति बन्न सक्छ।’
नेपाललाईभ