काठमाडौं। लामो समय माधव नेपाललाई साथ दिएका तर नेता नेपालले पार्टी विभाजन गरेपछि संस्थापन पक्षमै रहेर एकताको लागि अध्यक्ष केपी शर्मा ओलीलाई दश बुँदे सहमति कार्यन्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारवाही फिर्ता लिन गरेको आग्रहलाई संस्थापन पक्षले शंकाको दृष्टिले हेरेको छ।
शनिबार उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरुले अध्यक्ष ओली निवास बालकोट पुगेर दश बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहितका १४ सांसदमाथि गरिएको कारवाही फिर्ता लिन आग्रह गरेका थिए। दश बुँदे सहमति कार्यान्वयन गर्न तयार रहेको तर १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता नहुने जवाफ अध्यक्ष ओलीले दिएका थिए।
पार्टी एकताको प्रयास हुँदाहुँदै सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले नयाँ दल दर्ता गरेसँगै एमाले औपचारिक रुपमा विभाजित बनेको हो। अझै पनि माधव कुमार नेपालको साथ छोडेका केही प्रभावशाली नेताहरु भने एकताको पक्षमा तटस्थ बसेका छन्। तर, एकताको पक्षधरहरुमै पनि फरक फरक धार देखिन थालेको छ।
विगतमा अध्यक्ष ओलीविरुद्ध निरन्तर संघर्ष गरेका तर नेपालको नयाँ पार्टीमा पनि नलागेका स्थायी कमिटी र केन्द्रीय सदस्यसहितका ५७ जनाको बैठकले एकता नभए आफूहरूले पनि विद्रोह गर्ने जनाएका थिए।
शुक्रबार उनीहरूले माधव नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने र कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अक्षरशः कार्यान्वयन गर्न ओलीलाई अल्टिमेटम दिएका थिए।
यसैगरी, उनीहरूले माधव नेपाललाई नयाँ पार्टी दर्ताको कामबाट पछि फर्किन पनि आग्रह गरेका थिए। तर, संस्थापन पक्षले भने मध्यममार्गी भनिएका नेताहरूको यस्तो व्यवहार शंकास्पद भएको जनाएको छ।
तटस्थ बसेका नेताहरूले २०७५ जेठ २ को अवस्थामा एमालेको मात्रै बैठक बस्नुपर्ने र त्यही बैठकले माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गर्नुपर्ने माग गर्दै आएका छन्।
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो। उक्त एकीकरणलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले पूर्वावस्थामा फर्काइदिएको थियो।
अदालतले एमाले व्युतिने फैसला गरेपछि सङ्लो रहेको एमालेमा अहिले चिरा चिरा परेको छ। परिणामस्वरुप संसदको ठूलो दल एमालले राज्यको बागडोर सम्हाल्न जनताले दिएको जनमतको चाबी कांग्रेसलाई सुम्पिसकेको छ।
एमाले एकताको लागि भएका कैयौं पटककका छलफल र कोठे बैठकमध्ये अन्तिम बन्यो एमाले कार्यदलको बैठक। एमालेभित्रको विवाद नयाँ शिराबाट समाधान गर्नको लागि गत जेठ २ गते ५/५ सदस्सीय कार्यदल गठन भएको थियो। तर, उनीहरुमध्ये नेपालले दर्ता गरेको नयाँ पार्टीमा एक जनाको पनि साथ रहेको छैन।
समझदारमा रहेका नेताकै कारण नवौं महाधिवेशनमा बराबरको हैसियतमा रहेको नेपाल समूह खुइलिँदै गई ख्याउटे बनेको छ। आफ्नै नेता कार्यकर्ताको साथ गुमाउँदै गएपछि नेपाल समूहले कमजोर अंकगणितको धरातलमा रहेर नयाँ दल दर्ता गराएको छ।
नेता नेपालले सर्वोच्च अदालतबाट फागुन २३ गते नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका थिए। तर, दोस्रो पुस्ताका केही प्रभावशाली नेताहरुसहितका आधा बढी नेता कार्यकर्ताले अन्तिम निर्णायक घडीमा नेपालको साथ छोडेपछि नेपालको हाल बेहाल भएको हो।
अध्यक्ष ओली र नेता नेपालबीचको विवाद वारपार भए पनि नेपाल समूहमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृत कुमार बोहोरा, रघुजी पन्तलगायतका दोस्रो धारका नेताहरूको भने पार्टी एकता जोगाउन दौडधुप जारी नै छ।